संरक्षण क्षेत्रजति प्रदेशले माग्यो

आदर्श समाज सम्वाददाता
माघ ११, २०७६
minister

पोखरा ।गएको माघ ३ देखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको म्याद सकियो । मनास्लु संरक्षण क्षेत्रको म्याद पनि धेरै बाँकी छैन । यता पञ्चासे संरक्षण क्षेत्र पनि गण्डकी प्रदेशमै पर्छ । तीनवटै क्षेत्र राष्ट्रिय प्रकृति संरक्षण कोषले रेखदेख र उपभोग गर्दै आएको छ । गण्डकी प्रदेश सरकारले ती क्षेत्र आफूलाई हस्तान्तरण गर्न केन्द्र सरकारसँग माग गरेको छ ।

मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले एक्याप, एमक्याप र पञ्चासे संरक्षण क्षेत्र प्रदेश सरकारलाई दिन आग्रहसहितको पत्र पठाउने निर्णय गरेको हो । तर संरक्षित क्षेत्र सञ्चालनको कुनै आधार भने प्रदेश सरकारले तयार गरेको छैन । ‘अहिले हामीले मागेका छौं । केन्द्र सरकारले दियो भने सञ्चालन ऐन बनाएर अघि बढौंला,’ सरकारका प्रवक्ता रामशरण बस्नेत भन्छन्, ‘अहिले चलेकोभन्दा व्यवस्थित हुन्छ । आम्दानी गर्ने गरी प्रदेशले चलाउँछ ।’

यस्तै, पोखराको रत्नमन्दिर, हिमागृह र नेपाल ट्रष्टको नाममा रहेका अन्य जग्गाहरु समेत प्रदेश मातहतमा दिन सरकारले पत्र पठाएको छ । सबै सम्पत्ति अधिकार स्वीकृति दिन आग्रह गरिएको बस्नेतले बताए । मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका थप ५ वटा स्थानीय तहमा औेद्योगिक ग्राम स्थापनाका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । बागलुङको ताराखोला गाउँपालिका, पर्वतको बिहादी गाउँपालिका, स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका तथा अर्जुनचौपारी गाउँपालिकालाई ५४ लाख ५० हजारका दरले अनुदान दिइने र पहिलो चरणमा सबैलाई २७ लाख २५ हजारका दरले निकासा दिने निर्णय भएको सरकारले जनाएको छ ।

यो वर्ष ११ वटा स्थानीय तहमा औद्योगिकग्राम स्थापना गरिने र तत्काल सबै डकुमेण्ट पु¥याएर अनुदान मागेका ५ स्थानीय तहलाई रकम निकासा दिने निर्णय भएको प्रवक्ता बस्नेतले बताए । प्रदेश सरकारले ८५ वटै स्थानीय तहमा औद्योगिकग्राम स्थापना गर्ने निर्णय गरेको छ ।

सरकारले प्रदेश दुग्ध विकास बोर्डको शेयर खरिद गर्ने निर्णय पनि गरेको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा गण्डकी काउ फार्मको नामबाट सरकारले ५१ प्रतिशत शेयर कायम हुने गरी ११ करोड लगानी गर्ने निर्णय गरेको हो । यसका लागि बजेट समेत व्यवस्था गरिसकिएको छ । सरकारले दुग्ध विकास बोर्ड सञ्चालनका लागि नवौंस्तरको अधिकृतलाई सदस्य सचिव नियुक्त गरिसकेको छ । बोर्ड गठन प्रक्रिया विस्तारै अघि बढाउने मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश विकास समिति सम्बन्धि विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति दिइएको छ ।

वार्षिकोत्सव मनाउने, कर्मचारी सम्मान गर्ने

सरकार स्थापना भएको २ वर्ष पुगेको अवसरमा गण्डकी प्रदेशले वार्षिकोत्सव मनाउने तयारी गरेको छ । यसका लागि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा उत्सव तयारी र व्यवस्थापन समिति गठन गरेको हो । समितिमा आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत सदस्य छ भने सबै मन्त्रालयका सचिवहरु पनि सदस्य छन् । समितिले वार्षिकोत्सव मनाउन आवश्यक खर्च र कार्यक्रम ढाँचाको व्यवस्थापन मिलाउने छ ।

सोही अवसरमा कर्मचारी सम्मानको तयारी पनि छ । यो वर्ष सम्मानित हुने कर्मचारी छनौटका लागि प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा पूर्व सह सचिव नरहरि बराल, आर्थिक मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य रहने गरी समिति बनाइएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width