बेलायती राजकुमार ह्यारी दम्पतिको शाही उपाधि परित्यागको निर्णय

रासस
माघ ५, २०७६
c1_3493009

लण्डन, ५ माघ । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेको औपचारिक निर्णय भएको छ ।

बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो । ह्यारी दम्पत्तिले केही दिन अगाडि शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन विताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए ।

शाही दरबारमा शनिबार बसेको बैठकले चरण चरणका छलफल र प्रयासहरुलाई आधार मानेर उनीहरुको घोषणालाई स्विकृति दिने निर्णय गरेको हो । शाही दरबारको यो निर्णयसँगै उनीहरुले शाही उपाधि अन्त्य हुने सुनिश्चत भएको छ । तर उनीहरुलाई आगामी बसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ । बेलायती महारानी एलिजावेथ द्धितियाका नाती ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनको शाही परिवारबाट बहिर्गमनको विषयलाई ह्यारीकी आमा स्वर्गीय डायनाको शाही परिवार परित्यागको विषयसँग जोडेर हेरिएको छ ।

“महिनौदेखिको कुराकानी, पछिल्ला धेरै छलफलहरुपछि रचनात्मक र सहयोगात्मक कामहरु गर्ने मेरो नाती र परिवारको निर्णयबाट म प्रशन्न छु,” ९३ वर्षीय महारानीले वक्तव्यमा लेकोका छन् । उनले भनेका छन् “ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन् पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गरे । म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु ।”

दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम नपाउनेलगायतका घोषणा गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । दरबारको यो निर्णयसँगै उनीहरु अब राजपरिवारका औपचारिक सदस्य नरहने भएको वक्तव्यमा जनाइएको छ । ह्यारी दम्पतिले राजपरिवारको भूमिका परित्याग गरेपछि बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने बताएका छन् । केही समयको प्रेम सम्वन्धपछि उनीहरुले २०१८ मा विवाह गरेका हुन् । राजकुमार चार्सका कान्छा छोरा ह्यारी अहिले ३५ वर्षको रहेका छन् भने उनकी श्रीमती मेघन ३८ वर्षकी छन् । राजकुमार ह्यारी बेलायती राजपरिवारको छैठौँ उत्तराधिकारी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width