तानसेन नगरपालिकाको छैटौं नगरसभा

आदर्श समाज सम्वाददाता
माघ २९, २०७६
4. Tansesn Nagar Sabha

पाल्पा । तानसेन नगरपालिकाको छैटौं नगरसभा सम्पन्न भएको छ ।माघ २२ गतेदेखि सुरु भएको नगरसभाको पहिलो बैठकमा तानसेन नगरपालिकाको चालू आ.व.२०७६/७७ को अर्र्धवार्षिक समीक्षा एवम् चालू आर्थिक वर्षको संसोधित नीति तथा कार्यक्रम सभाबाट प्राप्त सुझाव समेत समावेश गरी पारित भएको छ ।

बैठकमा पेश गरिएका विधेयकहरू पारित गरिएको छ । विनियोजन ऐनको पहिलो संशोधन विधेयक २०७६, तानसेन नगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन, २०७५ को पहिलो संसोधन विधेयक २०७६ र नगरपालिकाको नगर शिक्षा विधेयक २०७६ संशोधनसहित बहुमतबाट पारित गरिएको प्रेस विज्ञप्तिमार्फत् जानकारी गराइएको छ । त्यसैगरी, सभाले तानसेन नगरपालिकाको न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने (कार्यविधि सम्बन्धी) ऐन २०७४ को पहिलो संसोधन बिधेयक २०७६, तानसेन नगर प्रहरी ब्यवस्थापन विधेयक २०७६ र स्थानीय बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७६ पारित भएको हो ।

नगरसभाले तानसेन नगरपालिकाको कार्यक्रम सञ्चालन खर्च मापदण्ड सम्बन्धी निर्देशिका २०७४ को दोश्रो संसोधनका लागि पेश भएको विधेयक कार्यसूचीबाट हटाइ दफावार छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ । त्यस्तै मगर सांस्कृतिक संग्रहालय निर्माणका लागि पेश भएको संकल्प प्रस्ताव उपर छलफल भएको छ । सभाले तानसेन नगपालिका भित्रका मेलमिलाप सम्बन्धी आधारभूत तालिम प्राप्त गरेका १४ वटा वडाका ७९ जना मेलमिलाप कर्ताहरूको सूचीलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

नगरसभाले तानसेन नगरपालिका वडा नं. १३ र १४ बाट प्रस्ताव पेश भइआएका योजनाहरूमा आवश्यक बजेट तथा नीतिगत व्यवस्थाका लागि संघीय तथा प्रदेश सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
जस अन्तर्गत ऋषिकेश मन्दिर परिसरको जग्गा अधिग्रहण, अर्गली रिंगरोड कालोपत्रे, अर्गली दरबार अधिग्रहण, रानीमहल परिसरको जग्गा अधिग्रहण लगायतका विषयमा सभाले निर्णय लिएको छ । नगरप्रमुख अशोककुमार शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यूनिभर्शल मेडिकल कलेज भैरहवामा स्वास्थ्य उपचार गराइरहेका वडा नं. ४ का वडाध्यक्ष तथा नगरसभासद् राजेन्द्रमुनी शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width