राष्ट्रियसभा चुनाव : २ पदमा ५ जनाको उम्मेदवारी

आदर्श समाज सम्वाददाता
पौष २१, २०७६
cover

माघ ९ गते हुने राष्ट्रिय सभा चुनावका लागि गण्डकी प्रदेशबाट ५ जनाले उम्मेदवारी दिएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दुवै पदमा मनोनयन दर्ता गराए भने राष्ट्रिय जनमोर्चाले एउटा पदमा मात्रै उम्मेद्वारी दिएको छ। माघ ९ गते गण्डकीबाट अन्य र महिलातर्फको एउटा सदस्य रिक्त हुँदैछ। त्यसैका लागि चुनाव हुन लागेको हो। नेकपाले अन्यका लागि पार्टी प्रवक्ता समेत रहेका गोरखाका नारायणकाजी श्रेष्ठलाई टिकट दिएको छ भने महिलामा तनहूँकी भगवती न्यौपानेले उम्मेदवारी दिएकी हुन्। श्रेष्ठलाई प्रदेशमन्त्री रामशरण बस्नेतले प्रश्ताव र सांसद दीलमाया रोकाले समर्थन गरे भने न्यौपानेलाई प्रदेश मन्त्री किरण गुरुङले प्रश्ताव र पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले समर्थन गरिन्।

काँग्रेसबाट अन्यमा स्याङजाका सूर्यप्रसाद रेग्मी र महिलातर्फ म्याग्दीकी बिमला गौचनले उम्मेदवारी दिए। रेग्मीलाई प्रदेश सांसद भागवत प्रकाश मल्लले प्रश्ताव र भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले समर्थन गरे भने गौचनलाई जलजला गाउँपालिका उपाध्यक्ष सीमा गर्वुजाले प्रश्ताव र भीरकोट नगरपालिकाकी उपमेयर सीमा कर्माचार्यले समर्थन गरे। प्रदेश सांसद कृष्ण थापाको प्रश्ताव र अर्की सांसद पियारी थापाको समर्थनमा जनमोर्चाबाट कास्कीका शंकर बरालले उम्मेदवारी दर्ता गराए।

चिठ्ठा थुत्दा थोरै कार्यकाल परेका काँग्रेसतर्फका सुरेन्द्र पाण्डे र बृन्दा रानाको कार्यकाल सकिएपछि यहाँ चुनाव हुन लागेको हो। गण्डकीमा नेकपाबाट अन्यतर्फ गणेश तिमिल्सिना, दिनानाथ शर्मा, महिलातर्फ शान्ति जिसी र दीपा गुरुङ छन् भने दलितमा खेमबहादुर विक यसअघि नै निर्वाचित भएका थिए भने काँग्रेसका प्रकाश पन्थ अपाङ्गता कोटाबाट सांसद बनेका छन्। उनी पूरै कार्यकाल रहनेछन्। माघ ९ गतेको चुनावपछि यो प्रदेशबाट काँग्रेसको प्रतिनिधित्व १ जनामा सीमित हुनेछ। प्रत्येक प्रदेशबाट ८ जना सांसद हुने प्रावधान अनुसार रिक्त हुन लागेको २ पदमा चुनाव हुँदै छ। मतभारको हिसावले यो चुनावमा नेकपाका उम्मेदवार निर्वाचित हुने पक्कापक्की छ।

गण्डकीमा सत्तारुढ नेकपाको मतभार एकलौटी जस्तै छ। तत्कालीन एमाले र माओबादी हाल नेकपाको मतसंख्या १ सय २३ छ भने काँग्रेसको ९८ मात्रै छ। राष्ट्रिय जनमोर्चासँग ६ मत छ भने समाजवादी पार्टी र राप्रपाको २/२ मत छ। प्रमुखमा स्वतन्त्र चुनाव जितेका मुस्ताङको दालोमे (हाल लो घेकर दामोदर कुण्ड) गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट एमालेमा प्रवेश गरेका छन् भने मनाङको नारफू (हाल नार्पा भूमी) गाउँपालिकाका स्वतन्त्र उपाध्यक्ष कुञ्जो तेन्जिङ लामा काँग्रेस प्रवेश गरेका छन्। यता गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि नेकपामा प्रबेश गरेका छन्। प्रदेशसभा सांसदमा धेरै सीट जितेका कारण काँग्रेसको भन्दा नेकपाको मतभार झनै धेरै छ।

