समाधिस्थलले बेलायती शासकको शिर झुकाउँछ- गुरुङ

आदर्श समाज सम्वाददाता
माघ १२, २०७६
1528789636_PadmabahadurGurung

पोखरा । भूतपूर्व सैनिक संघ (गेसोे) का संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले बेलायती सरकारविरुद्ध कडारुपमा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

उनले हजारौं नेपाली नागरिकलाई गैरकानूनी बाटोबाट बेलायती सेनामा भर्ति गराएर विभिन्न युद्धमा मर्न बाध्य पारेको भन्दै त्यसको हिसाबकिताब खोज्न आफू निरन्तर लागिरहेको सुनाए । यसैका लागि गेसोले स्याङ्जाको साल्मेडाँडामा गोर्खा समाधिस्थल निर्माणको काम गरिरहेको छ । विश्वका सबै देशमा पुगेर वीरगतिप्राप्त गरेका गोर्खाली सैनिकको अस्तु ल्याएर समाधिस्थल निर्माण गर्न लागिएको हो । समाधिस्थलले बृटिस साम्राज्यवादको शिर झुक्ने उनको दाबी छ । हालसम्म बेलायती प्रधानमन्त्री नेपाल नआएको भन्दै उनले त्यो घमण्ड तोडेर नेपालीसँग माफी माग्न बाध्य पारिने बताए । बेलायतले बिनातलब युद्धमा लगेको र मरेका गोर्खा सैनिकबारे कुनै जानकारी नगराएकोप्रति विश्वको ध्यानाकर्षण गराउने गुरुङले सुनाए ।

शनिबार पत्रकार सम्मेलन गरी उनले भने, ‘अब नेपाली युवा बेलायती क्याम्पमा स्वाभीमानि छाती नाप्न जाँदैनन् । हाम्रा पुर्खाहरुलाई कहाँ लगेर मा¥यौ भनेर प्रश्न गर्नेछन् ।’ उनका अनुसार सन् २०२० भित्रै समाधिस्थल निर्माणको काम सकेर बेलायती प्रधानमन्त्रीबाट उद्घाटन गराउने कार्यक्रम छ । ‘डिसेम्बरसम्म पहिलो चरण पूरा हुन्छ । त्यसको उद्घाटनमा बेलायती प्रधानमन्त्री आउनैपर्ने हुन्छ,’ उनले भने, ‘त्यसपछि भूपू सैनिकको पेन्सन समान हुन्छ । नेपाल बसेको समयको भत्ता पनि काटिँदैन ।’ ८० भन्दा बढी देशमा पुगेर भूपू सैनिकका अस्तुको माटो र चिहानको डाटा संकलन गर्नुपर्ने भन्दै उनले त्यसको आर्थिक ब्यवस्थापन सरकारले मिलाउनुपर्ने बताए ।

विकासको पूर्वाधार तयार गर्नुपर्ने भएकोले नेपाललाई उपनिवेशमा बेलायतले नलिएको उनको आरोप छ । ‘उपनिवेशमा लिँदा भारतलाई जस्तै पूर्वाधार बनाइदिनुपर्ने थियो । त्यसो हुँदा नेपाल आफै विकासको बाटोमा अघि बढ्ने र समृद्ध हुँदै एशियामै शक्तिशाली राष्ट्र बन्ने डर बेलायतलाई थियो,’ गुरुङले भने, ‘त्यसैले आफ््नो स्वार्थ अनुकूल नेपाललाई अखडा बनाएर एशियाको राजनीतिमा पश्चिमा राष्ट्रको चलखेल बढाउन नेपाललाई कमजोर बनाएको हो । जसका कारण नेपाललाई उपनिवेश नबनाएर युवा रोजेको हो ।’ गोर्खा भूतपूर्व सैनिक संघ गेसोले सन् २००२ मा पहिलो पटक बेलायती महारानीलाई विपक्षी बनाएर मुद्दा दर्ता गरायो । त्यो पनि बेलायतकै रोयल कोर्ट अफ जस्टिसमा । जुन घटनाले विश्वको ध्यानकेन्द्रित गरेको थियो । ‘सन् २००० को जनवरीमै बेलायती अदालतमा मुद्दा हाल्न जाने औपचारिक घोषणा भएको थियो । मुद्दा दर्ता गर्न नदिन विभिन्न षड्यन्त्रहरु शुरु भए । व्यक्तिगत रुपमा ममाथि पनि चौतर्फी हमला भयो,’ उनले भने, ‘मलाई आतंककारी र भ्रष्टचारी भनेर आरोप लगाइयो । ममाथि त्यो बेला ३ पटकसम्म सांघातिक हमला गरेर घाइते बनाएका छन् । तर मैले हरेश खाइनँ ।’

गोर्खा भर्तिको २ सय वर्ष पूरा भयो । यो अवधिमा कति गोर्खालीहरुले वीरगति पाए भन्ने तथ्यांक स्पष्ट छैन । ‘पशुको त फरक देशमा ओसारपसार हुँदा लगत स्पष्ट राखिन्छ । तर नेपालमा मान्छेको समेत लगत छैन । यो कस्तो विडम्बना ?,’ गुरुङले भने, ‘आफ्नो नागरिकबारे सरकालाई चिन्ता छैन । खोजखबर छैन । यति ठूलो संख्यामा आफ्ना नागरिकलाई मारेर बेपत्ता बनाउँदा पनि नेपाल सरकार चुइँक्क बोल्दैन ।’ गेसोले आन्दोलन नगरेको भए हजारौं नेपालीको लास बेपत्ता बनाउने उनको भनाइ छ । उनको तथ्यांकमा नेपालका १९ जातिका युवा बेलायती सेनामा भर्ति भएका छन् । गोर्खा सैनिकविरुद्ध बेलायतले गरेको सबै गलत सम्झौता र परिचालनबारे विश्वमा जानकारी गराउने र त्यसविरुद्ध मुद्दा लड्ने उनको भनाइ छ । गेसोले समाधिस्थल निर्माणका लागि ५० करोड रुपैयाँ विनियोजन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width