एक सय आठ फिटको व्यासमूर्तिको डिपिआर तयार

रासस
माघ ४, २०७६
Maharishi_Bhrighuji

दमौली, ४ माघ । तनहुँको दमौलीमा निर्माण गर्न लागिएको १०८ फिट व्यासमूर्तिको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइएको छ ।

मूर्ति निर्माणका लागि सरकारका तर्फबाट बजेट विनियोजन गर्न माग गर्दै व्यासक्षेत्र शिवपञ्चायन विकास कोषले काठमाडौँमा पुगेर डिपिआर मन्त्री भट्टराईलाई हस्तान्तरण गरेको हो । राष्ट्रियसभा सदस्य प्रकाश पन्त, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहितको उपस्थितिमा कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले डिपिआर मन्त्री भट्टराईलाई प्रदान गरेका थिए ।

व्यासमूर्तिसहित संरचना निर्माणका लागि धेरै बजेट लाग्ने भएकाले सरकारका तर्फबाट पनि सहयोग गर्न मन्त्री भट्टराईसँग अनुरोध गरिएको कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए । सो अवसरमा मन्त्री भट्टराईले आगामी वर्षको बजेट भाषणमार्फत मूर्तिसहितको संरचना निर्माणका लागि बजेट विनियोजन गर्ने आश्वासन दिएको उनले बताए ।

कोषले मूर्ति निर्माणका लागि बजेट जुटाउन यही माघ २० देखि २८ गतेसम्म महायज्ञसमेत गर्दैछ । गुरुयोजनाअनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड खर्च हुने भए पनि कोषमा रु ५० लाख मात्रै रहेकाले मूर्ति निर्माणको काम शुरु गर्नका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित महायज्ञ गर्न लागिएको कोषका अध्यक्ष श्रेष्ठले बताए “कोषमा भएको रु ५० लाखले केही पनि गर्न नसक्ने अवस्था आएपछि महायज्ञबाट केही रकम सङ्कलन गरी कामको शुरुआत गर्न लागेका छौँ,” उनले भने “जग खन्नका लागि पनि ठूलै रकम आवश्यक पर्ने देखिएको छ ।”

महायज्ञबाट करीब रु पाँच करोड सङ्कलन गर्ने लक्ष्य राखिएको छ । व्यासमूर्तिसहितको संरचना निर्माणका लागि कोषको एकल प्रयासले मात्रै सम्भव नरहेकाले सबैको सहयोग आवश्यक भएको श्रेष्ठले बताए । जनस्तरबाट थालिएको मूर्ति निर्माणको अभियानअन्तर्गत हालसम्म डिपिआर बनाउने काम मात्रै सम्पन्न भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width