मतभार हिसाव गर्दा नेकपाको मात्रै ३ हजार ४ सय १४ मतभार छ भने काँग्रेससँग २ हजार १ सय ९६ मतभार छ। यसको मतान्तर १ हजार २ सय १८ छ। नेकपा बाहेक अरु सबै पार्टी मिल्दा पनि काँग्रेसलाई चुनाव जित्न मत पर्याप्त हुँदैन। राष्ट्रिय जनमोर्चा १ सय ९८, समाजवादी पार्टी ९६ र राप्रपाको ३६ मतभार छ। प्रदेश र प्रतिनिधीसभाको उपचुनावमा सहकार्य गरेको जनमोर्चाले राष्ट्रियसभाको अन्य सीटमा आफैले उम्मेदवारी दिएको छ। राप्रपा र समाजवादी पार्टीले आफ्ना उम्मेदवार उठाएका छैनन्। २ नम्बर प्रदेशभा समाजवादी र काँग्रेसबीच सहकार्य भएका कारण त्यसको प्रभाव गण्डकी प्रदेशमा परेर समाजवादीले काँग्रेसलाई सघाउने हो भने केही मतभार थपिने छ। यद्यपी त्यो जीतका लागि पर्याप्त छैन।

पार्टीको निर्देशन मानेको हुँः नारायणकाजी

उम्मेदवारी दर्तालगत्तै पत्रकार सम्मेलन गरेर नेकपा उम्मेदवार नारायणकाजी श्रेष्ठले पार्टीले आफ्नो भूमिमका खोजेका कारण टिकट दिएको प्रतिक्रिया दिए। प्रतिनिधिसभामा चुनाव हारेपछि फेरि उम्मेदवारी? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हामी समृद्धिको पक्षमा छौं। जनता र देशको लागि लडिरहेको मान्छे हो। पद नभएपनि यो अभियानमा निरन्तर लागिरहन्छु। तर अहिलेको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा राष्ट्रियसभाबाट सघाउनुपर्ने आवश्यक्ता पार्टीले ठान्यो र टिकट दियो। म पार्टीको निर्देशन अनुसार नै उम्मेदवार बनेको हुँ।’ उनी २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर २ बाट तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजीत भएका थिए।

अर्की उम्मेदवार भगवती न्यौपानेले लामो समयदेखि पार्टीका गरेको योगदानको कदर गर्दै आफुलाई टिकट दिएको भन्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाईन्। उनी अनेरास्ववियुबाट अखिल नेपाल महिला संघ हुँदै राष्ट्रिय राजनीतिमा सक्रिय थिइन्।

परमात्मा भरोसाः रेग्मी

उम्मेदवारी दिएर कार्यालय बाहिर निस्किएका काँग्रेस उम्मेदवार सूर्यप्रसाद रेग्मीले ठट्यौली पारामा जवाफ दिए। ‘यो उमेरमा पनि पार्टीले पत्यायो। टिकट पाएँ। परमात्माले टिकट दिनुभयो। अव वहाँले नै जिताईदिनुहुन्छ,’ उनले भने, ‘खान लाउन समस्या छैन। मलाई भ्रष्टाचार गर्नु पदैर्न। चुनाव जित्छु र जनताको सेवा गर्छु।’ उनी ७१ वर्ष पुगे।

काँग्रेसकै अर्की उम्मेदवार विमला गौचनले हिमाली जिल्लाका सांसद र अध्यक्ष उपाध्यक्षलाई फकाएर चुनाव आफ्नो पक्षमा पार्ने दावी गरिन्। ‘मेरा दिदी बहिनी र दाजुभाइहरु अध्यक्ष, उपाध्यक्ष र सांसदहरु हुनुहुन्छ। वहाँहरुसँग आग्रह गर्छु। एकपटक सहयोग गरिहाल्नुहुन्छ नि !,’ उनले भनिन्।

सँधै एउटै कोटले चल्दैनः बराल

जनमोर्चा उम्मेदवार शंकर बरालले पार्टीको निर्णयले आफुले उम्मेदवारी दिएको सुनाए। यसअघि नेकपासँग मिलेर चुनाव लडेको जनमोर्चालाई साथ लिनुपर्ने नेकपाले आवश्यक नठानेपछि जनमोर्चा एक्लै चुनावमा होमिएको हो। ‘सँधै एउटै कोट कहाँ हुन्छ। कहिले स्विटर लाउनुपर्छ। कहिले टिशर्ट लगाएर हिड्नुपर्छ,’ उनले भने, ‘कार्यगत एकता मिल्यो भने कहिलेकाही मिल्ने हो। हाम्रा माग स्थापित गर्न कहिले मिल्नुपर्छ कहिले छुट्नुपर्छ। अहिले एकता भएको छैन। मैले छुट्टै उम्मेदवारी दिएँ।’ जनमोर्चा संसदभित्रै रहेर संघीयताको विरोध गर्दै आएको पार्टी हो।

Related News

सम्बन्धित समाचार

hero news full width