पोखरामा गुञ्जिए सञ्जीव र टीका

आदर्श समाज सम्वाददाता
माघ ५, २०७६
sanjib-tika

पोखरा, पुस ५ गते । गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईँको युगल साँझ पोखरामा सम्पन्न भएको छ ।

अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीले उनीहरुलाई पोखरामा मञ्च प्रदान गरेका हुन् । रातो र चन्द्रसूर्य…बोलको गीतबाट मेलो पसेका उनीहरुले नाई मलाई थाहा छैन…, माया लुकी लुकी… किन कर्के नजर…, हिट हिट गीत…लगायत १ दर्जन गीत गाएर पोखरेली दर्शकलाई मनोरञ्जन दिलाए । प्रत्यक्ष वाद्यवादनसहितको गायन र पृष्ठभूमिमा प्रस्तुत गरिएको नृत्यले दर्शक अझ रोमाञ्चित भए ।

विराटनगर स्थायी घर भई हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका सञ्जीव र झापा स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी टीका नेपाली सङ्गीतका क्षेत्रमा साङ्गीतिक जोडीका रुपमा परिचित छन् । नाई मलाई थाहा छैन…बोलको गीतबाट अघि बढेको यो जोडीले युगल साँझकै माझ ‘सँग सँगै’ भाग १ र २ गरी २ एल्बम पनि सार्वजनिक गरे । यससँगै सञ्जीवका यसअघिका ‘त्यो सपना’ र ‘सुनय’ गरी ४ र टीकाका यसअघिको ‘मेलोडी’सँगै ३ एल्बम बजारमा आइसकेका छन् ।

उनीहरुले संयुक्त रुपमै ५ ओटा अवार्ड नै पाएका छन् । कान्तिपुर म्युजिक अवार्ड, हिट्स एफ. एम. म्युजिक अवार्ड, कालिका म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, सूर्य इन्टरनेशनल म्युजिक अवार्ड उनीहरुले संयुक्त रुपमा ग्रहण गरेका छन् । गायिका टीकाले नातिकाजी युवा सङ्गीत सम्मान र इमेज अवार्ड पनि पाएकी छिन् भने सञ्जीव पनि अनुपम सङ्गीत सम्मानलगायतका सम्मान पाएका छन् ।

पोखरेली दर्शकको स्तरीय गीत÷सङ्गीतप्रतिको लगाव आफूहरुलाई मन पर्ने सञ्जीव र टीकाले सुनाए । उनीहरुले जीवनमा थुप्रै साङ्गीतिक कार्यक्रममा सहभागी भए पनि युगल साँझ जीवनकै ऐतिहासिक रहेको धारणा राखे । कलाकारद्वयलाई पोखरामा उभ्याउने चाँजोपाँजो गीतकार होमनाथ न्यौपानेले मिलाएका थिए ।

प्रमुख आमन्त्रित व्यक्तित्वका रुपमा निम्त्याइएका नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले पनि सञ्जीव र टीकाको प्रस्तुतिको प्रशंसा गरे । नेपाली कला, साहित्य र सङ्गीतका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिँदै उनले युवा पुस्ताका सचेत गायक र गायिकाका रुपमा आफूले सञ्जीव र टीकालाई चिनेको बताए ।

कार्यक्रममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपमले एकल रुपमा र विभिन्न संस्थासँग मिलेर साङ्गीतिक कार्यक्रमहरु गर्दै आएको बताए । उनले यो कार्यक्रम नेपाली साङ्गीतिक क्षेत्रकै ऐतिहासिक कार्यक्रम भएको दाबी गर्दै आगामी जेठमा हुने सातौँ अनुपम साङ्गीतिक साँझ नयाँ ढङ्गबाट अघि बढ्ने खुलासा गरे । कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देलले आफ्नो कार्यकालमा क्लबले समाजसेवाका अलावा सङ्गीतका माध्यमबाट सामाजिक कार्य गर्ने बताए ।

कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावी तथा सहसचिव गोविन्द सिञ्जालीले गरेका थिए । लायनहरु वासुदेव कोइराला, मिलन थापा, कमलबहादुर बस्नेतलगायतले शुभकामना दिएका कार्यक्रममा मुख्य प्रायोजक बाबा एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजेन्द्रकुमार शर्मालाई सम्मान गरिएको थियो । सम्मानित शर्माले आफ्नो संस्थाले स्थापना कालदेखि नै साहित्य, सङ्गीतमा लगानी गरेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा किन कर्के नजर…बोलको गीतको कभर डान्स प्रतियोगितामा उत्कृष्ट हुन सफल नागी डान्स सेन्टर, इटहरीका कलाकारहरुलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width