दमौलीमा ब्यास नगर अल्ट्रा म्याराथनको तयारी

अञ्जनराज न्यौपाने
माघ २, २०७६
Vyas Nagar Ultra Marathon

तनहुँ । तनहुँको व्यास नगरपालिकामा तेस्रो संस्करणको व्यास नगर अल्ट्रा म्याराथनको तयारी शुरु गरिएको छ ।

व्यास नगरपालिका–५, मानहुँकोटबाट उक्त नगरपालिकाको वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको अल्ट्रा म्याराथन हुन लागेको हो । मानहुँकोटबाट शुरु हुने म्याराथन व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमीको दुरी रहेको छ ।

नगरपालिकाले मानहुँकोट र पुलिमराङलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित अल्ट्रा म्याराथन गर्दै आएको हो । म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैचे, चापाघाट, अनसन चौतारी, सफासडक, भोर्लेटारचोक, बैरेनी, कुमालटारी, दुम्सी खहरे, कलेस्ती, पाथ्रा, सत्रसय, कालिकामार्ग, बानियाँ डिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती, बाहुन पोखरा, गाडापानी हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

अल्ट्रा म्याराथनमा प्रथम हुनेले ८१ हजार ७६ रुपैयाँ, दोस्रो हुनेले ६१ हजार ७६ रुपैयाँ, तेस्रो हुनेले ५१ हजार ७६ रुपैयाँ र शान्त्वना हुने पाँच जनाले जनही १६ हजार ७६ रुपैयाँ पाउने अल्ट्रा म्याराथनका संयोजक एवं व्यास ९ का वडाअध्यक्ष सुरेश थापाले बताए ।

पुरस्कार रकम कर बाहेकको हुनेछ । पुरस्कारमा लाग्ने कर नगरपालिका संयमले नै व्यहोर्नै कार्यालयले जनाएको छ । उक्त म्याराथन प्रतियोगिता संचालनका लागि १३ लाख रुपैया खर्च लाग्ने नगरपालिकाको अनुमान छ ।

व्यास नगरपालिकाले नेपालका ख्यातीप्राप्त धावकहरुलाई समान म्याराथनमा आमन्त्रण गर्ने बताएको छ । नगरपालिकाले ख्यातीप्राप्त धावक बैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई गतवर्ष झै यसपटक पनि कार्यक्रममा आमन्त्रण गर्ने बताएको छ ।

खेलकुदको माध्यमबाट मानहुँकोट र पुलिमराङ जस्ता प्रसिद्ध स्थानहरूमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तेस्रोपटक हुन लागेको प्रतियोगितामा सहभागीताका लागि नगरपालिकाले सम्बद्ध सरोकारवाला संघसस्था, विभिन्न राजनैनिक दलका प्रतिनिधि र सरकारी कार्यालयका प्रतिनिधिहरुलाई समेत जानकारी गराएको छ ।

प्रतियोगितामा सहभागी हुने माघ १४ गतेसम्म नाम दर्ता गर्न अनलाइन र नगरपालिकामा व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । सहिद दिवसको सन्दर्भमा आयोजना हुने म्याराथनले सहिदहरुको सम्मान र खेलकुदमार्फत व्यास नगरपालिकालाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउन सकिने नगरपालिकाका उपप्रमुख मिरा जोशीले जानकारी दिइन् ।

उनका अनुसार नेपाल सरकारले लिएको नेपाल भ्रमण वर्ष २०२० को लागि समेत उक्त प्रतियोगिताले सहयोग पु¥याउने उनले बताइन् । ‘धावन क्षेत्रका व्यक्ति अत्यन्तै उत्साहित भएका र म्याराथनले व्यास नगरपालिकाको गरिमा बढाएको महसुस गरेका छौ,’ उपप्रमुख जोशीले भनिन्, ‘मानहुँकोट र पुलिमराङका स्थानियबासी समेत म्याराथनले उत्साहित छन् ।’

धावन क्षेत्रका स्थानीयले अल्ट्रा म्याराथनको प्रशंसा गरेको वताइन् । म्याराथनले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने र नगरपालिकाको गौरवसँग जोडिएको हुँदा म्याराथनले निरन्तरता पाउने जोशीको भनाई छ ।

पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा आजभोली दैनिक ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पर्यटकीय गाउँ मानहुँकोट र शहिद गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको वताए ।

Related News

सम्बन्धित समाचार

hero news full width