औद्योगिक व्यापार मेला शुरु

हाम्रै उत्पादन बेच्नुपर्छः मन्त्री लम्साल

आदर्श समाज सम्वाददाता
पौष १९, २०७६
pcci_Fotor

पोखरा उद्योग बाणिज्य संघ आयोजनामा शुक्रबारदेखि राष्ट्रिय औद्योगिक ब्यापार मेला शुरु भएको छ। नयाँ बजारमा आयोजित मेला मौसमको प्रतिकूलता कारण उद्योग बाणिज्य संघको सभाहलबाट शुभारम्भ गरिएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्यमशीलता विकास गर्न मेला महोत्सवको योगदान ठूलो हुने बताए। उनले सरकार र निजी क्षेत्र मिलेर उत्पादन बढाउन सकेमात्रै समृद्धि प्राप्त हुने धारणा राखे। ‘हामीसँग पनि राम्रो उत्पादन छ। तर बजारमा आउन सकेको छैन। कमजोर मालले बजार कब्जा गरेको छ। हाम्रा उत्पादनलाई प्याकेजिङ गरेर बजारमा ल्याउन सकेका छैनौं, ’ उनले भने, ‘उद्योग बाणिज्य संघले अगुवाइ गरोस्। सहज र सुलभ मूल्यमा उत्पादन उपभोक्तासम्म पुर्याउने जिम्मा सरकारले लिन्छ। उत्पादन बढाउने र भएका उत्पादनलाई बजारमा पुर्याउन सरकारले लगानी गर्छ। ’ उनले जग्गा बाँझो राखेर विदेश पलायन हुने युवा बढेका कारण देश पछि धकेलिएको तर्क गरे।

‘घरैमुनिको गैरीखेत बाँझो छ। घरमा भएको श्रम त्यसै बसेको छ। रोजगारीका लागि हामी विदेश जान्छौं। बजारबाट माल किनेर खान्छौं, ’ उनी भन्छन्, ‘यसै कारणले हामी दैनिक रुपमा गरीब बनिरहेका छौं। अब हामीले गर्ने ब्यापारमा हाम्रै उत्पादन हुनुपर्छ। विदेशी सामान ल्याएर स्टलमा राखेर उद्यम विकास हुँदैन। यसले रोजगारी पनि सिर्जना गर्दैन। ’ मन्त्री लम्सालले सरकारले लघुउद्यमीलाई केन्द्रित गरी कोसेलीघर निर्माण गर्न लागेको सुनाए। ‘अचेल पोखरामा लघुउद्यम निकै फस्टाएको छ। यस्ता राम्रो उत्पादन ब्राण्डिङ गरेर सरकारले विदेशी बजारमा लैजान्छ, ’ उनले भने, ‘पोखरा, आबुखैरेनी र धवलागिरिमा कोसेलीघर राख्ने तयारी भैरहेको छ। बन्दै गरेको विमानस्थलमा पनि कोसेलीघर राख्ने सोच बनाएका छौं। त्यहाँबाट हाम्रा उत्पादन विदेशी पर्यटकलाई बेच्न सके यहीँबाट समृद्धि आउन सक्छ। ’

आर्थिक पहुँच वृद्धि र रोजगारी सिर्जना गर्न औद्योगिक मेलाहरुले सहयोग गर्ने उनको धारणा छ। मन्त्री लम्सालले सरकारले राम्रो काम गर्न नसके जनताले पराजित गर्ने भन्दै सचेत रहन आग्रह गरे। ‘पहिले चुनावमा शक्तिको दुरुपयोग हुन्थ्यो। अहिले मतदाताले राम्रो सन्देश दिएका छन्। जनताप्रति उत्तरदायी भएर काम गरेन भने हार्छ भन्ने सन्देश धरानले दिएको छ, ’ उनी भन्छन्, ‘अब जनताले शान्ति चाहेका छन्। रोजगारी चाहेका छन्। देशको विकास चाहेका छन्। त्यो आवश्यकता पूरा गर्न नसके पराजित हुनुपर्छ। ’

कार्यक्रममा गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले उद्योगी व्यवसायीमैत्री वातावरण सरकारले तयार गर्न नसकेको आरोप लगाए। ‘ब्यापारीहरुले ऋण खोजेर लगानी गरेका छन्। चर्को ब्याजको मारमा उनीहरु छन्। तर सरकारले कुनै समन्वय गर्दैन, ’ उनी भन्छन्, ‘व्यवसायीमैत्री व्यवहार नहुँदा धेरै दुःख भएको छ। ’ व्यवसायमैत्री कानून निर्माणका लागि आफूले सक्दो पहल गर्ने उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति दिलसुन्दर श्रेष्ठले मेला महोत्सवले आर्थिक गतिविधि चलायमान हुने बताए। गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले मेला र महोत्सवहरु आयोजनाको जिम्मा उद्योग वाणिज्य संघलाई नै दिनुपर्ने माग गरे। उनले निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको पनि बताए।

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारीले उद्योग क्षेत्र बलियो बन्न नसकेमा मुलुकमा रोजगारी र समृद्धि प्राप्त गर्न नसकिने धारणा राखे।

नयाँबजारमा चल्ने मेला पुस २८ सम्म चल्नेछ। मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका औद्यौगिक तथा घरेलु उत्पादनका २ सय ७० वटा स्टल रहेको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । मेलामा दैनिक उपभोग्य बस्तु, लत्ताकपडादेखि गाडी र फूलहरु पनि प्रदर्शनी गरिने छ। मेला अवलोकनका लागि सर्वसाधारणले ६० र विद्यार्थीले ४० रुपैयाँ तिर्नुपर्छ।

उद्घाटन उद्योग बाणिज्य संघमा भए पनि नियमित मेला शनिबारदेखि प्रदर्शनी केन्द्रमा नै हुने आयोजकले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width