एक हप्तापछि पृथ्वीनारायण क्याम्पसमा पठनपाठन सुचारु

आदर्श समाज सम्वाददाता
माघ २२, २०७६
Pn photo

पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराको एक सातादेखि अबरुद्ध पठनपाठन सुचारु भएको छ ।

नेपाल आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइ पोखराको आह्वानमा क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकले दैनिक ज्यालादारी प्रथा अन्त्य हुनुपर्ने माग राख्दै आन्दोलनस्वरुप कक्षा बहिस्कार गरेका थिए । बहिस्कारका कारण एक हप्तासम्म क्याम्पसको पठनपाठन पूर्ण रुपमा बन्द भएको थियो ।आंशिक प्राध्यापकले आन्दोलनमा उठाएका मागप्रति त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, पृथ्वीनारायण क्याम्पस प्रशासन र आंशिक प्राध्यापक संघका प्रतिनिधिबीचको त्रिपक्षीय वार्तामा समस्या समाधान गर्न सहमतिपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको आंशिक प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमले जानकारी दिए ।

‘आन्दोलन एक अभियान हो, हाम्रो चाहना विद्यार्थीले पढ्ने अधिकारलाई रोक्ने होइन,’ उनले भने, ‘नजिकिँदै गरेको स्ववियु निर्वाचन, आन्तरिक परीक्षा र हिउँदे बिदा पछाडि कक्षा नहँुदा पठनपाठन अस्तव्यस्त भएकाले आन्दोलन तत्कालका लागि स्थगन गरेका हौं।’क्याम्पस प्रमुख प्राध्यापक चन्द्रबहादुर थापाले जसरी पनि आंशिकको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । यो समस्या आंशिकको मात्रै नभएर आफ्नो र समग्र त्रिविको भएकाले जतिसक्दो चाडो समस्या समाधान गर्ने उनको भनाइ छ ।

आन्दोलनरत पक्षले आन्दोलनमा साथ दिने सबैप्रति आभार व्यक्त गरेको छ । ज्यालादारीका रुपमा अध्यापन गराइरहेका २ सय १८ जना आंशिक प्राध्यापक सामूहिक राजिनामा दिने भन्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा समावेश प्राध्यापकमध्ये १४ वर्षदेखि ज्यालादारीमै पढाइरहेका समेत थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width