चित्त हर्ने चित्लाङ गाँउ [फोटो एस्से]

बाख्राको चिजको लागि पनि चित्लाङ नेपालकै नमूना गाउँ

Suraj Hazare Dahal Suraj Hazare Dahal
पौष १०, २०७६

सुरज हजारे दाहाल : चित्लाङ गाउँ प्रदेश नं ३ को मकवानपुर जिल्लामा अवस्थित ऐतिहासिक गाँउ हो । होमस्टे तथा बाख्राको दूधबाट बनेको चिजको लागि प्रख्यात यस गाउँमा सदाबहार चिसो हावा चल्छ भने बैशाख, जेठको उखरमउलो गर्मीमा पनि शितल रहन्छ । राजधानी काठमाण्डौदेखि दक्षिणमा अवस्थित यस ठाँउको उचाइ १७५० देखि २००० मिटरको बिचमा रहेको छ । पहाडी भेगको महाभारत पर्वत श्रृंखलामा पर्ने यो ठाँउ स्वस्थ्य वातावरणले पूर्ण छ ।

बाख्राको चिजको लागि पनि चित्लाङ नेपालकै नमूना गाउँ हो । फाेटाे: सुरज हजारे दाहाल

यसकै वरिपरिबाट पालुङ गाउँ, हिउँ पर्ने दामन, इन्द्रसरोवर जस्तो देशको सबैभन्दा ठूलो मानव निर्मित ताल तथा सीमभञ्ज्याङको लजालु र मनमोहक दृश्य देखिन्छ । बाख्राको चिजको लागि पनि चित्लाङ नेपालकै नमूना गाउँ हो । चिज कारखानामा आगन्तुकलाई चिज बनाउने तरिका तथा चिज समेत चखाउने गरिन्छ ।

चित्लाङ जैविक विविधताले समेत भरिपूर्ण छ । ६० जातका अर्किड फूलहरु, चिराइतो, पाँच औंले, जतामसी, सुनाखरी, लालीगुराँस, मतलागिरी, मजिटो, पासनवेथ जस्ता फूल तथा जडिबुटीहरु यस हावापानीमा पाइन्छन् । फलफुलहरुमा नस्पती, भुई स्याउ, आरुबखरा जस्ता अमिला फलहरु फल्छन् । आरुबखरा तथा नस्पतीबाट वाइन तैयार पारेर निर्यात पनि गरिन्छ ।

बाखा्रको दूधबाट बनेको चिज राजधानीका महंगा होटलहरुमा बिक्री समेत गरिन्छ । नेपालकै सबै भन्दा गुलियो मुला पनि यँहा पाइन्छ । हालै आएर यँहा जैतुन अर्थात ओलिभको खेती पनि गरिएको छ । ओलिभबाट निकालिने तेल विश्वको सबैभन्दा महंगो तेल हो । काँचै समेत खान सकिने यो तेल सलादमा प्रयोग गर्ने गरिन्छ । चित्लाङको पुरै फाँटै भरि स्थानीयले अन्न भन्दा बढी सागसब्जीहरु फलाउने गरेका छन् । अधिकांश खपत होमस्टेको पाहुनाहरुमा हुने गरेको छ । यस्तै मृग, बँदेल, चितुवा, काठे भालु, भुइ भालु, दुम्सी जस्ता स्तनधारी जनवारहरु पनि यहाँ पाइन्छन् ।

इतिहासमा फर्कने हो भने चित्लाङको पुरानो नाम चित्रापुर थियो । चैत्य जाने बाटो भएकोले यसको नाम चैतलोङ थियो र पछि नाम अपभ्रंस भएर चित्लाङ रहन गएको हो । राजमार्ग नबनेको तत्कालिन समयमा मानिसहरुले राजधानीबाट तराई झर्न चित्लाङको बाटो प्रयोग गर्न गर्दथे । चन्द्रगिरी डाँडाको फेदमा रहेको यस गाउँसँग महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि नाता जोडिएको इतिहास छ ।

