अन्ततः बुलौदी ओरालोको सडक मर्मत गरियो, बाँकी ठाउँकाे कहिले ? (फलोअप)

Suraj Hazare Dahal
माघ २२, २०७६
1

पोखरा, माघ २२ (सुरज हजारे दाहाल) : हिजो हामीले पोखराको ध्वस्त सडकको हालत बारे भिडिओ तथा अंग्रेजी संस्करण्मा समाचार प्रसारण गरेका थियौं । चार महिनादेखि मर्मत सम्भार नगरिएको सडक खण्ड तथा खाल्डाखुल्डी मध्ये सबैभन्दा खतरनाक स्थल लेकसाइड जाने बुलौदीको ओरालोको सडक चार महिनापछि आज बल्ल सामान्य मर्मत गरिएको छ । सडक विभागले आज दिउँसो बुलौदी ओरालोको खाडल पुरेर पिच गरेको हाे ।

महेन्द्रपुल स्थित मारवाडी मिठाई पसल अगाडि ।

बुलौदी ओरालोको ध्वस्त सडक पिच गरिए पनि बाँकी ठाउँका खाल्डा कहिले पुरिने र सडक कहिले मर्मत गरिने हो त्यो भने हेर्न बाँकी नै छ ।  मेयर मानबहादुर जिसीले निर्वाचित भएको २४ घण्टाभित्रमा सडकका खाल्डाखुल्डी पुर्छु भनेका थिए तर पोखराका मुख्य सडकका खाल्डाखुल्डी नेपाल भ्रमण वर्ष २०२० शुरु भएको एक महिना पुग्दा समेत सामान्य टालटुल गरिएको छैन । महेन्द्रपुल स्थित माडवारी मिठाई पसल अगाडि करिब २ मिटर लम्बाई र १ मिटर चौडाईको खाल्डो छ । पिच थिचिदै गएर बनेको त्यो खाल्डो पुर्न महानगर तथा सडक डिभिजन दुबैको चासो छैन ।

स्थानीय आफैले माटो तथा ढुंगाले सो खाल्डो पुर्ने गरेका छन् तर माघे झरीले माटो बगाउँदा फेरि खाल्डो देखिएको छ । सोही खाल्डो देख्ने बित्तिैकै दुई पांग्रे साधानहरु खाल्डो छल्न धेरै दाहिने किनारबाट गुड्न खोज्दा विपरित दिशाबाट आएको सवारीसँग ठोक्किने सम्भावना बढी छ । यस्तै न्यूरोडमा बिचको लेन बाहेक देब्रे र दाहिनेतर्फका लेन ध्वस्त भएर गिटी र ग्र्याभेल देखिन्छन् । न्यूरोडको सबैभन्दा ध्वस्त हालत सभागृहका रहेको मिड टाउन अगाडिको सडकको छ । बसको पांग्रा भन्दा पनि ठूलो चौडाईको दुईवटा खाल्डा छन् । ति खाल्डामा स्कुटर र मोटरसाइकलका चालकलाई बढी खतरा छ । वर्षसँगै खाल्डाको आकार बढिरहेको छ ।

हल्लनचोकबाट पामे जाने सडकको रातो माटो डाँडाको घुम्ति कटेपछि भासिएको सडक ।

पर्यटकिय इलाका वडा नं ६ मा रहेको लेकसाइड पुग्नु अगाडि वडा नं ७ स्थित शान्तिनगरको दुबै लेनमा स्थानीयले पानीको पाइपको लागि खनेको खाल्डो नुपुरिदाँ खाल्डो गहिरिएको छ नै खाल्डाको चौडाई पनि बढेको छ । यि खाल्डोको छेउमै रहेको नहरले सडक ध्वस्त पारेको छ, जुन सधैको समस्या हो । लेकसाइड प्रवेश गर्दा आउने बुलौदीको ओरालोको ध्वस्त सडकले भिजिट नेपाल २०२० अभियानलाई गिज्याइरहेकोकमा आज बल्ल मर्मत गरिएको छ । अंग्रेजी वर्षको स्वागत गर्न मनाइएको सडक महोत्सको बेला समेत बुलौदीको ओरालो सडक मर्मत गरिएको थिएन ।

वडा नं ७ स्थित शान्तिनगरको दुबै लेनमा खाल्डो नुपुरिदाँ खाल्डो गहिरिएको छ नै खाल्डाको चौडाई पनि बढेको छ ।

यस्तै लेकसाइडको हल्लनचोकबाट पामे जाने सडकको रातो माटो डाँडाको घुम्ति कटेपछि आउने सडक भासिएको महिनौं भइसक्यो । डाँडाको किनारदेखिको एक तिहाइ पिच सडक भास्सिएर तालतिर खसेको महिनौं बित्दा पनि मर्मत गरिएको छैन । खुट्टाले हल्का थिच्ने बित्तिकै पिचको डिल भत्किने उक्त कमजोर सडक खण्ड ६ पांग्रे सवारी साधनको लागि निकै खतरा छ । दुई पांग्रे र कार डाँडातिरबाट गए पनि बस तथा ट्रक भने कुनै पनि बेला भारले गर्दा भासिएर तालतिर खसेर दुर्घटना हुने खतरा छ । बेलैमा ढुंगामा तार जाली लगाएर बाटो नबनाए पामेतर्फको सडक नै विच्छेद हुने देखिन्छ ।

बुलौदीको ओरालोको सडक चार महिनापछि आज बल्ल सामान्य मर्मत गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width