भ्रमण वर्ष शुभारम्भ

सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
067A9970_Fotor

नेपाल भ्रमण वर्ष २०२० को गण्डकी प्रदेश शुभारम्भ कार्यक्रमअघि बुधबार पोखराको लेकसाइडस्थित फिस्टेल गेटबाट निस्केको र्यालीका सहभागी। तस्वीर : दुर्गाप्रसाद पौडेल/आदर्श समाज

अंग्रेजी नयाँ वर्ष आगमनसँगै बुधबार नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ। काठमाडौंको दशरथ रंगशालामा एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष अभियान शुभारम्भ गरिन् भने देशका सातै प्रदेशमा भ्रमण वर्ष आरम्भको उद्घाटन गरियो।

काठमाडौंको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो कार्यक्रमलाई प्रस्थान विन्दुका रूपमा लिएको र आगामी दशक पर्यटन दशकका रूपमा मनाउने तयारीमा सरकार रहेको जानकारी दिए।

समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख र विभिन्न देशका प्रतिनिधिको उपस्थिति थियो।

सो अवसरमा सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध सङ्घसंस्था, सामाजिक क्षेत्र, स्वयंसेवी समूह सङ्गठन, सामाजिक सङ्घसंस्थाको ब्यानर र पोसाकसहित मार्चपास गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति थियो। नेपालको ख्यातिप्राप्त कलाकारको साङ्गीतिक प्रस्तुति सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुति राखिएको थियो।

भ्रमण वर्षको गण्डकी प्रदेशको पोखरा सहित, प्रदेश १ को विराटनगरको रंगशाला, प्रदेश २ को जानकी मन्दिर परिसर, प्रदेश ३ को सौराहा, प्रदेश ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश ६ को बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन गरिएको हो।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लेकसाइडको बाराही चौरमा बुधबार औपचारिक कार्यक्रम आयोजना गरी भ्रमण वर्षको आरम्भ गरेको हो। जनवरी १ तारिख पारी गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलुन उडाएर कार्यक्रमको उद्घाटन गरेका थिए। यसअघि विभिन्न जातजातिका झाँकी स्थानीय फिष्टेल गेटदेखि उद्घाटनस्थलसम्म पुगेका थिए।

मुख्यमन्त्री गुरुङले पर्यटन देशको समृद्धिको आधार बन्न सक्ने भन्दै प्रदेश सरकारले समेत पर्यटनलाई प्राथमिकतामा राखेको स्मरण गराए। उनले गण्डकी प्रदेशले पर्यटनको ठूलो सम्भावना बोकेको भन्दै ग्रामीण पर्यटनमा समेत प्रदेश सरकारले उत्तिकै ध्यान दिएर कार्यक्रमहरु अगाडि बढाएको बताए।

भ्रमण वर्ष गण्डकी संयोजक पर्यटन मन्त्री विकास लम्सालले प्रदेशका ११ वटै जिल्लाले पर्यटनको ठूलो सम्भावना बोकेको भन्दै सामूहिक प्रयासबाट मात्र २० लाख पर्यटक नेपाल भित्र्याउन सकिने बताए। २० लाख पर्यटक भित्र्याउनु खासै चुनौतीपूर्ण विषय नभएको दाबी गर्दै उनले आगामी दिनमा गण्डकी प्रदेश एक्लैले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको स्मरण गराए।

भ्रमण वर्ष गण्डकी प्रदेश सहसंयोजक अग्नि कँडेलले निजी क्षेत्रले समेत पर्यटनको विकासका लागि उत्तिकै सक्रियतापूर्वक काम गर्दै आएको भन्दै सरकार र निजी क्षेत्र मिलेर भ्रमण वर्ष सफल पार्नुपर्ने भनाइ राखे। पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले भ्रमण वर्ष सफल पार्न महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

सो अवसरमा एभिया क्लबका अल्ट्रालाइटले पुष्पवृष्टि पनि गरेका थिए। कार्यक्रममा विभिन्न सांस्कृतिक नाच र ल्होमन्थाङसम्बन्धी गीत पनि प्रस्तुत गरिएको थियो। गण्डकी प्रदेशका ११ जिल्लाका १ सय १० पर्यटकीय गन्तव्य प्रोजेक्टरमा देखाइएको थियो भने प्रदेशका विभिन्न गन्तव्य झल्काउने फोटो प्रदर्शनी पनि गरिएको थियो। भ्रमण वर्षका अवसरमा पोखराका विभिन्न ठाउँमा दीपावली गरिएको थियो भने प्रदेशअन्तर्गत रहेका कोटहरुबाट बेलुन पनि उडाइएको थियो। बाराही चौरमै पनि हट एयर बेलुन उडाइएको थियो।

यसैबीच, मुख्यमन्त्री गुरुङले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा शुभकामना सन्देश दिँदै भ्रमण वर्षको सफलता गण्डकी प्रदेशको सफलतासँग जोडिएको बताएका छन्। प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र भएको र सन् २०१९ देखि २०२२ सम्मलाई प्रदेशले विभिन्न पर्यटन भ्रमण वर्षको रुपमा मनाउन गइरहेको सन्दर्भमा २०२० को नेपाल भ्रमण वर्ष सफल हुँदा प्रदेशले समेत धेरै लाभ लिन सक्ने मुख्यमन्त्री गुरुङको भनाइ छ।

उनले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधारको रुपमा विकास गर्न जरुरी रहेको समेत बताएका छन्। उनले पर्यटन क्षेत्रको लाभ जनस्तरमा पुर्याउन पर्यटकीय गन्तव्य विविधिकरण गर्दै नयाँ पर्यटकीयस्थल र उपज पहिचान, विकास तथा पर्यटकीय पूर्वाधार विकास गर्न आवश्यक रहेको समेत बताएका छन्।

‘प्रदेशको समृद्धिका लागि पहिचान गरिएका मुख्य सात संवाहकमध्ये पहिलो संवाहकका रुपमा हामीले पर्यटन क्षेत्रलाई लिएका छौं, ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘पर्यटन सेवाको सुदृढीकरण र विस्तार गरी रोजगारी सृजना, गरीबी निवारण र प्रदेश अर्थतन्त्रको आधारशीला तयार गरिने नीतिका साथ सोही बमोजिमको कार्यक्रम निर्माण गरी हामी अगाडि बढेका छौं। ’

उनले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिबाट नेपाल विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको उल्लेख गर्दै साहसिक, धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्दै स्थानीय उत्पादनसँग अग्र र पृष्ठ सम्बन्ध भएको गुणस्तरीय पर्यटन सेवाको सुदृढीकरण गर्न प्रदेश सरकार लागिपरेको समेत बताएका छन्। प्रदेशलाई पर्यटन हव र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पर्यटकीय गन्तव्यका रुपमा प्रदेशको छवि स्थापित गर्न आफूहरु लागिपरेको समेत उनले बताए।

मुख्यमन्त्री गुरुङले ‘अतिथि देवोः भवः’ भन्ने हाम्रो मूलमन्त्र व्यवहारमा उतार्न पर्यटन सम्बद्ध सबै निकायलाई आग्रह समेत गरेका छन्।

एक तथ्यांक अनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यसअघि सरकारले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएर पाँच लाख विदेशी पर्यटक ल्याउने लक्ष्यसहित प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिएको थियो। त्यस्तै सन् २०११ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो। सात वर्षपछि उक्त लक्ष्य सन् २०१७ मा भेटिएको थियो। सन् २०१७ मा १० लाख पर्यटक नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width