मैदानको झगडाले मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित

रासस
पौष २५, २०७६
IMG_8419_1574838590

काठमाडौँ,२५ पुस । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ ।

एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच/पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । यस्तै जगजित र अशोकलाई जनही रु १० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसैगरी आआफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको एन्फाको वेबसाइटमा उल्लेख छ । डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए । खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रङ्गशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए । यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नुपरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width