ए डिभिजन लिगमा मच्छिन्द्र शीर्ष स्थानमा

आदर्श समाज सम्वाददाता
पौष १०, २०७६
Machhindra & Friends, A Division League

काठमाण्डौं  । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधबारदेखि तेस्रो चरणको खेलहरु शुरु भएको छ । मच्छिन्द्र क्लबले आफ्नो पहिलो खेलमा फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकोे खेलमा मच्छिन्द्रले फ्रेण्डस क्लबमाथि ३–० गोलको जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

जारी लिगमा मच्छिन्द्रले ६ अंक जोडेको छ । यसअघि, मच्छिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको थियो । च्यासल युथ क्लबसँग मच्छिन्द्र १–१ को बराबरीमा रोकिएको थियो ।

मच्छिन्द्रको जितमा पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले समान १÷१ गोल गरे । खेलको २९ औँ मिनेटमा पिटर सेगुनको गोलबाट मच्छिन्द्रले अग्रता लिएको थियो । रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बूले पञ्च गर्दै फर्काएपछि रिबाउन्ड बललाई सेगुनले हेडमार्फत गोल गरेका थिए ।

त्यस्तै, खेलको ५१ औँ मिनेटमा एडेलाजाले गोल गरे । कप्तान विराज महर्जनको ब्याक पासमा उनले गोल गरेका थिए । त्यसैगरि, खेलको ८५ औँ मिनेटमा रेजिनले गोल गर्दै मच्छिन्द्रलाई ३–० को सहज जित दिलाए । पराजित फ्रेन्ड्सले भने अघिल्ला दुई खेलमा हार बेहोरेको थियो । खेलमा मच्छिन्द्रका विशाल राई ‘म्यान अफ दि म्याच’ बने ।

एनआरटीसँग च्यासल स्तब्ध

सहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम एनआरटीसँग च्यासल २–१ ले स्तब्ध बनेको छ ।

दशरथ रंशगालामा भएको खेलमा च्यासलविरुद्ध एनआरटीले एक गोलको अग्रता बनाएको थियो । खेलको २७ औं मिनेटमा एनआरटीका विदेशी खेलाडी जुनियरले गोल गर्न सफल भए । उनले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको एनआरटीले ७१ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो । उसका यानिक ओवाना दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । खेलको ८५ औं मिनेटमा उल्टै एनआरटीले गोल गर्न सफल भयो । उसका लागि दर्शन गुरुङले काउन्टर अट्याकमा गोल गरे ।

अन्तिममा च्यासलले एक गोल फर्काउँदै गोल अन्तर कम ग¥यो । उसका लागि अमिर श्रेष्ठले गोल गरेका थिए । यो हारले च्यासललाई अंक तालिकामा ठूलो घाटा बनाएको छ । च्यासलको ३ खेलबाट ६ अंक बटुलेको छ । एनआरटीले लिगमा ४ अंक बटुलेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width