बेँसीशहरका घरघरमा भाचोकखोलाको पानी

रासस
माघ २, २०७६
water-tanker-in-Beni-Bazaar-of-Myagdi

लमजुङ, २ माघ । बेँसीशहर नगरपालिकाका उपभोक्ताका घरघरमा वडा नं १० बाझखेतस्थित भाचोकखोलाको पानी पुगेको छ । नेपाल सरकार र बेँसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयुक्त लगानीमा बेँसीशहर खानेपानी सहलगानी आयोजनामार्फत भाचोकखोलाको पानी विहीवारबाट बेँसीशहरका घरघरमा पुगेको हो ।

बेँसीशहरमा यसअघि उपलब्ध भइरहेको पानी पर्याप्त नभएपछि भाचोकखेलाको पानी चण्डिाडाँडामा निर्माण भएको ८ लाख ३० हजार लिटरको पानी जम्मा गर्ने मूल ट्याङ्कीमा ल्याएर त्यहाँबाट वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताउनभुयो । उपभोक्ता समितिले २ हजार ६७० धारामा पानी वितरण गर्दै आएको छ । यसअघिको पानीले करिब ४० हजार जनसङ्ख्या लाभान्वित भएको र भाचोकखोलाको पानी वितरण भएपछि नगरका वडा नं ७, ८, ९ र १० गरी करिब ७० हजारभन्दा बढी नागरिक लाभान्वित भएका समितिले जनाएको छ ।

यस आयोजनाबाट प्रति सेकेन्ड २५ लिटर पानी आएको छ । यसअघि पानीको समस्या हुँदै आए पनि यस आयोजनाबाट पानी वितरण भएकाले आगामी २० वर्षसम्म बेँसीशहरवासीमा पानीको समस्या नहुने उपभोक्ता समितिका अध्यक्ष प्रधानको भनाइ छ । बेँसीशहरमा पहिलोपटक २०५० सालबाट खानेपानी वितरण गर्न शुरु गरिएको थियो । त्यसयता ठूलोपँधेरोलगायतबाट खानेपानी वितरण भइरहे पनि पर्याप्त नभएपछि यस आयोजनाको पानी वितरणले नगरवासीलाई ठूलो सहयोग पुगेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।

खानेपानी आयोजना बेँसीशहरबाट भाचोकखोला उखुवारीसम्मको दूरी छ किलोमिटर छ । हाल आयोजनाको रकिङ फिल्टर निर्माण, टेडिमेन्टेसन, पाँच लाख १५ हजार लिटरको पानी ट्याङ्की, तीन लाख लिटरको पानी ट्याङ्की र एक लाखको पानी ट्याङ्की निर्माण गरेर मूल ट्याङ्कीमा सबै पानी जम्मा गरेर पानी वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष प्रधानको भनाइ छ ।

यस आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी हुने गरी रु २८ करोड ८३ लाख लागतमा निर्माण सम्पन्न भएको बताइएको छ । खानेपानी आयोजनाको निर्माण ठेक्का पाएको महादेव खिम्ति पराजुली जेभीले ०७४ साउनबाट शुरु गरिएको आयोजना २०७६ को असार मसान्तमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो तर निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनः छ महिनाको थप गरिएको म्याद गत पुस १८ गतेसम्मे थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width