लेकसाइडमा खुल्यो विजी वी रिसोर्ट

आदर्श समाज सम्वाददाता
पौष १८, २०७६
Busy Bee Resort

विजी वी रिसोर्ट र सँगैको पौडी पोखरीको रात्री दृष्य ।

रुपनारायण ढकाल : पोखरा, १७ पुस । युवा तथा अनुभवी व्यवसायीहरुको एक समूहले पोखराको लेकसाइडमा स्थापना गरेको द विजी वी रिसोर्ट अंग्रेजी नयाँ बर्षको आगमनसँगै संचालनमा ल्याइएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ६ को स्ट्रिट नम्बर १५ मा १० करोड रुपैयाँको लागतमा ३४ कोठा भएको रिसोर्ट जनवरी १ तारिखका दिन बुधबार उद्घाटन गरिएको हो । नेपाल भ्रमण बर्ष २०२० को आरम्भसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रिसोर्टको उद्घाटन गरेका थिए ।

रिसोर्टमा अनुभवी एवं सफल रेष्टुराँ व्यवसायी ज्याक तामाङ र युवा व्यवसायीहरु योगेश भट्टराईं, सरोज भट्टराई, सुनिल भट्टराई र बसन्त महतको लगानी रहेको छ । देशविदेशका पर्यटकमाझ लोकप्रिय एवं रात्री जीवनका लागि पोखराको ‘मस्ट ह्यापनिङ प्लेस’ भनेर समेत चिनिने लेकसाइडको बीजी वी रेष्टुराँ पनि यही समूहले संचालन गर्दै आएको छ । अतिथि सत्कारको क्षेत्रमा तीन दशक लामो अनुभव यो समूहसँग रहेको छ ।

रेष्टुराँसँगै अव होटल क्षेत्रमा पनि लगानी गर्दै पर्यटनको विकासका लागि काम गर्ने शोच अनुरुप होटल स्थापना गरिएको विजी वी ग्रुपका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । चार रोपनी क्षेत्रफल जग्गामा एक बर्षको छोटो अवधिमा नै रिसोर्ट स्थापना गरिएको उनले बताए । रिसोर्टले हाल ८० प्रतिशत हाराहारीको अकुपेन्सी कायम गर्न सफल भएको छ ।

रिसोर्टका सबै कोठामा एसी, सँगै वालकोनी, कफि मेकर, गार्डेन भ्यू जस्ता पक्षहरु समेटिएको छ । स्वीमिङ पुल, स्पा, झण्डै ८० जना क्षमताको कन्फरेन्स हल र त्यति नै क्षमताको रेष्टुराँ तथा बार पनि रिसोर्टमा रहेका छन् । रिसोर्टका कोठाहरु ८० प्रतिशत साउण्ड प्रुफ रहेको दाबी अध्यक्ष तामाङको छ । रिसोर्टमा ३२ जनाले रोजगारी पनि पाएका छन् ।

रिसोर्टले स्ट्याण्डर्ड कोठाको ४५ अमेरिकी डलरदेखि ७० अमेरिकी डलर, डिलक्स कोठाको ५० देखि ८० डलर, फ्याम्ली कोठाको ७५ देखि ९० डलर र सुइट कोठाको ७५ देखि १०० डलर ट्यारिफ निर्धारण गरेको छ ।

दुई महिना अघि सफ्ट ओपनिङ गरिएको रिसोर्ट हाल आएर ग्रान्ड ओपनिङ गरिएको हो । उद्घाटनका क्रममा कार्यकारी निर्देशक घिसिङलाई गण्डकी प्रदेशका सभासद राजिव पहारी, नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत र अध्यक्ष तामाङले पनि साथ दिएका थिए ।

पोखरामा नयाँ विमानस्थल बन्दै गरेको सन्दर्भमा होटल क्षेत्रले पनि आसावादी हुने ठाउँ रहेको भन्दै अध्यक्ष तामाङले मुस्ताङको कोरला नाका समेत खुलाउन सके पोखरा क्षेत्रको पर्यटनले फड्को मार्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width