आर्मी एमएम कप क्रिकेट च्याम्पियन

आदर्श समाज सम्वाददाता
माघ ४, २०७६
Army, Winner MM Cup Cricket

पोखरा । विभागीय सेनाको त्रिभुवन आर्मी क्लब मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

त्रिभुवन आर्मीले फाइनलमा अर्को विभागीय क्लब पुलिसलाई ८५ रनले हराउँदै च्याम्पियन बनेको हो ।

जितसँगै आर्मीले गत सिजनको फाइनलमा ब्यहोरेको हारको बदला समेत लिएको छ । च्याम्पियन बनेसँगै आर्मीले ४ लाख ५ हजार नगद पुरस्कार हात पा¥यो । उपविजेता पुलिसले २ लाख ५ हजार पुरस्कार पायो ।

सुनसरीको इनरुवामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी ४८ ओभर ५ बलमा १ सय ८४ रनमा अलआउट भएको थियो । फाइनलको शुरुवात राम्रो गर्न नसकेको आर्मीले ५३ रन बनाउँदा ४ विकेट गुमायो । उसका ओपनर अनिल मण्डल ५ रनमा आउट भए । राजु रिजालले २२ रनको योगदान दिए । रोहितकुमार पौडेल ११ रनमा पेभेलियन फर्किए । त्यसपछि, ब्याटिङमा उत्रिएका भीम सार्की ७ रनमा आउट बने ।

उसका मध्यक्रमका खेलाडीबीच खासै राम्रो साझेदारी हुन सकेन । कुसल मल्ल १३ रनमा आउट भएपछि आर्मीले ७७ रनमा ५ विकेट खेर फाल्यो । हरि चौहान ३ रन जोडेर आउट बने । त्यतिबेला, आर्मीको स्कोर ९५ रनमा ६ विकेट थियो ।

आर्मीका राजेश पुलामीमगरले ३१ रन मात्रै थपे । अन्तिमतिर विनोद भण्डारीले ४० रन जोडे । विक्रम सोबले १५ रनको योगदान गरे । बलिङमा दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी र सागर ढकालले ३/३ विकेट लिए ।

जवाफमा पुलिस क्लव २४ ओभर ४ बलमा मात्र ९९ रनमा अलआउट भयो । पुलिसका ३ खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा अमित श्रेष्ठले २३ र अनिल शाहले २१ रन मात्रै बनाए ।

यस्तै कुसल भुर्तेलले ३१ रनको योगदान दिए । बाँकी खेलाडीले दोहोरो अंक जोड्नै सकेनन् । पुलिसलाई कम स्कोरमा रोक्न सुसन भारीले ४ विकेट लिए । साहब आलमले ३ विकेट लिए । त्यस्तै, कुसल मल्लले २ विकेट लिए ।

एक रन बनाउँदा पहिलो विकेट गुमाएको पुलिसले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका दुबै ओपनर सस्तैमा आउट बने । पवन सर्राफले खाता खोल्नै सकेनन् । सुनिल धमलाले ८ रन जोडर आउट बने । त्यसपछि पुलिसको स्कोर बोर्डमा ६५ रन हुँदा ५ विकेट खेर गएको थियो । जसमा उसका दिपेन्द्रसिंह ऐरी ५ र अनिल शाह २१ र अमित श्रेष्ठ २३ रनमा आउट भए ।

पुलिसको विकेट झर्ने क्रम रोकिएन । उसले ६९ रन बनाउँदा ८ विकेट गएको थियो । जसमा दिलिपनाथ ४, कुसल भुर्तेल ३१, कप्तान मञ्जित श्रेष्ठ १ रनमा पेभेलियन फर्किएका थिए । साविक विजेता पुलिस ९९ रनमा अलआउट बन्यो ।

Related News

सम्बन्धित समाचार

hero news full width