टुँडीखेल खेल मैदानको बहुआयमिक प्रयोगबारे सोचौंः मन्त्री बिश्वकर्मा

आदर्श समाज सम्वाददाता
पौष १०, २०७६
Khelkud Mantri JAGAT BDR VK

पोखरा । युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरा–१ स्थित पुरानो टुँडीखेल मैदानको बहुआयमिक प्रयोगबारे सोंच्न आग्रह गरेका छन् ।

मन्त्री विश्वकर्माले भने, पुरानो टँडीखेल मैदानको बहुआयामिक प्रयोग कसरी गर्न सकिन्छ ? त्यसबारे योजनावद्ध रुपमा अगाडि बढ्नुहोस ।’

पुरानो टुँडीखेल मैदानको संरक्षणका लागि चावी हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले उक्त कुरा बताएका हुन् । उक्त मैदान गण्डकी प्रदेशकै ऐतिहासिक पृष्ठभुमी र महत्व बोकेको मैदान भएकोले यसको उपयोगसँगै संरक्षण र सम्वद्र्धन खाँचो रहेको उनले बताए ।

टुँडीखेल खेलमैदान नेपालको लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनको केन्द्र समेत रहेकोले यसको सांस्कृतिक, सामाजिक राजनीतिक महत्व रहेको मन्त्री विश्वकर्माले औंल्याए ।

उनले एक प्रसंगमा मैदानको भाग खुम्चिदै गएकोले सीमाना स्पष्ट समेत नभएकाले मैदानको सीमाभित्र रहेका विभिन्न संघसंस्थाहरुलाई व्यवस्थापन गरी टुँडीखेल मैदान पुरानो स्वरुपमा फर्काउन आफूले पहल थाल्ने प्रतिबद्धता जनाए ।

टुँडीखेल मैदानलाई पुरानो सीमाङ्कनमा फर्काउन सके मन्त्रालयले यसको संरक्षणका लागि थप बजेट निकासा दिन समेत सजिलो हुने मन्त्री विश्वकर्माले उल्लेख गरे ।

युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद परिषदमार्फत प्रदान गरेको १५ लाखको काम टुँडीखेल तारजाली निर्माण उपभोक्ता समितिद्वारा कार्य सम्पन्न गरेको हो । संचालनको जिम्मा पाएको राष्ट्रिय माविलाई एक कार्यक्रमबीच चावी हस्तान्तरण गरिएको हो ।

मैदानको संरक्षणका लागि कुल १६ लाख २५ हजार ४ सय ६९ रुपैयाँ खर्च भएको मध्ये नपुग रकम पोखराको स्थानीय प्रतिष्ठित संस्था बगर भाइखलकले १ लाख ५१ हजार उपलव्ध गराएको थियो । समितिका उपाध्यक्ष सिता गुरुङ र चन्द्रबहादुर गुरुङले ५ हजार नगद विद्यालयलाई प्रदान गरे ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष शारदाकुमारी पराजुली, उपभोक्ता समितिकी उपाध्यक्ष सिता गुरुङ, राष्ट्रिय माविका प्र.अ. बेदप्रसाद वस्ती, उपभोक्ता समितिका सचिब जनकल्याण पराजुलीलगायतले बोलेका थिए ।

कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष एवं बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width