अन्नपूर्ण हिउँपहिरोः निरन्तर हिमपात, उद्धार टोली त्यसै फर्कियो

आदर्श समाज सम्वाददाता
माघ ६, २०७६
Manang-Valley

पोखरा । अन्नपूर्ण बेस क्याम्प नजिक हिम्कुमा गएको हिउँ पहिरोमा हराईरहेका पर्यटक र नेपालीको अवस्था अझै अज्ञात छ । मौसम प्रतिकुल परेका कारण आइतबार पनि खोजतलास हुन सकेन । स्थानीय केही ब्यक्तिहरु घटनास्थलमै भएपनि हिमपात नरोकिएका कारण बेपत्ता ब्यक्तिहरु खोज्न सकेका छैनन् ।

निरन्तरको हिमपात र हिमपहिरोका कारण उद्धार टोली पनि फर्किएको छ । छोम्रोङ पर्यटन व्यवस्थापन समिति र वडा कार्यालयको आग्रहमा स्थानीय १२ जनाको टोली देउरालीमा बसेको थियो । तर, हिमपात नरोकिएपछि उद्धारको काम गर्न नसक्ने भन्दै फिर्ता बोलाइएको अन्नपूर्ण गाउँपालिका ११ नम्बर वडाका अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए ।‘१२ जना युवालाई त्यहाँ खटाएका थियौं । तर, मौसम निरन्तर प्रतिकूल भो। हिमपात अझै रोकिएन । हिमपहिरोको डर भएपछि उनीहरूलाई फिर्ता बोलाएको छु,’ उनले भने, ‘टोली फर्कियो । अहिले उद्धारको कुनै पनि काम गर्न सक्ने अवस्था छैन ।’ मौसममा केही सुधार भएपछि मात्रै उनीहरूलाई पुनः घटनास्थल पठाउने गुरुङले बताए । हिउँ नपग्लिएसम्म त्यहाँ बेपत्ताको आधिकारिक तथ्यांक नआउने उनको भनाई छ ।

हिमपातका कारण छोम्रोङभन्दा माथि पर्यटकलाई प्रवेश रोक्ने निर्णय शनिबार भएको छ । त्यस क्षेत्रका होटलमा काम गर्ने कामदार र अन्य व्यक्तिलाई पनि होटल बन्द गरेर छोम्रोङ झारिएको छ । घटनास्थलमा अहिले ७ फिटसम्म हिउँ जमेको वडाध्यक्ष गुरुङको भनाइ छ । बिहानैदेखि उद्धारमा खटिने भनिए पनि हिमपातका कारण हेलिकोप्टरसमेत उड्न सकेको छैन ।हराईरहेका पर्यटकको खोजी गर्न सरकारले भने खासै चासो दिएको छैन । छोम्रोङ पर्यटन व्यवस्थापन समितिको अगुवाइमा त्यस क्षेत्रमा भएका पर्यटक र होटलका कामदारलाई हेलिकोप्टरमार्फत् छोम्रोङ र पोखरामा झारिएको छ । हराइरहेका पर्यटकको हकमा भने ग्राउण्ड लेवलबाट अझै खोजी हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले टान र अन्य संघ सस्थासँग समन्वय गरेर उद्धारको काम गरिएको बताए । ‘टान र ट्रेकिङ सम्बन्धी अरु संघ संस्थासँग समन्वय गरेर सयभन्दा बढी मान्छेलाई सुरक्षित ठाउँमा सारिएको छ । ईन्स्पेक्टरको नेतृत्वमा एउटा टोलील गएर रेकी पनि गरेर फर्कियो,’ उनले भने, ‘हामी समन्वयमा काम गरिरहेका छौं ।’ उनले हराइरहेकाहरूको खोजी भइरहेको बताए । तर घटनास्थलमा केही स्थानीय र टानले पठाएको उद्धार टोली बाहेक अरु पुग्नै सकेनन् । हिउँ पहिरोमा बेपत्ता भएकाहरूको संंख्या समेत अझैसम्म एकीन हुन सकेको छैन ।

यसैबीच, ट्रेकिङ एजेन्सिज एशोसियनस अफ नेपाल टान पोखराले पत्रकार सम्मेलन गरी उद्धारमा आफुहरु लागिरहेको जनाएको छ । त्यस क्षेत्रमा भएका अरु पर्यटकलाई सुरक्षित ठाउँमा सारिएको र हराएकाहरुको खोजीमा पनि लागिरहेको टान पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए । शुक्रबार हिउँपहिरोमा परि विदेशी नागरिक सहित ७ जना बेपत्ता भएको प्रमाणित भएको छ । हिउँपहिरोमा दक्षिण कोरियाली नागरिक जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक, नेपाली गाइड सरोज परियार, मीनबहादुर लामा र टिरिङ भोटे हराएका छन् । प्रत्यक्षदर्शीहरु चाहीँ हराउनेको संख्या त्यो भन्दा पनि बढी हुन सक्ने बताउँछन् । हिम्कु आसपासमा ६ वटा हिउँपहिरो खसेको घटनास्थल पुगेर फर्किएका विजय केसीले जानकारी दिए । उनका अनुसार अहिले उद्धारका लागि केही गर्न सक्ने अवस्था छैन ।

मनाङबाट हराएका चिनियाँ पर्यटक भेटिए

अन्नपूर्ण पदयात्राका क्रममा मनाङबाट हराएका भनिएका चिनियाँ पर्यटक सम्पर्कमा आएका छन् । विहिबारदेखि परेको हिमपातका कारण थोरङ पास गर्न निस्किएका ४ चिनियाँ पर्यटक सम्पर्क विहिन भएको समाचार आएको थियो । तर उनीहरु थोरङ भञ्ज्याङ पास गरेर पोखरा हुँदै काठमाण्डौं फर्किसकेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

मनाङका नि. प्रमुख जिल्ला अधिकारी कमलप्रसाद अर्यालका अनुसार सबै पर्यटक सुरक्षित छन् । ‘ती पर्यटकले मुस्ताङ निस्कने क्रममा एक्याप र मुक्तिनाथ चेकपोष्टमा नाम दर्ता गराएका रहेनछन् । त्यसैले सम्पर्क विहिन भनिएको हो,’ उनले भने, ‘उनीहरूमध्ये एक जना मुस्ताङ, एकजना पोखरा र बाँकी २ जना काठमाण्डौं पुगिसकेको खवर पाएका छौं ।’मनाङको सदरमुकाम चामे लगायतका क्षेत्रमा नेपाल टेलिकमको मोवाइल तथा ल्याण्डलाईन सेवा १० दिनदेखि अवरुद्ध छ ।

Related News

सम्बन्धित समाचार

hero news full width