मन्त्रीको जवाफ माग्दै संसद् अवरुद्ध

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
Pradesh-4-Namkaran

पोखरा ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनले सांसदले विभिन्न समयमा उठाएको प्र्रश्नको जवाफ माग्दै गण्डकी प्रदेशसभा अवरुद्ध पारेको छ । सोमबार बसेको बैठकमा मन्त्रीको जवाफ माग गर्दै प्रतिपक्षी दलले सदन अवरुद्ध पारेको हो । शून्य र विशेष समयमा उठाइएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले एक साताभित्रै दिनुपर्ने नियम छ । तर नियमअनुसार मन्त्रीले जवाफ नदिएको काँग्रेसको आरोप छ ।

‘सदनमा उठाइएका विषयको जवाफ दिनैपर्ने नियम नियमावलीमा छ । तर मन्त्रीज्यूहरुले त्यसको वास्ता गर्नुभएन,’ प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘हामी जनताका आवाज सदनमा उठाउँछौं, मन्त्रीज्यूहरु त्यसतर्फ जिम्मेवार नै हुनुभएन । नियमावलीमै भएको नियम पालना गर्न माग गरिएको हो ।’ सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने उनको चेतावनी छ । काँग्रेसको अवरोधका कारण सोमबारको कार्यसूची नसकिँदै बैठक स्थगित भयो ।

शून्य र विशेष समयमा सांसदले आफ्ना कुरा राखेपछि सामाजिक विकास मन्त्री नरदेवी पुन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जवाफ दिएका थिए । त्यसपछि पालो थियो–भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको । बस्नेत सभामा उपस्थित नभएको र जवाफ नदिएको गुनासो गर्दै काँग्रेसका सांसदहरु उठेर विरोध जनाए । आइतबारको बैठकमा पनि काँग्रेस सांसद कुमार खड्काले मन्त्रीसँग जवाफ माग्दै सभामा नियमापत्ति जनाएका थिए । सभामुख नेत्रनाथ अधिकारीले मन्त्रीहरुलाई १ साताभित्रै जवाफ दिन रुलिङ गरेपछि आइतबारको बैठक चलेको थियो । तर सोमबार पनि मन्त्री उपस्थित नभएपछि अवरोध गरिएको काँग्रेसले जनाएको छ । सोमबारको बैठकमा सामाजिक विकास मन्त्रीले गण्डकी प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम प्रतिष्ठान विधेयक पेस गर्ने कार्यसूची थियो । मगन्तेलाई नियन्त्रण गर्न माग

संसद् बैठकमा विशेष समय लिएर सांसद दीपक कोइरालाले पर्यटकीय नगरीका सडकमा मगन्ते कारण पर्यटक हैरान भएको विषय उठाए । उनले मगन्तेका कारण पर्यटन क्षेत्रमै नकारात्मक असर परेको भन्दै यसको नियन्त्रणको लागि माग गरे । ‘मुख्य–मुख्य चोक र पर्यटकीय क्षेत्र लेकसाइडमा मगन्तेको कारण पोखराको सन्देश बाहिर राम्रो गएन । पोखराको सुन्दरता हेर्न धेरै देशका पर्यटक बोलाएका छौं तर मगन्तेले हात र खुट्टामा झुण्डिएर पछ्याउँदा कस्तो देखिएला ?,’ उनले भने ।

९० प्रतिशत मगन्ते भारतीय भएको उनको आरोप छ । ‘यसको ठ्याक्कै तथ्यांक त मसँग छैन । तर भारतबाट गाडीमै ल्याएर मगन्ते चोकमा छोड्ने गरेको सुनिन्छ । उनीहरुको पनि संगठन बनाएर उठेको पैसा भाग लाउने गरेको पनि आइरहेको छ,’ उनी भन्छन्, ‘यसको नियन्त्रण तत्काल गरियोस् ।’ भिजिट भिसामा आएका पर्यटकले पोखरामा बसेर अवैध व्यापार गरिरहेको भन्दै उनले त्यसको छानविन र अनुगमनका लागि पनि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद राजीव पहारीले पनि विदेशीले पोखरामा आएर गरेको अवैध ब्यापारको अनुगमन गर्न सुझाए । ‘वर्षौंदेखि सटर भाडामा लिएका छन् । व्यापार भएकोजस्तो पनि देखिँदैन । तर भाडा महिनैपिच्छे बुझाइरहेका छन्,’ उनले भने, ‘उनीहरुको आम्दानी कहाँबाट भैरहेको छ ? यसको छानविन गरियोस् । विकराल अवस्था आउन सक्छ ।’ जनप्रतिनिधिमाथि दुव्र्यबहार भो, प्रशासन कहाँ छ ?

सांसद ओमकला चालिसेले हुप्सेकोट दुर्घटनाबारे सभाको ध्यानाकर्षण गराइन् । नवलपुरको हुप्सेकोट गाउँपालिकाको गाडीको ठक्करले १ जनाको ज्यान गएपछि सिर्जित घटनामा प्रशासनले सहयोग नगरेको उनको आरोप छ । गाउँपालिका अध्यक्षले गाडी प्रयोग नगरेको समयमा दुर्घटना भए पनि सबै दोष अध्यक्षमाथि लगाइएको र स्थानीयले अभद्र ब्यवहार गरेकोप्रति उनको गुनासो छ । अध्यक्ष र आफूमाथि पनि दुब्र्यवहार भएको उनले सुनाइन् । ‘घटना भएपछि काठमाडौं जानुभएको गाउँपालिका अध्यक्ष फर्किनुभयो । प्रहरीले त्यसको व्यवस्थापन गर्नुपर्ने हो । तर प्रहरीले नै अध्यक्षले जनतालाई भेटेर कुरा गर्नुपर्ने भनेपछि वहाँजनतालाई भेट््न जानुभयो,’ उनले घटनाको बेलिविस्तार लगाइन्, ‘प्रहरीले सुरक्षा दिन सकेन । घण्टौंसम्म अध्यक्षमाथि गाली बेइज्जति भो । ढुंगामुढा पनि हानियो । प्रशासन कहाँ छ ?’

घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न पनि उनले माग गरेकी छिन् । गाउँपालिकाका अधिकृत शिव सुवेदीले उपाध्यक्ष र प्रमुख प्रशाशकीय अधिकृत चढ्ने ग१ज ३८९ नं.कोे जीप लिएर सिक्न जाँदा अघिल्लो साता दुर्घटना भएको थियो । सदनमा सांंसद विनोद केसी, सरिता गुरुङ, डोबाटे विश्वकर्मा, पियारी थापा, धनमाया लामा लगायतले समसामयिक विषयमा आफ्ना कुरा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width