ए डिभिजन लिगमा मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

आदर्श समाज सम्वाददाता
पौष २८, २०७६
Machchhindra vs Jawalakhel, A Division League

पोखरा । सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले चौथो जित निकालेको छ ।

जितसँगै मच्छिन्द्र लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जाउलाखेल युथ क्लबलाई १–० ले हरायो ।

मच्छिन्द्रको जितमा विशाल राई नायक बने । विशाल राइले खेलको ३१ औं मिनेटमा गरेको एक मात्र गोलले नै मच्छिन्द्रलाई स्पष्ट ३ अंक दिलायो । जितसँगै मच्छिन्द्रले ६ खेलबाट १३ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको हो ।

स्टार खेलाडीले भरिएको मच्छिन्द्रविरुद्ध खेलको १० औँ मिनेटमा जाउलाखेलका हरि कठायतले उत्कृष्ट मौका खेर फाले । त्यसपछि, २३ औँ मिनेटमा फेरि हरि कठायतले पाएको निकै राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन् । ३० औँ मिनेटमा विशाल राईको फ्री–किकमा अभिशेक रिजालको प्रहारलाई जाउलाखेलका डिफेन्डरले बचाए ।

खेलको ४० औँ मिनेटमा रेजिन सुब्बाले खाली पोस्टमा गोल गर्न सकेनन् । ४२ औँ मिनेटमा रेजिनले नै गरेको गोललाई रेफ्रीले अफसाइड दिए । पहिलो हाफमा एक गोलले पछि परेको जाउलाखेलले ४८ औँ मिनेटमा बराबरी गर्ने सुन्दर मौकालाई खेर फाल्यो ।

जावलाखेलका कुबेर विष्टको फ्री–किकमा फोडी फोफानको हेडर पोष्ट नजिकैबाट बाहिरियो । जारी लिगमा जाउलाखेलले ६ खेलबाट ९ अंक बटुलेको छ । यस सिजनको लिगमा जाउलाखेलको यो पहिलो हार हो ।

मनाङ र शेर्पाको बराबरी

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार मनाङ मस्र्याङ्दी क्लब हिमालयन शेर्पाले बराबरी खेलेको छ ।

साविक विजेता मनाङले हिमालयन शेर्पासँग गोलरहित बराबरी खेल्दै समान १/१ को अंक बाँडेको हो । हिमालयन शेर्पासँगको बराबरीसँगै मनाङले लिगको शीर्ष स्थानमा फर्कने अवसर गुमाएको छ ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङका ३ खेलाडी प्रतिबन्धमा पर्नुको प्रभाव राम्रैसँग देखियो । टिमका मुख्य ३ खेलाडी एन्फाको प्रतिबन्धमा परेका कारण बेन्चमा बस्ने खेलाडीलाई मौका दिएको मनाङले पूरै खेलमा डरलाग्दो आक्रमण गर्न सकेन ।

मनाङका सुरज विक ७२ औँ मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बाँकी समय मनाङको १० खेलाडीले खेलेको थियो । १० खेलाडीमाथि शेर्पा पनि हावी हुन नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

यो बराबरीपछि मनाङ ६ खेलबाट १२ अंकका साथ लिगको दोस्रो स्थानमा छ । आर्मीको पनि समान १२ अंक भएपनि गोल अन्तरका आधारमा तेस्रो स्थानमा झरेको छ । शेर्पा लिगमा अझै जितविहीन बनेको छ । हिमालयन शेर्पाले ६ खेलबाट २ हार र ४ बराबरी खेलेको छ । जारी लिगमा मनाङको यो तेस्रो बराबरी हो ।

Related News

सम्बन्धित समाचार

hero news full width