अग्लिएका खगेन्द्रको निधन

आदर्श समाज सम्वाददाता
माघ ४, २०७६
khagendra 3

विजय नेपाल – पोखरा, ३ माघ । विश्वमै होचो व्यक्तिको विश्वकीर्तिमानी कायम गरेका बागलुङका खगेन्द्र थापामगरको २७ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उनलाई बिहीबार मणिपाल शिक्षण अस्पताल पोखरामा भर्ना गरिएकोमा उपचारक्रममा उनको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको खगेन्द्र थापामगर प्रतिष्ठानका सदस्य दीननाथ बरालले बताए ।खगेन्द्रमा यसअघि स्वासप्रश्वास, हेमोग्लोविनको कमी, ह्वाइट ब्लड सेल बढी हुने लगायत समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

बागलुङ धुल्लुबासकोट–६ उर्लेनीमा बाबु रुपबहादुर थापामगर र आमा धनमाया थापामगरको जेठो सन्तानको रुपमा २०४९ साल असोज २८ मा जन्मिएका खगेन्द्रले आफ्नो जन्मदिनमा २०६७ सालमा विश्वकै होचो व्यक्तिको रुपमा गिनिज बुक अफ दी वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल भएका थिए । १८ वर्षको छँदा २०६७ साल असोज २८ मा विश्वरेकर्ड कायम गर्दा उनको उचाइ मात्र ५७ सेन्टिमिटर थियो । गिनिज बुकमा नाम लेखाएपछि विश्वभर चम्मेका थिए । कोरिया लगायत अमेरिकाको भ्रमण गरेका थिए ।

जन्मिँदामात्र ६ सय ग्रामका उनी मृत्युअघि ५.५ किलोग्रामका थिए । २०६६ सालमा खगेन्द्र नागरिकता बुझ्ने बेलामा १६ वर्ष ९ महिनाका थिए । जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनको नागरिकता नंं १४०१८ हो । खगेन्द्रको विश्वरेकर्ड ८ महिना नबित्दै २२ इञ्च उचाइ भएका फिलिपिनी जुन्री वालपिङले खोसेका थिए ।

उनी पोखरामा सिर्जनाचोकमा बाबुआमासँग बस्दै आएका थिए । खगेन्द्रले २०६५ सालताका पोखरा–८, शिवालयचोकस्थित सरस्वती माविमा यूकेजीमा भर्ना भई अक्षर चिनेका थिए । होचो कद र कम तौलका खगेन्द्रलाई केही वर्षसम्म देशका विभिन्न स्थानमा हुने मेलामहोत्सवमा प्रदर्शनीको लागि समेत राखिने गरिएको थियो । प्रदर्शनीबाट संकलित रकम उनको भरणपोषणमा खर्चिदैआएको थियो ।उनलाई पहिलो पटक देख्नेहरु छक्क पर्थे । गाउँलेहरु समेत उनलाई भगवान्को अवतार रुपमा मान्दथे ।

“छोरा जन्माउँदा अन्य सन्तानजस्तै गरी सामान्य तरिकाले जन्माएकी हुँ”, आमा धनमाया अझै सम्झिन्छिन्,–“तर खगेन्द्र जन्ममै सानो भएकोले उनलाई हत्केलामा राखेर तेल लगाएको सम्झना छ ।” अण्डाकारमा जन्मेका खगेन्द्र जन्मेको ३ दिनसम्म दूधसमेत चुस्न नसकेपछि थोपा–थोपा गरी दुध खुवाइएको उनी बताउँछिन् । आर्थिकस्थित कमजोर रहेकोले खगेन्द्रले सानो छँदा राम्रो स्याहार सुसारसमेत पाउन सकेनन् । खगेन्द्रका बाबु आमा ज्यालादारीमा तथा घरको काममा जानुपर्ने भएकोले उनकी हजुरआमा पवित्राले खगेन्द्रको स्याहारसुसार गरिन् ।

बाग्लुङ सदरमुकामदेखि ८ घण्टाको पैदल हिडेर पुगिने धुल्लुवासकोटमा बालापन बिताएका खगेन्द्र माटो, ढु्ङगाका भाँडाकुटी बनाएर खेल्ने, टीका लगाउने, पूजा गर्न मन पराउने, बल खेल्ने गर्ने गरेको परिवारजन बताउँछन् । ८ वर्षको उमेरमा मात्र हिड्न थालेका उनको उचाइ बढ्ने क्रम ११ वर्षकै उमेरमा रोकिन थालेको थियो । खगेन्द्र साहै्र सानो भएकोले अन्य केटाकेटीले खेलौनारुपमा खेलाउने गरेकोले पनि १४ वर्षसम्म रहँदा उनको पठनपाठन अगाडि बढ्न नसकेको बाबु रुपबहादुको गुनासो थियो ।

पछि पोखरामा मीनबहादुर रानाको मनमा खगेन्द्र पस्न सके । उनको नाममा २०६३ सालमा खगेन्द्र थापामगर प्रतिष्ठान नै गठन गरिएको थियो । मीनबहादुरको पहलमा पोखरा झरेको भोलिपल्ट पृथ्वीचोकस्थित पोखरा बिजनेस कम्प्लेसको सानो परिसरमा खगेन्द्रको सहयोगार्थ पहिलोपटक उनलाई सार्वजनिक गरियो । सानो मानिसलाई प्रदर्शनीमा राखिएपछि कास्कीसहित छिमेकी जिल्लाबाट हेर्न आउनेहरुको लर्को लागेको थियो ।

पोखराबाट तत्कालीन प्रकाशित सञ्चार दर्पण साप्ताहिकले उनी पोखरा आउने जानकारीसहित मुख्य समाचार प्रकाशित गरेपछि उनी एकाएक सबैको मनमस्तिष्कमा बसेका हुन् । शुरुवातमा सो प्रदर्शनी खगेन्द्र थापामगर उद्धार समितिको नामबाट गरिएको थियो । त्यसपछि यसलाई संशोधन गरी खगेन्द्र थापा मगर प्रतिष्ठानको नामबाट २०६३ मा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत् दर्ता गरिएको प्रतिष्ठान अध्यक्ष मीनबहादुर रानाले बताए । खगेन्द्रको परिवारमा बाबुआमासहित भाइ महेश छन् । यसैबीच, स्वर्गीय खगेन्द्र थापामगरको शनिबार पोखराको रामघाटमा अन्त्येष्टि गरिने भएको छ । बिहान ११ बजे मणिपाल शिक्षण अस्पतालबाट शवयात्रा शुरु भइ नदीपुर, महेन्द्रपुल, नयाँबजारहुँदै सेती किनार रामघाट पुग्ने कार्यक्रम छ ।

गण्डकी सरकारको दुःख व्यक्त

गण्डकी प्रदेश सरकारले खगेन्द्रको निधनप्रति दुःख व्यक्त गरेको छ । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले शुक्रबार विज्ञप्ति जारी गर्दै विश्वकै होचा व्यक्तिका रुपमा विश्वकीर्तिमान कायम गरेका खगेन्द्रको निधनको खबरले अत्यन्त दुःखी बनाएको र यस दुःखद क्षणमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवार एवंं आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।‘विश्वकीर्तिमान कायम गरेर गण्डकी प्रदेशको मात्र नभै, सिङ्गो राष्ट्रको नाम विश्वका सामु चिनाउन सफल खगेन्द्र थापा मगरप्रति यस दुःखको क्षणमा गण्डकी प्रदेश सरकारको तर्फबाट उच्च सम्मान समेत प्रकट गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width