भगवान् पुकार्दै हिमालपारिको यात्रा

rss रासस
पौष २३, २०७६

  • लमजुङको खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, धारापानी, तिमाङ हुँदै सदरमुकाम चामेबजार, भ्राताङ, पिसाङ, माथिल्लो मनाङ र खाङसारसम्म जिप चल्छ ।
  • माथि हेर्दा अक्करे भीर तलतिर जिउ नै सिरिंग हुने खोँच र मस्याङ्दी नदी, विश्वविख्यात अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मनाङमा वर्षेनी हजारौँ पर्यटक ओहोर–दोहोर गर्छन् ।
  • १८ वर्ष लाएर निर्माण भएको बेँसीसहर–चामे सडक राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि स्तरोन्नति भएको छैन । जसका कारण मनाङको यात्रा भगवान् भरोसामा चल्दै आएको छ ।

जनक श्रेष्ठ – लमजुङ, २३ पुस । उतिबेला अहिले जस्तो डोजर र स्काभेटर चलाइएको हैन, घन, छिनो र साबेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गड्गडाउँदै बगिरहेको निलो मस्र्याङ्दी नदी । माथि उस्तै अजंगको चट्टानी पहरो । यो अवस्था हिमालपारिको जिल्ला मनाङ जाने सडकको हो ।

अग्ला पहाड फोडेर बनाएको साँघुरो सडक । माथि हेर्दा अक्करे भीर तलतिर जिउ नै सिरिंग हुने खोँच । त्यहीँमाथि ठाउँठाउँमा भत्किएर जोखिमपूर्ण बनेको सडक । त्यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु भगवान्को नाम पुकार्दै यात्रा गर्न बाध्य छन् ।

विश्वविख्यात अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मनाङमा वर्षेनी हजारौँ पर्यटक ओहोर–दोहोर गर्छन् । तर, उनीहरूको यो यात्रा भगवान् भरोसामा चलिरहेको छ । मनाङ सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप ०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौलीले निर्माण सुरु गरेको थियो । योजना कार्यान्वयन भएसँगै माओवादी सशस्त्र द्वन्द्व सुरु भयो । यससँगै अन्य कारणले अवरुद्ध भएको सडक निर्माणको जिम्मा तत्कालीन शाही नेपाली सेनालाई दिइयो । ०५७ सालमा सेनाले सडक निर्माणको जिम्मा पाए पनि काम भने ०६९ मा मात्रै सकियो ।

निर्माण सुरु भएको १८ वर्षपछि मात्रै बेँसीसहर–चामे सडकखण्ड निर्माण पूरा भयो र मोटर चढेर मनाङ पुग्ने स्थानीयवासीको सपना पूरा भयो । सेनाले बादरसमेत लड्लाजस्तो जोखिमपूर्ण भीरमा ज्यानको बाजी राखेर सडक निमार्ण गर्न सफल भयो । बाटो निर्माणकै क्रममा केही सेनाको मृत्युसमेत हुन पुग्यो । केही घाईते भए । त्यही सडकमा भगवान् पुकार्दै ज्यानको बाजी राखेर हिमालपारिको यात्रा गर्ने गर्दछन् यात्रु तथा पर्यटक ।

ट्रयाक खुल्यो, तर स्तरोन्नति भएन

१८ वर्ष लाएर निर्माण भएको बेँसीसहर–चामे सडक राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि स्तरोन्नति भएको छैन । जसका कारण मनाङको यात्रा भगवान् भरोसामा चल्दै आएको छ । सडक डिभिजन कार्यालय दमौलीको जिम्मामा परेको यो सडकखण्डमा क्रमागत रूपमा रकम विनियोजन भइरहेको छ । तर, सम्झौताबमोजिम काम नहुने र सडक डिभिजन कार्यालयले पनि चासो नपु¥याउँदा सडकमा सुधार हुन सकेको छैन । “सडकको स्तरोन्नति हुन नसक्दा मनाङका सम्भावना ओझेलमा परिरहेका छन”, मनाङ–चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले भने । “चाँडै नै सडकको स्तरोन्नतिसँगै मनाङ विकासमा छलाङ मार्छ ।”


लमजुङको खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, धारापानी, तिमाङ हुँदै सदरमुकाम चामेबजार, भ्राताङ, पिसाङ, माथिल्लो मनाङ र खाङसारसम्म जिप चल्छ । बेँसीसहर–चामे ६५ किलोमिटर, चामे–माथिल्लो मनाङ ३५ किलोमिटर र माथिल्लो मनाङदेखि खाङसारसम्म करिब ७ किलोमिटर सडकखण्ड गरी करिब एक सय सात किलोमिटर यात्रा निकै जोखिमपूर्ण रहेको स्थानीयवासी बताउँछन् । व्यक्तिगत कामकाज, घुमफिरदेखि व्यापार–व्यवसाय गर्ने, सरकारी तथा गैरसरकारी निकाय र विद्यालयका शिक्षक, कर्मचारी यो सडकका नियमित यात्रु हुन् । अधिकांश सडकखण्ड चट्टाने पहरो काटेर बनाइएको छ । अग्लो भीर, साना मोड, ग्रेडिङ नमिलेका कारण थप जोखिमपूर्ण रहेको स्थानीयवासीको भनाइ छ ।

भिरैभिर र मस्र्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा बँेसीशहर–चामे सडकमा ज्यानको बाजी राख्दै भगवान् भरोसामा हिमालपारिको यात्रा गर्न बाध्य हुँदै आएका छन् यात्रु तथा पर्यटक । सडकको स्तरोन्नति हुन नसक्दा भने मनाङवासी निकै निराश बनेका छन् । उनीहरु मात्रै नभई लमजुङवासी, यात्रु तथा पर्यटकसमेत चिन्तित भएका छन् । सबैको एउटै चाहना छ, सडक गुणस्तरीय होस । सडक दुर्घटना जोखिम न्यून रहोस् ।

नेपाली सेनाले २०६९ सालमा सडक निर्माण कार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । नेपाली सेना कार्यदल गणका इञ्जिनीयर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण भएको हो । बेँसीशहर–चामे सडक पार गर्न झण्डै छ घण्टा समय लाग्छ । ठूला ठूला चट्टान ढुङ्गाको बीचै बीच । मस्र्याङ्दी नदीबाट ३०० देखि एक हजार फिट माथिमाथि हुँदै सवारीसाधन चल्छ । यात्रा नसकिञ्जेलसम्मै यात्रु डराइडराइ मनाङ पुग्ने गर्दछन् । मनाङबाट आउने यात्रु तथा पर्यटकको मन पनि उस्तै हुने गर्दछन् । उनीहरु यात्रा नसकिञ्जेल भगवान्लाई पुकार गर्ने गर्दछन् ।

ठूला सवारी चलाउन मुस्किल–सडक डिभिजन

डिभिजन सडक कार्यालय दमौलीका अनुसार लमजुङतर्फका ताघ्रिङ, स्याँगे, अर्खले, च्याम्चे, जगतखण्ड र मनाङतर्फका तालबजार आसपास, म्यार्दी भीर, तिमाङ छहरा, तिमाङ भीर, भ्राताङ–स्वर्गद्वारी खण्ड उच्च जोखिमयुक्त छन् । ती सडकखण्डका अप्ठ्यारा केही ठाउँमा ढलान गरिएको र कतिपय स्थानमा ढुंगा ‘सोलिङ’ गरेर केही सहज बनाएको छ । ठूला सवारी गुडाउन असहज हुँदा जिप नै चल्ने गर्छन् ।

हाम्रो सुझाव