ललिता निवास जग्गा प्रकरण- प्रमुख प्रतिपक्षीबाट अवरोध

रासस
माघ २३, २०७६
pratinidhi-sava

काठमाडौँ, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको विहीवारको बैठक अवरोध गरेको छ । सो पार्टीका सांसदको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो ।

बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर काँग्रेसका सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दयार गरिएको तर केही राजनीतिक र प्रशासनिक नेतृत्वलाई बचाइएको भनी आपत्ति जनाए । आयोगले बुधबार सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा आरोपपत्र दायर गरेको थियो ।

नेत्री भुसालले भने “राज्यले सबै निकायलाई आफ्नो प्रभाव र नियन्त्रणमा लिन खोजेको छ । यसैको उदाहरणका रुपमा अख्तियारले निर्णय गरेको छ । कसैलाई पाखा र कसैलाई पाखा गरिएको छ । त्यस कारण उसमा राजनीतिक बदनियत देखिएको छ । संवैधानिक अङ्गहरु राजनीतिक प्रभावमा परेर राजनीतिक प्रतिशोध साँध्नु हुँदैन । हामीले यसैका लागि गणतन्त्र र समावेशी संविधान ल्याएको हो ?”

भुसालले ‘उक्त प्रकरणमा देखाइएको भेदभाव’को विरोधमा आज बैठकको कारवाही चल्न नसक्ने भनेपछि सो दलका सांसद् उभिएका थियो । सभामुख अग्निप्रसाद सापाकोटाले काँग्रेसका तर्फबाट आएको धारणातर्फ सम्बन्धित निकायको ध्यान गएको होला भन्दै संसद्ले धेरै विधेयक अगाडि बढाउनुपर्ने भएकाले बसिदिन र सदन सञ्चालनका लागि सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि अवरोध जारी रहेपछि सभामुखले बैठक स्थगन गरे । प्रमुख प्रतिपक्षीले अवरोध गरेको स्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख सापकोटाले यही माघ २४ गते अपराह्न १ बजेसम्मका लागि बैठक स्थगन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width