कृषि क्षेत्रको जागिरे अनुभव गाउँमै सदुपयोग

रासस
माघ १४, २०७६
KG_Baglung

गलकोट, १४ माघ । बागलुङ नगरपालिका–८ सिगानाका कृषक हरिबहादुर जिसीले विसं २०४६ मा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित लुम्ले कृषि अनुसन्धान केन्द्रमा जागिर थाले ।

कृषि अनुसन्धान केन्द्रमा लोभलाग्दो कृषिको व्यावसायिकता देखेपछि आफ्नै गाउँघरमा केही गर्ने सोच हरिबहादुरको मनमा आयो । अनुसन्धान केन्द्रको कृषिकर्मको छ वर्षको अनुभवका साथ विसं २०५२ मा जागिर छाडेर जिसी गाउँ फर्के । गाउँमै व्यावसायिक तरकारी खेती शुरु गरेर नयाँ सम्भावनाको खोजी गर्नुभएका जिसी शुरुआती प्रयास नै सफल हँदै गएपछि उत्साहित भए । त्यसपछि क्रमशः विस्तारै काम गर्दै जाँदा अहिले कृषि कर्मबाटै वार्षिक सात लाखभन्दा बढी आम्दानी हुन थालेको उनले बताए ।

अहिले उनले २० रोपनी क्षेत्रफलको आफ्नै बारीमा काउली, गोलभेँडा, बन्दा तथा किबीखेती गरेका छन् । तरकारी तथा फलफूलसँगै जिसीले व्यावसायिक भैँसीपालनसमेत गर्दै आएका छन् । चिसापानी पशुपालन तथा कृषिफार्म दर्ता गरेर हाल पाँच उन्नत जातका भैँसी पालेर र त्यसबाट दैनिक १५ देखि २० लिटर दूध बेच्दै आउएका छन् । दूध मात्रै होइन, उनी दैनिकरूपमा बागलुङ बजारमा बिक्रीका लागि तरकारी, फलफूल तथा दूध बजार पठाउन व्यस्त छन् ।

“लुम्ले कृषि अनुसन्धान केन्द्रमा पाँच वर्षको अनुभवलाई गाउँमै प्रयोग गर्न थालेको छु”, जिसीले भने “अर्काको जागिर खानुभन्दा आफ्नै ठाउँमा केही गर्छु भन्ने सोचका साथ आफ्नै बारीमा कृषि र पशुपालन गरेको हुँ ।” लुम्ले कृषि अनुसन्धान केन्द्रमा सिकेको ज्ञानलाई आफ्नै प्रयोग गरी वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको जिसीले बताए ।

क्षेत्रीको फार्ममा अहिले चार टनेल, एक ग्रिनहाउसमा तरकारी तथा सुन्तलाको नर्सरीसमेत रहेको छ । ग्रिनहाउसभित्र आठ हजार सुन्तलाका बिरुवा हुर्काइरहेको उनले बताए । सुन्तलाका बिरुवा बिक्री गरेर मात्र रु आठ लाख आम्दानी गर्ने लक्ष्य जिसीको छ । व्यावसायिकरुपमा सिताके च्याउ गर्ने योजनामा समेत रहेको बताउँदै उहाँले तीन रोपनी जग्गामा लगाएको ५० बोट सुन्तलाले यही वर्षदेखि उत्पादन दिन थालेको छ भने । यो वर्ष मात्रै १४० किलो किवी पहिलोपटक उत्पादन गरेर बिक्री गरिसकेको उनको भनाइ छ ।

आगामी वर्षदेखि किवीखेतीबाट मात्रै वार्षिक रु तीन लाख आम्दानी गर्ने लक्ष्यसमेत उनको छ । “मैले गाउँमै बाँझो हुन थालेको जग्गामा कृषि कर्म गरेको हुँ”, उनले भने “स्वदेशमा केही छैन भन्नेहरुले मेरो कृषि कर्मबाट केही सिकुन् भन्ने चाहना छ ।” व्यावसायिकरुपमा कृषि कर्म थालेपछि हालसम्म फार्म व्यवस्थापनमा रु १० लाख लगानी गरेको बताउँदै उनले थप १० रोपनी जग्गामा तरकारी खेती विस्तारमा लागेको बताए । सिँचाइको पर्याप्त सुविधा रहेको यस क्षेत्रमा कृषि उपज बिक्रीका लागि बजारको समस्या नरहेको पनि उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width