हिमपातपछि दोलखा कालिञ्चोकमा स्की खेल महोत्सव हुने

आदर्श समाज सम्वाददाता
माघ ७, २०७६
83193634_645120049571848_7511562174779621376_n

काठमाण्डौँ ७ माघ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि परेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्ने भएको छ । साहसिक खेलको विकास तथा पर्यटन प्रवद्र्धन गर्न प्रतिष्ठानले विगत ४ वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सदरमुकाम चरिकोटबाट १८ किमिको दूरीमा करिब ३४५० मिटर उचाईमा रहेको कुरी क्षेत्र गाडीमा डेढ घण्टा पुगिन्छ । स्की खेलप्रति रुचि राख्ने स्वदेशी तथा विदेशी तथा कालिञ्चोक घुम्न आउनेहरुलाई लक्षित गरी यही माघ ९ र १० गते कालिञ्चोक क्षेत्रमा आधारभूत स्की तालिम तथा महोत्सव गरी ११ गते प्रतियोगिता गरिने दोलखामा आज आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिनुभयो ।

महोत्सव अवधिमा दश जना प्रशिक्षकबाट इच्छुकहरुलाई साधारण ज्ञान तथा तालिम दिइने योजना छ । त्यसपछि राष्ट्रिय र अन्तराष्ट्रिय विधामा प्रतियोगिता गरिनेछ । करिब पाँच हजारले महोत्सव अवलोकन गर्नेछन् । प्रष्ठिानले यसअघि रोल्वालिङ, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनांङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आाधारशिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिनुभयो । स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलको रुपमा विकास गर्दै युवाहरुको बीचमा स्थापित गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यस प्रकारको महोत्सव तथा तालिमले सहयोग पुग्ने आयोजकको दावी छ ।

युवाहरुलाई स्की खेलप्रति आकर्षित गर्दै दोलखालाई साहसिक खेलको केन्द्र बनाउनु यो महोत्सवको उद्येश्य हो । कुरीका विजयी खेलाडीलाई नेपाली स्की एशोसीयसनको सहयोगमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराईने अध्यक्ष पाठकले जानकारी दिनुभयो । कार्यक्रमको कूल बजेट ६ लाख १८ हजार हुने इभेण्ट म्यानेजर सौगात थापाले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width