भारतीय सवारी निशेध नगरेको स्पष्टोक्ती

आदर्श समाज सम्वाददाता
पौष २४, २०७६
Indian vehicles

रुपनारायण ढकाल : पोखरा, २३ पुस । यही पुस ६ गते पोखरा पर्यटन परिषद्ले जिल्ला प्रशासन कार्यालय कास्कीलाई एउटा पत्र लेख्यो । पत्रमा भनिएको थियो– ट्राफिक व्यवस्थापनलाई सहज बनाउन, दुर्घटना कम गर्न र पर्यटकको बसाई अवधि लम्ब्याउन सार्वजनिक भारतीय पर्यटक सवारीलाई पोखराका साँघुरा पर्यटकीय गन्तव्यहरुमा जान रोकियोस् ।

परिषद्को यही आग्रह र सुझावलाई जिल्ला प्रशासन कार्यालय कास्कीले सदर गर्दै सोही दिन जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई पत्र लेखी आबश्यक सहयोग र समन्वयको लागि आदेश दियो ।

परिषद्को सुझाव र प्रशासन कार्यालय कास्कीको आग्रहलाई कतिपय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले पोखरामा भारतीय सवारी निषेध भन्ने शीर्षक राखी समाचार सम्प्रेषण गर्दा यहाँको पर्यटनमा असर पुगेको गुनासो परिषद्ले गरेको छ ।

परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले बुधबार पोखरामा आयोजित अन्तरक्रियामा आफूहरुले भारतीय सार्वजनिक सवारीलाई पोखरा प्रवेशमा रोक नलगाएको स्पष्ट पारे । उनले कतिपय भारतीय सार्वजनिक सवारी र नेपाली ठूला सवारी साँघुरो बाटो भएका पर्यटकीय गन्तव्यमा पुग्दा ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त वातावरण छाएको भन्दै यातायातमा सहजता र पर्यटककै सुरक्षाका लागि त्यस्तो आग्रह गरिएको स्पष्ट पारे । भारतीय सार्वजनिक सवारीले सीमित पर्यटकीय गन्तव्यमा मात्र पर्यटक पुर्याउँदा पर्यटकको बसाई अवधि समेत घट्न पुगेको उनले दोहो-याए । धेरै भन्दा धेरै पर्यटकीय गन्तव्यमा नेपालकै साना सवारीमा चढाएर पर्यटकलाई पुर्याउँदा बसाई अवधि बढ्ने उनले बताए ।

परिषद्ले प्रशासनलाई लेखेको पत्रमा भारतीय सार्वजनिक सवारीले केही पर्यटकीय क्षेत्रको मात्र भ्रमण गराउने गर्दा अन्य क्षेत्र ओझेलमा परेको तर्क गरिएको थियो । जथाभावी भारतीय सार्वजनिक सवारी चल्दा दुर्घटना र ट्राफिक जाम समेत बढ्ने गरेको काउन्सिलले जनाएको छ । उल्लेखित व्यवस्था भारतीय निजी सवारीको हकमा नभई सार्वजनिक सवारीका लागि मात्र गर्न माग गरिएको हो ।

पोखरामा ३३ भन्दा बढी पर्यटकीय गन्तव्य भए पनि भारतीय सार्वजनिक सवारीले डेभीज फल, फेवा ताल, गुप्तेश्वर गुफा र विन्ध्यवासिनी मन्दिरको मात्र भ्रमण गराउने गरेको आरोप पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार एवं होटल व्यवसायी बच्चुराम तिवारीले लगाए । यस्तो अवस्थामा नेपाली साना सवारीमा पर्यटकलाई यात्रा गराउँदै सबै गन्तव्यको भ्रमण गराउन सके बसाई अवधि लम्बिने तर्क उनको पनि छ । यस्तो विषयलाई कतिपय मिडियामा इन्डियन टुरिष्ट्स आर नट अलाउड इन पोखरा भनेर भ्रमपूर्ण रिपोर्टिङ गरिएको आरोप उनले लगाए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका पूर्व अध्यक्ष सोम थापाले संसार भरि ठूला सवारीमा कुनै पनि शहरमा गएपछि ती पार्किङ गरी स्थानीय सवारीमा नै घुम्ने चलन हुने गरेको बताए ।

चलिए पोखरा भनेर भारतमा गएर भारतीय माझ अभियान चलाउने र अहिले आएर भारतीय सवारी निषेध गर्ने भन्ने आसयका रिपोर्टिङ कतिपय देश विदेशका मिडियामा देखिएको थियो । सरकारले नेपाल भ्रमण बर्ष २०२० समेत मनाई रहँदा यसप्रकारको समाचारले व्यवसायमा नकारात्मक असर परेको गुनासो व्यवसायीको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, परिषद्का पूर्व अध्यक्ष केदारनाथ शर्मा, टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरि भुजेल, पर्यटन यातायात व्यवसायी बोवरजंग गुरुङ, काउन्सिलका उपाध्यक्ष गोपि बहादुर भट्टराई लगायतले भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width