चोरीका घटना बढेपछि स्थानीयवासीको गस्ती

रासस
माघ १०, २०७६
10

रुपन्देही, १० माघ । गत मङ्गलबार तिलोत्तमा नगरपालिका–१५ बिघा क्षेत्रमा रहेको गणेश पाण्डेको घरमा चोरी भयो । घरमा कोही नभएको मौका पारेर नगद २० हजारसहित गहना र अन्य सामानसमेत चोरले चोरेर लगे । प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।

यही माघ ५ गते बुटवलको झोलुङ्गेपुलस्थित सुरज नेपालीको शुभ रेसुङ्गा मोबाइल सेन्टरमा चोरी भयो । रातिको समयमा सटरको ताला फोडेर पसलमा रहेका मोबाइल चोरी भए । त्यसको एक दिन अगाडि झोलुङ्गेपुलकै किराना सामानको ताला फोडेर चोरले सामान चोरे । घर र पसलमात्र होइन, पछिल्लो समय जिल्लामा बस, ट्र्याक्टर तथा एम्बुलेन्ससमेत चोरी भए ।

माघ १ गते बुटवलको मैनाबगरबाट एम्बुलेन्स नै चोरी भयो । बुटवलको मैनाबगरबाट चोरी भएको एम्बुलेन्स पाल्पाको तिनाउ गाउँपालिका नुवाकोट जङ्गलमा फेला प¥यो । मैनाबगरस्थित नवदुर्गा अटोमोबाइल्समा मर्मतका लागि राखिएको लु१च ९४२० नंको एम्बुलेन्स राति चोरी भएको थियो । इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलीले खोजतलासका क्रममा नुवाकोटको जङ्गलमा एम्बुलेन्स फेला पारेको हो ।

प्रदेश नं ५ को अस्थायी राजधानी रहेको बुटवलमा समेत हरेक दिनजसो चोरीका घटना भएका छन् । उच्च सुरक्षाका बीच पनि चोरीका घटना बढ्दै गएपछि प्रहरीलाई चुनौती थपिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार यस आव २०७६÷७७ मा चोरीका घटनाका कूल ८५ मुद्दा दर्ता भएका छन् । मुद्दा दायर भएकामध्ये साधारण चोरीका धेरै छन् । यो आवमा छ सवारी चोरी भएका छन् । प्रहरीले विभिन्न प्रकारका चोरी मुद्दामा १५१ विरुद्ध मुद्दा चलाएको छ । चोरीमा संलग्न रहेको अभियोग लागेका नौ अझै फरार छन् । प्रहरीले गत आवमा १६१ चोरीका मुद्दा दर्ता गरेको थियो, जसमा २२४ विरुद्ध मुद्दा दायर गरिएको थियो ।

बुटवलमा सबैभन्दा बढी वडा नं १३ र १४ मा चोरीका घटना भएका छन् । शङ्खलाबद्ध चोरीका घटना बढ्दै गएपछि सर्वसाधारण त्रसित बनेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारीअनुसार यस आव २०७६÷७७ मा चोरीका घटनाका ४९ मुद्दा दायर गरिएको छ । मुद्दा दायर भएकामध्ये साधारण चोरीमा धेरै रहेको छ । साधारण चोरीमा ४३ मुद्दा दायर गरिएको छ । यस्तै चौपाया चोरीमा तीन, डाँका चोरीमा एक, चोरी उद्योगमा दुई मुद्दा दायर गरिएको छ । इलाका प्रहरीले आव २०७५÷७६ मा चोरीका घटनामा ९८ मुद्दा दायर गरेको थियो । पछिल्लो दुई वर्षको अवधिमा इलाका प्रहरीले १९५ विरुद्ध चोरीको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नवीन चुँदालीले जानकारी दिए ।

सङ्गठितरूपमा हुने चोरीका घटनामा कमी आए पनि साधारण चोरीका घटनामा भने कमी आउन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । रातिमा सबै सुतेको मौका छोपेर धेरै चोरी हुने गरेको उनले बताए । उनले चोरीका मुद्दामा पछिल्लो सात महिनामा मात्रै करीब ८० लाई मुद्दा चलाइएको जानकारी गराए । बुटवलमा दिनहुँ चोरीका घटना हुन थालेपछि स्थानीयले गस्ती शुरु गरेका छन् । बुटवल वडा नं १३ का स्थानीयवासीले वडामा चोरी नियन्त्रणका लागि रातिको समयमा गस्ती गरेका हुन् ।

विगत केही महिनादेखि वडामा दर्जनौँ चोरीका घटना हुँदा पनि चोरीमा संलग्नलाई पक्राउ गर्ने कार्यमा प्रहरीले तदारुकता नदेखाएपछि स्थानीय मिलेर रातीमा गस्ती शुरु गरेका हुन् । वडाका नागरिकको सुरक्षाका लागि सुरक्षा समिति नै गठन गरेर सुरक्षा अभियान थालिएको झोलुङ्गेपुल टोल समितिका अध्यक्ष पिताम्बर भण्डारीले जानकारी दिए । चोरी नियन्त्रणका लागि स्थानीय व्यवसायी ज्ञानप्रसाद न्यौपानेकोे अध्यक्षतामा सुरक्षा समिति बनाएर टोल–टोलमा सचेतना जगाउने काम भइरहेको उनले ताए ।

Related News

सम्बन्धित समाचार

hero news full width