गण्डकी प्रदेश सांसद मनाङे पक्राउ

आदर्श समाज सम्वाददाता
माघ ९, २०७६
dipak

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो पोखरा लेकसाइडको एक होटलबाट पक्राउ गरेको हो ।

सांसद मनाङेले अखिल जिल्ला फुटबल संघ (एन्फा), कास्की अध्यक्ष मिलन गुरुङमाथि खेलमैदानमै झापड हानेपछि उनीविरुद्ध जिल्ला प्रहरीमा मनाङेविरुद्ध बुधबार जाहेरी परेको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पूर्जा जारी गरिएपछि प्रहरीले सांसद गुरुङलाई पक्राउ गरी पोखरा गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालयमा राखेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

सांसद मनाङेले बिहीबारमात्रै राष्ट्रिय सभा सदस्य चुनावमा भाग लिँदै मतदान गरेका थिए ।

एन्फा प्रदेशस्तरीय लिग कमिटी आयोजनामा लेखनाथमा मंगलबार शुरु गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता–२०७६ मा सांसद गुरुङले आयोजकबाट मनाङी टिमको व्यवस्थापनमा बेवास्ता गरेको भन्दै प्रतियोगिताका लागि गठित कमिटी कोषाध्यक्षसमेत रहेका एन्फा कास्की अध्यक्ष मिलनमाथि मुक्का प्रहार गरेका थिए ।

जसको विरुद्ध मिलनले सांसदविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ‘मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानून अनुसार हदैसम्म सजाय गरी पाउँ’ भनी बुधबार उजुरी दायर गरेका थिए ।

सो अघि दुवैले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी एकअर्कामा आरोप–प्रत्यारोप गरेका थिए ।  लेखनाथमा सुरु मुख्यमन्त्री कपमा ९ टिमले भाग लिएका छन् । प्रतियोगिता १४ माघमा सकिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width