बाह्रसिंगा र कृष्णसार हेर्न शुक्लाफाँट जाऔं [फोटो एस्से]

Suraj Hazare Dahal
माघ १, २०७६
cover

सुरज हजारे दाहाल/ महेन्द्रनगर :  सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँट राष्ट्रिय निकुञ्ज शुरुमा शाही शिकार आरक्षको रुपमा विसं २०२६ मा स्थापना भएको थियो । त्यसपछि यसलाई विसं २०३३ मा शिकार आरक्षबाट हटाएर शाही वन्यजन्तु आरक्षको रुपमा मान्यता दिइएको थियो । यसलाई २०७३ सालमा यसलाई वन्यजन्तु आरक्ष केन्द्रबाट राष्ट्रिय निकुञ्जमा रुपान्तरण गरिएको हो । निकुञ्ज घोषणा गरिएपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या बढेको छ ।

गत आर्थिक वर्षमा ४७६० पर्यटकहरु आएका थिए । शुक्लाफाँट निकुञ्जको कुल क्षेत्रफल ३०५ वर्ग किमी रहेको छ । महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको हुनाले यहाँ फाँट निमार्ण भएका छन् । यस निकुञ्जको ३० प्रतिशत भाग घाँसे मैदानले आगटेको छ भने ५२ प्रतिशत भाग सालको वनले, १६ प्रतिशत नदीतटीय वन र २ प्रतिशत भाग मिश्रित वनले ढाकेको छ । यि सबै क्षेत्रको दक्षिणमा चुरे पहाड लम्बवत उभिएको छ ।


निकुञ्जको प्रचारप्रसार बढ्नु र वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएपछि पर्यटकहरु यहाँ ओइरिन थालेका छन् । नेपालमा मात्र नभई यो निकुञ्ज पुरै विश्वभर बाह्रासिंगाको लागि निकै प्रसिद्ध छ । विश्वमै सबैभन्दा धेरै बाह्रसिंगाहरु एउटै झुण्डमा नेपालकै यहि निकुञ्जमा रहेका छन् । बाह्रसिङ्गाको ठूलो झुण्ड लहरैसँग चरेको निकै आकर्षक दृश्य देखिने भएकोले चैत बैशाखतिर आन्तरिक पर्यटकहरु यहाँ ओइरिन्छन् । जनावरको प्यास मेटाउन आउँदो गर्मी मौसम भित्रमा निर्माण सम्पन्न हुने गरि ६० वटा कृत्रिम तालको निर्माण प्रारम्भ गरिएको छ । तालको लागि डेढ करोड रकम समेत छुट्याइएको छ ।

पछिल्लो गणना अनुसार यहाँ २१७० बाह्रासिंगा रहेका छन् । बाह्रसिंगाले काँस जातको घाँस खाने गर्छन् र यो घाँसमा सेतो भुँवा फुल्दा मैदान मनमोहक देखिन्छ । बाह्रसिंगाको अलवा निकुञ्जको हिरापुर फाँटमा ७ वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको संख्या करिब ७० पुगेको छ । विसं २०६९ मा नेपालगञ्जबाट ८ भाले र १४ पोथी तथा ललितपुरको जाउलाखेल चिडियाखानाबाट ३ भाले, २ पोथी र १ बच्चा कृष्णसार हिरापुर फाँटमा लगिएको थियो ।

यस्तै यहाँ ३० वटा जंगली हात्तीहरु रहेका छन् । बाघ भने १७ वटा रहेका छन् । शुक्लाफाँट थोरै क्षेत्रफलमा धेरै बाघ रहेको निकुञ्ज हो । उपोष्ण जलवायु तथा मलिलो माटो भएकोले निकुञ्ज सालको घना जंगलले भरिएको छ । सालको अलवा यहाँ सिसौ र खयरको जंगल पनि रहेको छ । यस्तै खयरको जंगलमा खयर मजुर सबैभन्दा धेरै संख्यामा यहि निकुञ्जमा रहेका छन् । विशेष गरि बाह्रासिंगा रहेको क्षेत्रमा ४ मिटर अग्ला घाँसे मैदानहरु पनि प्रशस्तै रहेका छन् । शुक्लाफाँटमा रहेको घाँसे मैदान नै नेपालको सबैभन्दा ठूलो घाँसे मैदान हो जसले निकुञ्जको ८० प्रतिशत भूभाग ओगटेको छ ।


बाघ र बाह्र सिंगाको बाहेका यहाँ अन्य स्तनधारी जनावरहरु ः चितुवा, जरायो, चित्तल, लगुना, सालक, चरी बाघ, बँदेल, पाइन्छन् । रानी तालमा मगर गोही पनि पाइन्छन् । अन्य रैथाने घर्सने जीवहरुमा घडियाल गोही र एशियन पाइथन पनि पाइन्छ् । दुई वर्ष अगाडि चितवनका ५ गैंडाहरु यहाँ स्थान्तरण गरिएको थियो । यस्तै रैथाने र स्थानीय चराहरुको संख्या ४२४ रहेको छ । यहाँ राज धनेश, सारस, सिमतित्रा तथा दुर्लभ भुँडीफोर जस्ता पंक्षीहरु पनि पाइन्छन् ।

निकुञ्जमा हाँसका १५ प्रजाति, गरुडको ५ प्रजाति, बकुल्लाको १२ प्रजाति, जलेवाको २ प्रजाती, सारसको एउटा प्रजाती, हुटिट्याउँका ४ प्रजाति रहेका छन् । गत साल गरिएको जलपंक्षीको गणना अनुसार ५८ प्रजातिका ३६४१ जलपंक्षी फेला परेका हुन् । शुरुमा वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले शुक्लाफाँट आरक्ष निर्माण गरिएकोमा त्यसपछि भने वनस्पति, वन्यजन्तुको संरक्षण गर्दै त्यस वरपरका समुदायको आर्थिक अवस्था उकासनका साथै पर्या–पर्यटनको विकासको निम्ति निकुञ्जमा परिणत गरिएको थियो ।


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले नेपाल सरकारको संरक्षण कार्यक्रम आवाज रहित प्रविधिको प्रयोग गरेर जमिनमुनिबाट पानी तानेर ६ वटा कृत्रिम ताल निर्माण समेत गरिएको छ । पानी खोज्न जंगली जनावरहरु बस्तीमा नपसुन् भनेर ताल निमार्ण गरिएको हो ।

खर्च र बसाई :
पोखराबाट हरेक दिन १ः३० बजे महेन्द्रनगर जाने बस छुट्छ । उक्त बस भोलिपल्ट बिहान ८ बजेतिर महेन्द्रनगर बस पार्क पुग्छ । बस पार्कबाट अटो रिक्सा लिएर आधा घण्टामा शुक्लाफाँट निकुञ्जकै गेट पुगिन्छ । अटो रिक्सा निकुञ्ज भित्र रहेको शुक्लाफाँट जंगल कटेज पुग्छ । उक्त कटेजले नै पर्यटकलाई जीपमा निकुञ्ज घुमाउने जिम्मा पाएको छ । बिहानदेखि साँझसम्म जीपमा चढेर घना जंगलमा बाह्रासिंगाको बथान, बाघ तथा गैंडाहरु हेर्न सकिन्छ । ५ दिन यात्राको सबै खर्च रु २०००० लाग्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width