अमेरिकी सैन्य आधार शिविरमा इरानद्धारा क्षेप्यास्त्र आक्रमण

रासस
पौष २३, २०७६
thumbs_b_c_2a97f22b1d564757fa997aa28beaec2e

बग्दाद, २३ पुस । इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले बुधबार क्षेप्यास्त्र आक्रमण गरेको छ ।

अमेरिकी र इरानी दुवै तर्फका अधिकारीहरुले आक्रमणको घटना भएको पुष्टि गर्दै थप विवरण भने आउन बाँकी रहेको जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।

“इरानी पक्षले इराकस्थीत कम्तीमा पनि दुई ओटा अमेरिकी सैन्य आधार शिविर र गठबन्धनका कर्मचारी रहेको ठाउँलाई लक्षित गरी आक्रमण गरेको प्रष्ट छ,” पेन्टागनले भनेको छ । पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरिएको हो ।

घटनामा परी मानवीय क्षति भएको वा नभएको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले घटनास्थलमा उच्च सतर्कता अपनाइएको जनाएको छ । अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको हो ।

गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानको सरकारी टेलिभिजनले जनाएको छ । इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ ।

इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ भने अमेरिकाले पनि इरानले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । अमेरिकी रक्षा अधिकारीहरूले आक्रमण भएको क्षेत्रमा रहेका अमेरिकी सैनिक र गठबन्धनका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन् । त्यसका लागि राष्ट्रपति ट्रम्पले सुरक्षा विज्ञहरुसँग परामर्श गरिरहेको भएको जनाइएको छ । इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरुले बताउने गरेका छन् । सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले आक्रमण गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width