चीनमा रहेका नेपालीलाई शनिबार स्वदेश ल्याइँदैँ

रासस
फागुन १, २०७६
5fe445a1dba0994a825b57a7eab28c4e_w600_h350_cp

काठमाडौँ  । सरकारले आगामी शनिबार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ । हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज शनिबार अपरान्ह चीन पठाउन लागिएको हो ।

स्वदेश फर्कन चाहने नेपालीलाई निगमको जहाजमार्फत ल्याउने व्यवस्था मिलाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । निगमको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका अधिकारीले निगमको वाइडबडी जहाज फागुन ३ गते चीन पठाउने निर्णय गरी आवश्यक तयारीसमेत भइरहेको बताए ।

चीनको वुहानमा रहेका नेपाली लिन शनिबार अपरान्ह २ः४५ बजे निगमको वाइडबडी जहाज चीन उड्नेछ । उक्त जहाज नेपाली लिएर फागुन ४ गते बिहान २ः१५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । निगमका प्रवक्ता अर्चना खड्काले बजारमा हल्ला छाएजस्तो निगमका पाइलट चीन जान मानेनन् भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै जहाजका सबै कर्मचारी इमान्दारीपूर्वक सेवामा खटिने बताए ।

सचिव अधिकारीले पनि सरकारले गरेको निर्णयमा राष्ट्रसेवक कर्मचारीले पनि इमान्दारितापूर्वक भूमिका निर्वाह गर्नुपर्ने दायित्व भएको उल्लेख गरे । बुहान जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने जनाइएको छ । हुवेई प्रान्तको विभिन्न शहरमा रहेका नेपाली विद्यार्थीलाई वुहानमा भेला गरिनेछ । चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् ।

चीनको हुवेइ प्रान्तको वुहानलगायत शहरबाट १८० नेपालीले स्वदेश फर्कन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक कोरोना भाइरस पत्ता लागेको थियो । अहिले चीनको २२ प्रान्त तथा विश्वका २३ मुलुकमा कोरोना भाइरस फैलिसकेको बताइन्छ । चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width