कोटामा मुख्यमन्त्री नमूना कृषि गाउँ स्थापना

रासस
माघ १३, २०७६
Devghat-Gaupalika

दमौली, १३ माघ । तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना गरिएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा नमूना कृषि गाउँ स्थापना गर्ने सरकारको लक्ष्यबमोजिम कोटामा नमूना कृषि गाउँ स्थापना गरिएको हो । देवघाट गाउँपालिकालाई प्राङ्गारिक कृषिउपज गाउँपालिका घोषणाको लागि सबै पहल भइरहेको अवस्थामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाले यसलाई सहयोग पु¥याएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।

चौतारी कृषि सहकारी संस्थामार्फत सञ्चालन गरिने उक्त कार्यक्रममा कोटाका ६५ घरधुरी कृषक आबद्ध छन् । प्राङ्गारिक ताजा तरकारी उत्पादन गर्ने मुख्य लक्ष्य रहेको कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले रु २५ लाख अनुदान उपलब्ध गराएको छ । यसैगरी रु पाँच लाख समुदायको सहभागिता रहेको देवघाट गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा जिल्लाका चार गाउँलाई मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ घोषणा गरेको थियो । तनहुँको भानु नगरपालिका–११ को बाँसखर्क, भीमाद नगरपालिका–९ को पाथर्दी, शुक्लागण्डकी नगरपालिका–९ र १२ को भाटडाँडा र लिलाचोक र आँबुखैरेनी गाउँपालिका–४ को भाँगेमा मुख्यमन्त्री नमूना कृषि गाउँका कार्यक्रम सञ्चालन गरिएको छ ।

नमूना गाउँको रुपमा छनोट भएका गाउँका ५० घरधुरीबाट एक÷एक जना सदस्य रहने गरी कृषि सहकारी वा समूहमार्फत त्यहाँको मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारी खेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेबाली उत्पादन गरिएको छ । छनोट भएका प्रत्येक गाउँलाई पहिलो वर्ष रु ३० लाखका दरले अनुदान उपलब्ध गराउने र चौथो वर्षसम्म प्रत्येक वर्ष रु ५० प्रतिशत रकम घटाउँदै लगेर त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

भीमाद नगरपालिका–९ स्थित मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँका अध्यक्ष डोलराज गुरुङले कार्यक्रममार्फत घाँसको बिरुवा वितरण, बाख्रा वितरण, खोर सुधारलगायतका काम गरिएको जानकारी दिए । साथै कृषिजन्य सामग्री सुन्तला, तरकारी, अदुवालगायत सुरक्षितरुपमा राख्नका लागि दश टन क्षमताको चिस्यान केन्द्र पनि निर्माण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width