मध्यपहाडी क्षेत्रमा सहस्राब्दी पदमार्ग

रासस
पौष १७, २०७६
dhor-darbar

पोखरा, १७ पुस । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) को थप प्रवद्र्धन र विकास गर्न सद्भावना दूत नियुक्ति गरिने भएको छ ।

तनहुँको दुलेगौँंडाबाट स्याङ्जाको रामबाछालाई जोड्ने सो पदमार्गको दूरी ७२ किलोमिटर रहेको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले पदमार्ग क्षेत्रमा ५० हजार पदयात्री हिँडाउने लक्ष्य सार्वजनिक गर्दै स्वदेश तथा विदेशमा दूत नियुक्तिको तयारी गरेको हो ।
समितिले आगामी माघ महिनाभित्र स्वदेश एवं विदेशका लागि पदमार्गका सद्भावना दूत नियुक्ति गर्ने तयारी गरेको महासचिव हर्क गुरुङले जानकारी दिए ।“देश तथा विदेशमा ख्याती कमाएका व्यक्तिलाई सद्भावना दूत नियुक्ति गर्ने तयारी गरेका छौं । उनीहरूका माध्यमबाट मिलेनियम ट्रेकको प्रचारप्रसार गरिने छ ।”

समितिले पदमार्गको समग्र विकास र प्रवद्र्धनका लागि वृहत् गुरुयोजना तयार गरेको जनाएको छ । पदमार्ग क्षेत्रका प्रकृति र संस्कृतिलाई समेट्दै अघि बढ्ने गुरुयोजनामा रहेको छ । टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्व अध्यक्ष डम्बरबहादुर केसीले पदयात्रा पर्यटनको सम्भावना देखेर सन् २००० मा अवधारणा अघि सारिएकोे जानकारी दिए ।

उनले भने “पदयात्रा पर्यटन उत्तर तर्फ हिमालको फेदीतिर मात्रै विकास भइरहेको अवस्थामा मध्यपहाडी क्षेत्रमा पनि उत्तिकै सम्भावना छ है भन्ने सन्देश दिनका लागि हामीले यसको अवधारणा अघि सारेका हौं ।” पदमार्ग क्षेत्रमा पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका गर्ने गुरुयोजनामा रहेको छ । योजनामा पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटन सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीलगायतको संरक्षण तथा उपयोग गर्ने र कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य रहेको छ ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सहयोगमा पदमार्ग क्षेत्रका विभिन्न ४४ वटा स्थानमा सङ्केत पाटी राखिसकिएको र यस आर्थिक वर्षमा काम जारी रहने जनाइएको छ । पर्यटन बोर्डकै सहयोगमा सहस्राब्दी पदमार्गको नयाँ नक्शाको तयारीका साथै चराचुरुङ्गी सम्बन्धी अध्ययन पनि भइरहेको छ । गण्डकी प्रदेश सरकारले पनि पदयात्रा पर्यटनलाई महत्व दिँदै आएको छ । चालु आर्थिक वर्षमा सो पदमार्गसहित अन्नपूर्ण चक्रीय पदमार्ग र धौलागिरि पदमार्गका लागि रु १८ करोड विनियोजन समेत गरेको छ ।

वालिङ नगरपालिका–२ राम्चेमा तमु सङ्ग्रहालय र पुतली बजार नगरपालिका–७ सादी खोलामा मिलन चौतारीपार्क निर्माण गर्ने प्रस्ताव गरिएको छ । पदमार्ग क्षेत्रमा घरवासलगायतका व्यवसायमा पनि वृद्धि भएको मिलेनियम भैँंसेगौँडा सामुदायिक घरवासका अध्यक्ष एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले जानकारी दिए ।

पदमार्ग क्षेत्रमा मिलेनियम भंँैसेगौँडा सामुदायिक होमस्टेसहित वालिङ नगरपालिका –३ स्थित सिङ्गारकोट, बुढाकोट र राम्चे, वडा न–ं ४ स्थित गहते मनकामना, सुन्तलाबारी, भिरकोट नगरपालिका–५ स्थित केघा, शुक्लागण्डकी–१० स्थित रजस्थल, वडा १२ स्थित घरेडीमा घरवास सञ्चालनमा आइसकेका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादीखोला, वडा– ११ स्थित राइपुर, वडा १२ का चन्द्रकोट र डाँडागाउँलगायत स्थानमा घरवास सञ्चालनमा आइसकेको छ । पदमार्ग क्षेत्रको साविक राङभाङ गाविस वडा नं– ५ स्थित रहस्यमय गुफा जस्ता धेरै ठाउँ प्रचारको पर्खाइमा रहेको छ ।

यहाँबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न पाइन्छ । नेपालमा मात्रै पाइने काँडेभ्याकुर, लोपोन्मुख गिद्धलगायत १३४ प्रजातिका चरा पाइने भएकोले पदमार्ग क्षेत्रमा चरा पर्यटनकोसमेत ठूलो सम्भावना देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width