प्रेरणालाई महिला एकल उपाधि

पोखराका गोपी र धरमको जोडी ४५ माथिको डबल्स च्याम्पियन

आदर्श समाज सम्वाददाता
पौष १४, २०७६
Prerana Koirala, Open & Vetrans_Fotor

प्रेरणा कोइरालाले माछापुच्छ्रे ओपन टेनिस प्रतियोगिता अन्तर्गत महिला एकलको उपाधि जितेकी छन्। पोखरा रंगशालामा आइतबार भएको फाइनलमा सलोनी तामाङमाथि ७–५ र ६–१ को सोझो सेटमा जित्दै शीर्ष वरीयताकी प्रेरणाले सो उपाधि आफ्नो नाममा लेखाएकी हुन्।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी १७ औं संस्करणको प्रतियोगिता अन्तर्गत मेन्स डबल्समा संरक्षक भुषण बज्राचार्य र नविन मगरको जोडीले बाजी मार्यो। प्रदीप खड्का र प्रणव खनालको जोडीमाथि ६–३, ६–३ को सहज नतिजा निकाल्दै संरक्षक जोडीले सो उपाधि रक्षा गरेको हो। मेन्स सिंगलतर्फ संरक्षकले प्रदीपलाई तथा प्रणवले नविनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्षमाथि डबल्स् उपाधि राजु श्रेष्ठ (काठमाण्डौ) र कमल भण्डारीको जोडीले जितेको छ। सिमान्त गुरुङ र राजु श्रेष्ठ (गोरखा) जोडीलाई ६–१, ४–६ र सुपरटाईमा १०–६ को कठिन जित निकाल्दै राजु जोडीले सो उपाधिमा आफ्नो नाम लेखाएका हुन्।

४५ वर्षमाथिको डबल्स उपाधि भने पोखरेली खेलाडीद्वय गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको नाममा रह्यो। फाइनलमा गोपी जोडीले मनोज राणा र विमल गुरुङको जोडीमाथि ६–३ र ७–६ को नतिजा निकालेका थिए। यसअघि, गोपी ४५ वर्ष माथिको एकल सेमिफाइनलमा विमल गुरुङसँग ६–३, ६–३ को सेटमा पराजित भएका थिए। सोही उमेर समुहको अर्को सेमिफाइनलमा चन्द्र शाहीले अनु जोनमाथि ६–१, ६–० को नतिजा निकाल्दै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित पारेका थिए।

५५ वर्षमाथिको डबल्समा कमल थापा र झ्याम्पा ढुण्डुप जोडी च्याम्पियन बन्यो। थापा जोडीले समिर शेरचन र अनिल तुलाचनसँगको अन्तिम चुनौती ७–६ र ६–२ ले पार लगाएका हुन्। ६५ वर्षमाथिको डबल्स उपाधि दीपक श्रेष्ठ र ज्ञानेन्द्र ताम्राकारको जोडीले जितेको छ। फाइनलमा विष्णु गुरुङ र मेजर लक्ष्मीप्रसाद गुरुङको जोडीलाई ४–०, ४–० ले पराजित भए।

३५ वर्षमाथिको एकल सेमिफाइनलमा कमल भण्डारीले सिमान्त गुरुङलाई ७–६ र ६–१ ले तथा राजु श्रेष्ठ गोरखाले छेवाङ लामालाई ५–७, ६–४ र सुपरटाइमा १०–८ को संघर्षपूर्ण नतिजा निकाल्दै फाइनल खेल्ने निश्चित गरे।

५५ वर्षमाथिकै एकल उपाधिका लागि भेट्रान च्याम्पियन कमल थापा र अनिल तुलाचन भिड्ने भएका छन्। थापाले प्रदीप शाहमाथि २–६, ६–४ र १०–८ को संघर्षपूर्ण जित निकालेका हुन्। अनिललाई पनि मनोज राणाले सजिलै जित भने दिएका होइनन्। अनिलले राणामाथि ६–२, ४–६ र सुपरटाईमा १३–११ को कठिन जित निकालेका थिए। ६५ वर्ष माथिको एकलमा ज्ञानेन्द्र ताम्राकारले विष्णु गुरुङलाई तथा दीपक श्रेष्ठले छेतन नकेर्ललाई पराजित गर्दै फाइनलमा पुगेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width