मिलन फाउण्डेसनको न्यानो कपडा

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
milan_Fotor

मिलन फाउण्डेसन नेपालले पर्वतको मोदी गाउँपालिका वडा ५ अन्तर्गतका ३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।

खोलाखेतस्थित रिभरसाइड आधारभूत विद्यालय, कामीचौपारीस्थित विश्वशान्ति आधारभूत विद्यालय र लाम्पाटास्थित कृष्ण आधारभूत विद्यालयका विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरिएको हो।

कार्यक्रममा मोदी ५ का वडाध्यक्ष दलबहादुर मल्लले कपडा वितरण गरेका थिए। मिलन फाउण्डेसन नेपालका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ र अध्यक्ष गंगाकुमारी गुरुङले न्यानो कपडाका लागि सहयोग गरेका हुन्।

कार्यक्रममा वडाध्यक्ष मल्लले समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले मिलन फाउण्डेसन नेपाल स्थापना गरेर यस क्षेत्रमा निकै महत्वपूर्ण सामाजिक योगदान गरेको बताए।

तीन वटै विद्यालयमा छुट्टाछुट्टै भएको कार्यक्रममा रिभरसाइड आधारभूत विद्यालयका प्रधानाध्यापक सीता चर्मकार, विश्वशान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक हिरा प्रसाईं, कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रकाश हमाललगायतले संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गरे।

मिलन फाउण्डेसन नेपालका कावा अध्यक्ष देवीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सल्लाहकार क्या. हितकाजी गुरुङले स्वागत र सचिव मदन गुरुङले सञ्चालन गरेका थिए।

संरक्षक एवं संस्थापक दुर्गा गुरुङ ‘मिलन’को आफ्नै सहयोगमा सञ्चालित मिलन फाउण्डेसन नेपालले पर्वत, पाल्पा, लमजुङ, कास्की, चितवनलगायतका जिल्लामा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width