छैठौं नगरसभाबाट बजेट संशोधन

आदर्श समाज सम्वाददाता
माघ २९, २०७६
nagarsawa bani

साधन राम्जाली -म्याग्दी ,२८ माघ । म्याग्दीको बेनी नगरपालिकाको छैठौ नगरसभाले चालू आर्थिक वर्ष २०७६/७७ का लागि बजेट संसोधन गरेको छ । सोमबार बेनीमा सम्पन्न नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले बजेट संशोधन सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

नगरप्रमुख श्रेष्ठले प्रस्तुत गरेको बजेट संसोधन सम्बन्धी प्रस्ताव सर्वसहमतिमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए । यसअघिको नगरसभाले कूल ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।राष्ट्रिय योजना आयोग मार्फत संघीय सरकारले तीन वटा योजनाका लागि पठाएको दुई करोड पचास लाख रुपैयाँ बजेट नगरको आयोजनामा समावेश गर्ने निर्णय भएको छ । कोल्डस्टोर (शितभण्डारगृह) निर्माणका लागि एक करोड, बेनीको खुल्लामञ्च स्टेडीयमलाई एक करोड र पात्लेखेतको काछलुङ लिफ्ट खानेपानी आयोजनालाई पचास लाख रुपैयाँ बजेट प्राप्त भएको थियो ।खुल्लामञ्च स्टेडियम र काछलुङ लिफ्ट खानेपानी आयोजना निर्माण गर्न ठेक्का प्रक्रिया सुरु गरेको प्रशासकीय अधिकृत शर्माले बताए ।

तरकारी, फलफुल सुरक्षित भण्डारणका लागि बनाउन लागिएको कोल्डस्टोर निर्माण स्थल छनौट गरेपछि कार्यान्वयनमा लगिने भएको छ । यसैगरी नगरपालिकाको संचित कोषबाट डम्मरा–मरुवा–ठाडाबान्ना–सिमखेत मोटरबाटोलाई पाँच लाख, बाङगेरा–दारिमपाटा सडकलाई पाच लाख, फोहोर मैला व्यवस्थापन गर्न पन्ध्रलाख र नगरको गुरुयोजना निर्माण लगायत अध्ययन परामर्श शीर्षकमा साठी लाख बिनियोजन भएको छ ।

गत असारमा भएको नगरसभाबाट बजेट बिनियोजन भएका छ वटा योजनाहरु संशोधन भएको छ । यसैगरी बेनी–दरवाङ सडकको बेनी सामुदायिक माविको अगाडिदेखि मंगलाघाट हुदै भ्याउनीखोला सम्मको सडकको क्षेत्राधिकार नगरस्तरीय सडक अनुसारको मापदण्ड कायम गर्ने निर्णय भएको छ । २ मिटर सेट ब्याक र १२ मिटर क्षेत्राधिकार तोकिएको हो ।नगरउपप्रमुख सञ्जु बरुवालले न्यायिक समितिको प्रगति प्रतिवेदन नगरसभालाई जानकारी गराएकी थिइन् । हालसम्म ४६ वटा उजुरी दर्ता भएकोमा ४२ वटा मुद्दा मेलमिलाप गराइएको उपप्रमुख बरुवालले बताइन् । उपप्रमुख बरुवालका अनुसार तीन वटा उजुरीलाई अदालतमा पठाइएको छ । एक वटा उजुरी प्रक्रियामा रहेको छ ।

सबैभन्दा बढी पति पत्नि बीचको झगडा सम्बन्धी १३ वटा उजुरी आएकोमा १० वटा मिलापत्र गराइएको छ । लेनदेन, घरजग्गा, घरायसी झैझगडा, बर बाहल, गाली गलौज, पशुपंक्षी पालन गर्दा लापरवाही गरेको सम्बन्धी उजुरी आएका छन् ।नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख हरिकुमार श्रेष्ठले विकास योजनाहरुलाई पारदर्शी, गुणस्तरीय र दिगो तथा जनसहभागितामुलक बनाउन जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सहजीकरण, अनुुगमनमा ध्यान दिन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width