जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढ्छ- सभामुख

रासस
माघ १३, २०७६
NP_KTM_20200127__MG_7736

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताएका छन् ।

सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताए । “हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर जनताले अनुभव गर्नेगरी सदनलाई अगाडि बढाउँछु”, उनले भने “केही विधेयक प्रमाणीकरण गर्न बाँकी छ । प्राथमिकता प्राप्त विधेयकलाई शीघ्र अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्टयाएर काम गर्नेछु ।”

सभामुखमा निर्वाचित भएलगत्तै अब आफ्नो सम्पूर्ण ध्यान संसद्मा केन्द्रित भएको उनले भनाइ थियो । सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकका साथै सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलाई प्राथमिकता क्रम छुट्टयाएर अगाडि बढाउने बताए । ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्बन्धी प्रस्ताव के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले एमसिसीसम्बन्धी सहयोग लिने/नलिने भन्नेमा नेपाली समाजमा बहस छेडिएको र बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइने टिप्पणी गरे । “एमसिसीको सन्दर्भमा सबै सांसदको भावना समेटेर अघि बढ्छु”, उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width