देवकोटा चित्लाङमा रहँदा केही भारतीयहरु डोली चढेर पशुपतिनाथको दर्शन गर्न आएछन् अनि त्यसपछि उनले ‘कुन मन्दिरमा जान्छौ यात्री ?’ नामक कविता रचेका थिए । उनले पानी पिएको ढुंगेधारा पनि पर्यटकिय केन्द्रको रुपमा चर्चित छ । २३०० वर्ष पुरानो यस गाँउमा लिच्छिवीकालिन चिनारीहरु प्रशस्त पाइन्छन् तलेजु । भवानीको मन्दिरले पनि यस ठाँउलाई धार्मिक रुपमा प्रख्यात बनाएको छ ।

विशेषतः यस ठाँउमा नेवार जाती बढी पाइन्छन् । नेवारीमा पनि यो ठाँउ बलामी जातीको पुख्र्यौली बासस्थान हो । उनीहरुले बैशाख पंचमीमा कुल देवताको पुजा गर्ने गछन् । बाह्र बर्षे भैरवनाथ जात्रा, भैरव तथा महादेव जात्रा, ५०० वर्ष पुरानो कार्तिक नाच, खड्ग जात्रा र गोदावरी मेला चित्लाङका प्रसिद्ध पर्वहरु हुन् ।

भारतका अशोक राजा यहाँ आएर अशोका चैत्य बनाएका थिए । यस्तै उनकी छोरी चारुमती आउँदा अशोका बिहार पनि बनेको थियो । बोद्ध धर्मावलम्बीहरुको लागि पनि धार्मिक स्थल रहेको यहाँ बैशाख पूर्णिमामा पनि ठूलो मेला लाग्ने गर्दछ । चित्लाङकै बाटो भएर पहिलो पटक काठमाण्डौमा गाडी भित्राइएको थियो । तर त्यसरी गाडी भित्राइएको ६० वर्ष पछि मात्र त्यहाँ गाडी गुड्न थालेको थियो खेतीपाती तथा बस्तुपालन यिनीहरुको मूल पेशा हो । नेवारको अलावा यहाँ क्षत्री, तामाङहरुको पनि बसोबास रहेको छ ।

नेवारी शैलीका पराम्परागत घरहरु सडक तथा डाँडामा लहरै लागेको देखिन्छ । नेवारहरुको बाहुल्य रहेको यस उपत्यकामा ग्रामिण पर्यटन अन्तर्गत होमस्टे पनि सुरु भएको छ । रु १००० देखि रु ३००० सम्मको प्याकेजमा होमस्टेदेखि रिसोर्टमा बस्न र खान सकिन्छ । विसं २०६८ सालमा यहाँ पहिलो पटक होमस्टेको सेवा प्रारम्भ भएको थियो ।

चारवटा होमस्टेबाट शुरु भएको सेवा अहिले २० घरसम्म पुगेका छन् । पश्चिमा पर्यटकका लागि यहाँ सुविधा सम्पन्न दुईवटा रिसोर्ट समेत छन् । होमस्टेमा बसेर सफा वातावरणमा आरमदायी आवासको साथ मिठो भोजनको मजा लिन सकिन्छ । स्थानीय रुपमा फलाइएका तरकारीहरु, भुइँ स्याउको सलाद, दही, मोही, लोकल कुखुराको मासु, सिस्नोको फाँडो,मकैको च्याख्ला जस्ता परिकारहरुमा रमाउन सकिन्छ । गाँउ आसपास हाइकिङ गरेर, नस्पतीको वन तथा सात धाराको भ्रमण गर्न सकिन्छ । चित्लाङमा पालिएका दुधालु बाख्राको चिज अनि ट्राउट माछासँग पनि खाना सकिन्छ ।

बसाई र खर्च :

पोखराबाट काठमाण्डौको बसमा चढेर थानकोटमा ओर्लिएपछि बसमा १० मिनेटमा गोदाम भन्ने ठाँउ पुगिन्छ । गोदाममा ओर्लिएर ३ घण्टा हिडेपछि चन्दागिरी पुगिन्छ अथवा केबल कारमा ५ मिनेटमा चन्द्रगिरी पुगेपछि त्यहाँबाट ओर्लिएर डाँडा भरेपछि चित्लाङ आइपुगिन्छ । दुई रात बसेर फर्किदा करिब रु ८००० खर्च लाग्छ ।