राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई पोखरामा सम्मान

Avatar आदर्श समाज सम्वाददाता
माघ १४, २०७६

पोखरा । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पोखरामा सम्मान गरिएको छ ।

पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले नेपाली खेलक्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप शाहीलाई १ लाख पुरस्कारसहित सम्मान गरेको हो ।

शाहीकै नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अहिलेसम्मकै उच्च प्रदर्शन सहित हालै सम्पन्न साग खेलकुदमा रजत पदक जितेको थियो । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले शाहीलाई विद्यालयको तर्फबाट १ लाखसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

विद्यालयले हरेक वर्ष गण्डकी प्रदेशभित्रका प्रतिभाशाली युवालाई सम्मान गर्दै आएको छ । यसअघि, अन्तर्राष्ट्रिय स्तरमा समेत आफूलाई स्थापित गरिसकेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई सम्मान गरेको थियो । यस्तै, एचआइभी संक्रमित भएर पनि सबैको प्रेरणाका श्रोत बनेका सगरमाथा आरोही गोपाल श्रेष्ठलाई समेत विद्यालयले सम्मान गरिसकेको छ ।

कार्यक्रममा प्रमुख अतिथि मेयर जिसीले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम नै खेलक्षेत्र भएकाले यस क्षेत्रको उन्नयनमा सघाउ पु¥याउने उद्देश्यले विद्यालयले हरेक वर्ष यसरी आकर्षक नगदसहित सम्मान गर्नु प्रशंसनीय रहेको बताए । यो सम्मानले युवालाई उत्कृष्ट कार्यमा अगाडि बढ्न प्रेरित गरेको उनको भनाई थियो । जिसीले प्रतिभा माविको जनशक्तिले नेपालका विभिन्न क्षेत्रमा प्राप्त गरेको सफलताले उत्साहित बनाएको उल्लेख गरे ।

नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले नेपाली महिला भलिबलले देशकै प्रतिष्ठा बढाएको उल्लेख गरे । यसरी खेलाडीलाई सम्मान हुँदा उनीहरुलाई थप उर्जा मिल्ने गुरुङको भनाई थियो ।

सम्मान ग्रहणपछि शाहीले सम्मानबाट आफूलाई हर्षित बनाएको बताइन् । उनले विद्यार्थीहरुले पहिलो प्राथमिकता पढाईलाई दिएर आफ्नो रोजाईको खेललाई पनि सँगसँगै अघि बढाए शारीरिक तथा मानशिक रुपमा समेत सशक्त बन्ने बताइन् ।

कार्यक्रममा हिसान कप कास्कीको बास्केटबलमा विद्यालयलाई प्रथम बनाउन सफल प्रशिक्षक हेमन्त गुरुङ र भलिबलमा तृतीय स्थान ल्याउन सफल प्रशिक्षक तेजेन्द्र बानियाँलाई समेत विद्यालयले नगदसहित सम्मान गरेको थियो ।

सोही अवसरमा पहिलो प्रयासमै त्रिभुवन विश्वविद्यालय टिचिङ शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालयकी पूर्वछात्रा सुमिना गुरुङलाई ५० हजार नगदसहित सम्मान गरिएको प्लस टु कार्यक्रम संयोजक किरण सापकोटाले जानकारी दिए ।

कार्यक्रमको समापनको अवसरमा विद्याललय संचालक समितिका अध्यक्ष नारायण पौडेलले उच्च प्रतिभाको मूल्यांकन गर्दै सम्मानलाई निरन्तरता दिने बताए । विद्यालयले गत साउनमा कक्षा १२ को परीक्षामा नेपालभरमै सर्वोत्कृष्ट जीपीए ल्याउने मध्ये एक आफ्नी छात्रा शुरती पाण्डेलाई १ लाख ५० हजार नगदसहित सम्मान गरेको थियो ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

प्रमुख समाचार

पिँढी पाठशालाबाट पठनपाठन थालिएको पोखरा शिक्षाको केन्द्र