मगर संस्कार र संस्कृति हेर्न चिलाउने खर्क जाने कि ?

रासस
पौष २८, २०७६
welcome by magar

वासुदेव पौडेल -पोखरा, २८ पुस । पर्यटकीय नगरी पोखरा प्रकृति र संस्कृतिको वरदानयुक्त ठाउँ हो भन्दा कुनै अत्युक्ति नहोला । प्रकृतिका विभिन्न छटाले कुँदिएको पोखरा विविधतायुक्त संस्कृतिको पनि भण्डार हो । विभिन्न जातजाति भाषाभाषीको बसोबास रहेको पोखरा आसपासका गाउँमध्ये मगर जातिको बसोबास भएको ठाउँ हो पोखरा महानगरपालिका–२१ को चिलाउने खर्क । मगर समुदायका संस्कार तथा संस्कृति अध्ययन गर्न पाइने यो ठाउँलाई स्थानीय सक्रियतामा समुदायकै जीवन्त सङ्ग्रहालय बनाउने गरी पहल थालिएको छ ।

यहाँको संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्दै गाउँ पर्यटनको विकास गर्न गाउँ पर्यटन मञ्च (भिटोफ), गण्डकी प्रदेशको पहलमा दुई वर्षअघि घरवासको सम्भाव्यता अध्ययन गरिएको भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले बताए । “चिलाउने खर्कमा पोखरा नजीकैको मगर समुदायको बाहुल्य भएकाले उनीहरूको संस्कार र संस्कृतिलाई पर्यटन बजारसम्म पु¥याउने लक्ष्यका साथ घरवास कार्यक्रमको सम्भाव्यता अध्ययन गरिएको हो,” पहारीले बताए ।

मौलिकतायुक्त संस्कृतिमा सम्पन्न यहाँका स्थानीयवासीले सोरठी, ठाडो भाका, झ्याउरेलगायतका लोक सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तामा पनि पुस्तान्तरण गर्दै आएका छन् । पोखराको मुख्य बजारबाट करिब १२ किलोमिटर दक्षिणमा रहेको यो ठाउँबाट स्याङ्जा र तनहँुका धेरै भूभाग देख्न सकिन्छ । विविध सांस्कृतिक मौलिकता रहे पनि हालसम्म त्यसको प्रचारप्रसार गर्न नसकिएको चिलाउने खर्क सामुदायिक होमस्टेका अध्यक्ष मानबहादुर थापा मगरले जानकारी दिए । उनका अनुसार २२ वटा घरमा घरवास कार्यक्रम थालिएको छ ।

कूल ६५ घरधुरी रहेको यहाँ सञ्चालित घरवासमा पर्यटकले स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद लिन पाउँछन् । एक रात आएर बस्ने पर्यटकका लागि समितिले उनीहरूलाई खाए बसेबापत एक हजार रुपैयाँ लिन्छ । बेलुका गाउँमा पुगेका पर्यटकलाई स्थानीयवासीले न्यानो आतिथ्यतासहित शुरुमा मकै, भट्ट जस्ता स्थानीय उत्पादनका परिकारको नास्ता खुवाउने गर्दछन् । बेलुकाको खानासहित मगर जातिका विभिन्न सांस्कृतिक प्रस्तुतिबाट मनोरञ्जन लिँदै पर्यटक आराम गर्दछन् । बिहानको चिया, खाजा खाएर बिदावारी हुने व्यवस्था समितिले मिलाएको छ ।

मगर संस्कृतिका साथै गाउँमा रहेको जलदेवी मन्दिर र नारायण मन्दिर यहाँको धार्मिक पर्यटकीयस्थल हुन् । जलदेवी मन्दिरको स्थापना सम्बन्धमा झण्डै दुई सय वर्षअघिको शिलालेख रहेका कारण यसको अस्तित्व परापूर्वकालदेखि नै भएको चिलाउने मगर टोल विकास संस्थाका अध्यक्ष रुद्र थापा मगरले बताए । जलदेवीको मन्दिर रहेको अनौठो किंवदन्ती छ । परापूर्वकालमा स्याङ्जा, कास्की र आसपासका मानिस यही गाउँको बाटो भएर नून लिन बुटवलसम्म पुग्ने गर्दथे । नून बोक्ने ढाक्रेहरू यहाँ आएर रातको समयमा बास बस्दा बिरामी भएछन् । ज्योतिषीलाई देखाउँदा यहाँ जलदेवी रहेकी र उनको खोजी गरी पूजाआजा गर्नुपर्ने भनेछन् । ज्योतिषीको सल्लाहअनुसार खन्दा जलदेवीको शिला प्राप्त भएछ र त्यसै समयदेखि शीला स्थापना गरी जलदेवीको पूजाआजा गर्र्दै आइएको स्थानीय बुढापाका बताउँछन् ।

मन्दिरमा प्रत्येक चैते दशैँमा विशेष पूजाआजा हुने गरेको र अघिपछि विभिन्न समयमा मनोकामना पूरा हुने विश्वासका साथ कास्की र स्याङ्जालगायतका विभिन्न स्थानबाट भाकलसहित दर्शनार्थी आउने गरेको मगरले जानकारी दिए ।  नेपाल भ्रमण वर्ष २०२० का अवसरमा भिटोफ गण्डकी प्रदेशले चिलाउने खर्क जस्तै पर्यटनका सम्भावना बोकेका गाउँहरूलाई पर्यटन बजारसँग जोड्दै प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाउने मञ्चका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width