गाउँको इज्जतका लागि होमस्टे

आदर्श समाज सम्वाददाता
पौष १५, २०७६
Sirubari 2

सिरुवारी गाउँ । तस्वीर : रुपनारायण ढकाल/आदर्श समाज ।

रुपनारायण ढकाल : पोखरा, १३ पुस । पर्यटकीय गाउँ सिरुवारीमा होमस्टे सुविधा प्रदान गर्ने घरहरुको संख्या घट्दै जाँदा गाउँको इज्जतको लागि भए पनि यस्तो पेशालाई निरन्तरता दिइएको कतिपय गाउँलेले बताएका छन् । २०५४ सालमा एक सय ५० जना पर्यटक राख्ने क्षमता भएको सिरुवारीमा अहिले दैनिक पाँच दर्जन हाराहारी मात्र क्षमता रहेको होमस्टे संचालिका उर्मिला गुरुङले बताइन् । कहिलेकाहीं एक सय जना भन्दा बढी पाहुना आउँदा उनीहरु फर्कनुपर्ने अवस्था समेत रहेको अुनभव उनले बाँडिन् ।

गाउँको सिरानमा १ नम्बर लेखेर टाँसिएको घर विन्दु गुरुङको हो । चिटिक्क सजाइएको उनको घरमा पाहुनाका लागि तीन कोठाहरु रहेका छन् । घरमा पाहुना आउँदा उनीहरुकै सेवा र सत्कारमा खट्छिन् उनी । यहाँका अन्य होमस्टे संचालकहरु पनि यसै गर्छन् । ‘गाउँको इज्जतका लागि होमस्टेलाई निरन्तरता दिएको हुँ,’ गाउँको पुछारमा किराना पसल समेत संचालन गर्दै आएकी उनले भनिन्– ‘निकै बर्षदेखि गर्दै आएको होमस्टे चटक्कै छाड्न पनि सकिएन ।’ पसल र पाहुना सेवामा भ्याई नभ्याई भए पनि श्रीमान मनकाजी र उनी होमस्टे र पसलमा आलोपालो गरेर समय मिलाउँछन् ।

सिरुवारीमा आधा भन्दा बढीले होमस्टे पेशा छाडिसकेका छन् । स्याङजा जिल्लाको आँधिखोला गाउँपालिका– १ मा पर्ने यो गाउँमा अहिले १९ घरमा होमस्टे सुविधा उपलब्ध छ । यस्तो सुविधा भने विगतमा तीन दर्जन भन्दा बढी घरमा उपलब्ध थियो । गाउँमा मोटरबाटो, विद्युत र पानीको राम्रो सुविधा भए पनि युवाहरु विदेश जाने र अन्य उमेर समूहका मानिस बजार झर्ने समस्याले होमस्टे संख्या समेत घट्न गएको हो । विहे गरेर आएका बुहारी र वृद्धवृद्धाको भरमा होमस्टे चलेको छ । छोरीहरु विवाह गरेर जाने र वुहारी पनि गाउँमा बस्न गाह्रो मान्नाले समस्या थपिएको देखिन्छ ।

तर पनि सिरुवारी पुग्ने पाहुनाहरुले सफा वातावरण, ढुंगाले छाएका घर र हरियाली दृष्य तथा आत्मियता पाउँछन् । पाहुनाहरुलाई लक्षित गरी यहाँ प्याकेज समेत बनाइएको छ । गाउँपुगेपछि खाजा, वेलुकाको खाना, एक प्लेट कुखुराको मासु, दुई ग्लास कोदोको मदिरा, बेलुकाको सुताई र विहानको नास्ता सहित एक हजार दुई सय रुपैयाँको प्याकेज तयार पारिएको छ ।

गाउँ पुग्ने पाहुनालाई गाउँकै गुम्वा–आँगनमा बसाएर नाच पनि देखाइन्छ । त्यहीं स्वागत गरिन्छ । खाजा खुवाइन्छ । रंगीविरंगी फूलका माला पहि¥याएर स्वागत गरिन्छ । कौरा, घाँटु, झोडा, सोरठी जस्ता नृत्यमा नाच्ने र गाउने व्यवस्था त्यहीं मिलाइन्छ । नवयुवा क्लव र बुद्ध आमा समूह पनि अतिथि सत्कारमा खट्ने गरेका छन् । घुम्ने कामका अतिरिक्त तालिम र गोष्ठीका लागि समेत मानिसहरु सिरुवारी पुग्ने गरेको स्थानीय समाजसेवी जुमकाजी गुरुङले बताए । त्यही भएर सिरुवारीलाई होमस्टेको पाठशाला पनि भन्ने गरिएको उनले सुनाए ।

समुन्द्र सतहबाट १६१० मिटरको उचाईमा रहेको सिरुवारी खासमा गाउँ पर्यटनको अग्रणी गाउँ हो । गाउँ पर्यटनका नायक स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङले सिरुवारीमा २०५४ सालदेखि होमस्टे सुरु गराएका हुन् । गुरुङ जीवन शैली र सोही अनुरुपको सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पाइने सिरुवारीमा ३९ वटा घर गुरुङका मात्र रहेका छन् । यहाँ नजिकै दलित बस्ती पनि रहेको छ । गाउँ माथि रहेको गोरुजुरे डाँडाबाट अन्नपूर्ण, धौलागिरी र माछापुच्छ«े लगायतका हिमालको अवलोकन गर्न सकिन्छ । डाँडामा एउटा दृष्यावलोकन टावर पनि निर्माण गरिएको छ । सूर्योदय र लालीगुराँस देखाउन पनि यहाँ पाहुना पु-याइन्छन् ।

पर्यटक सेवाकै लागि भनेर गाउँको सिरानमा १८ लाख रुपैयाँ भन्दा बढी लागतमा एउटा सामुदायिक होमस्टे भवन पनि हालै उद्घाटन गरिएको छ । यसैगरी गाउँको पुछारमा अर्को सामुदायिक भवन हालै शिलान्यास गरिएको आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधीर कुमार पौडेलले बताए । बन्ने भवनले पाहुनाको सेवा र सत्कारमा सघाउ पुग्ने र गाउँपालिकाले समेत यसका लागि सहयोग गरेको उनले सुनाए । झण्डै तीन करोड रुपैयाँको लागतमा बन्ने भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।

संविधान सभा सदस्य एवं सिरुवारीकै वासिन्दा डा.गणेशमान गुरुङले सिरुवारीले आफ्नै उत्पादन पर्यटकलाई चखाउँदै पर्यटनलाई उत्पादनसँग जोड्नुपर्ने सुझाव दिएका छन् । सिरुवारीले आफ्नै विशेष पहिचानयुक्त खाना विकास गर्नुपर्ने उनले बताए । पोखराबाट स्याङ्जाको नाउडाँडा, कार्किनेटा हुँदै सिरुवारी पुग्न सकिन्छ । नाउडाँडाबाट झरेपछि अहिले अर्को छोटो बाटोले पनि सिरुवारी जोड्छ ।

सिरुवारी गाउँ

Related News

सम्बन्धित समाचार

hero news full width