पोखरा महोत्सवमा भिडभाड

आदर्श समाज सम्वाददाता
माघ १, २०७६
Pokhara fest 3

रुपनारायण ढकाल- पोखरा, १ माघ । हजारौं सहभागी सांस्कृतिक झाँकी र र्याली विच पोखराको अमरसिंह चौरमा १० औं पोखरा महोत्सव मंगलबारबाट सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गरेका थिए । युनाइटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सव माघ १२ गते सम्म संचालन हुने छ ।

पोखरा रामबजार निवासी शताब्दी पुरुष १ सय १ वर्षीय क्याप्टेन कुल बहादुर गुरुङ र ९९ वर्षिया श्रीमाया गुरुङलाई सम्मान गरी महोत्सवको उद्घाटन गरिएको थियो । सो अवसरमा मुख्य मन्त्री गुरुङले पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१ र ३२ स्थित बेगनासताल र रुपातालको बीच डाँडामा रहेको सामुदायिक वनमा पोखरा जुलोजिकल पार्क निर्माण गर्ने योजनालाई साकार पार्न प्रदेश सरकारले सघाउने प्रतिबद्धता सुनाए । युनाइटेड क्लबले लामो समयदेखि त्यस्तो पार्क बनाउन पहल गर्दै आएको छ । त्यस्तो पार्क बनाउने अभियानमा प्रदेश सरकारको सपना जोडिएको भन्दै उनले त्यसलाई हौसला प्रदान गर्न आफु पोखरा महोत्सवको उद्घाटन समारोहमा सहभागी भएको पनि बताए ।

युनाइटेड क्लबद्वारा महोत्सवको आयोजना गरी रकम संकलन गर्दै हाल सम्म जुलोजिकल पार्क निर्माणको काम थालनी हुनु आफैमा सराहनीय काम भएको र अव क्लबको सपना पूरा गर्न प्रदेश सरकार लागी पर्ने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव राजेश गुरुङले पोखरा महोत्सव आयोजना गरी युनाईटेड क्लवले खेलकुद, शिक्षा, स्वास्थ्य संगै चिडियाखाना निर्माणमा काम गर्दै आएको सुनाए ।दुई सय ५६ स्टल रहेको महोत्सवमा लत्तकपडा, घरेलु प्रयोगका सामग्री, वाल उद्यान, नाचगानका कार्यक्रम, रेष्टुराँ र सूचना प्रविधि सम्बन्धी बस्तु र विषय समेटिएको आयोजक क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

सो अवसरमा वडा नम्बर १२ का अध्यक्ष राम बहादुर कार्कीले युनाईटेड क्लव आफ्नो वडामा रहेर विशुद्ध सामाजिक काम मार्फत् अग्रणी सामाजिक संस्थाको रुपमा चिनिन पुगेको बताए । अमरसिंह माविका अध्यक्ष तेजश्वी वरालले अमरसिंह चौरमा विगत दश वर्षदेखी पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लवले आफ्नो लक्ष्य र उद्देश्यलाई कहि कतै विचलन हुन नदिई आम जनसमुदायको मनमा बसेको भनाई राखे ।

कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए भने कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । महोत्सव अघि पोखराको रंगशाला गेट देखी महोत्सव स्थल सम्म झांकी तथा ¥यालीको आयोजना गरिएको थियो । १५ वटा झांकी र १ सय ६६ जटा र्याली सो अवसरमा सहभागी थिए । झांकी तर्फ राम बजार पुन समाज पोखरा प्रथम, डढुवा दुर्छा लम्जुङ तमु समाज द्वितीय, ताङतिङ दुधपोखरी तमु समाज तृतीय र बांझापाटन तमु समाज र ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरी र्यालीतर्फ पाेंचोको तमु समाज प्रथम, जुरे भुमे तप्रे तमु समाज बांझापाटन १३ द्वितिय र मान्द्रेढुंगा आमा समुह पोखरा १४ तृतीय स्थान र लक्ष्मीटोल आमा समुह पोखरा १५ र भद्रकाली दिदीबहिनी समुह पोखरा १२ ले सान्त्वना स्थान हासिल गरेका छन् । झांकी तथा र्यालीमा दुवै विधातर्फ प्रथम हुनेले नगद १५ हजार, द्वितीयले १० हजार र तृतियले ५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width