लेखनाथ साहित्य पुरस्कार वैरागी काइँलालाई

आदर्श समाज सम्वाददाता
पौष ९, २०७६
ssssss

पोखरा, ९ पुस । वरिष्ठ साहित्यकार तिल विक्रम नेम्वाङ “ वैरागी काइँला” लाई २०७६ सालको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

कविशिरोमणि लेखनाथ पौड्यालको कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवाजनद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित उक्त पुरस्कार कविशिरोमणिको १३६ औं जनजयन्तीका अवरसमा पुस १५ गते प्रदान गरिने भएको हो ।

कविशिरोमणिको जन्मस्थल पोखरा–२७ अर्चलेमा एक विशेष कवि सम्मेलनको आयोजना गरी उक्त पुरस्कारद्वारा सम्मान गरिने बताइएको छ । पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ रहेको छ । वि.सं. १९९६ श्रावण २५ गते पाचथर जिल्लामा जन्मिएका काइँलाका एक दर्जनभन्दा बढी साहित्य र संस्कृतिसँग सम्बन्धित कृतिहरु प्रकाशित छन् । उनी दजौनौ संघ संस्थाहरुबाट पुरस्कृत एवं सम्मानित भइसकेको छन् ।
आयामेली साहित्यिक आन्दोलनका एक सशक्त खम्बा काइँला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति भइसकेका छन् । यस अघि उक्त पुरस्कारबाट नेपाली शिक्षा परिषद्, बासुदेव त्रिपाठी, मदनमणि दिक्षित, धर्मराज थापा, मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय, बालकृष्ण पोखरेल, जगमान गुरुङ र वसन्तकुमार शर्मा पुरस्कृत भईसकेका छन् ।

पुस १५ कै कार्यक्रममा कविशिरोमणिकी कान्छी छोरीका नाममा स्थापित १० हजार रुपैयाँको कुन्तिदेवी शिक्षा पुरस्कारबाट पोखरा महानगरपालिकाका माध्यमिक विद्यालयहरुमध्येबाट गत वर्षको एसईई मा छात्रातर्फ सर्वोत्कृष्ट ग्रेड प्राप्त गर्ने अमरसिंह मावि की सोनिका ढुङ्गानालाई, प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालद्वारा आफ्ना बाबाका नाममा स्थापति लक्ष्मी आदर्श माविका विजय सापकोटालाई ५ हजार रुपैयाँबाट सम्मान गरिने बताइको छ ।

मधुमाया ढकाल शिक्षा पुरस्कार जनज्योति माविका आशिष अधिकारीलाई र ढकालकी बहिनी अम्विका ढकालद्वारा आमाका नाममा स्थापित परस्कार फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कार लक्ष्मी आदर्श मावि की कविता भट्टराईलाई प्रदान गरिने छ । यसैगरी कविशिरोमणि लेखनाथ आधारभूत विद्यालय, पोखरा–२७ र लेखनाथ आधारभूत विद्यालय, पोखरा–२८ का सम्पूर्ण विद्यार्थीलाई कुन्तिदेवी छात्रवृत्ति वितरण गरिने जनाइएको छ ।

वि.सं. २०६७ साल देखि प्रदान गरिदै आएको लेखनाथ साहित्य पुरस्कार, कुन्तिदेवी शिक्षा पुरस्कार एवं छात्रवृत्तिकोषमा १६ लाख ६ हजार ७ सय ७७ रहेको छ । जसमध्ये कविशिरोमणि की नातिनी डा. प्रतिभा पाण्डेको अग्रसरतामा कुन्तिदेवी भट्टराइका परिवारजनबाट रु १३ लाख एक हजार, कविशिरोमणि रचनावलीको विक्रीबाट रु ३ लाख पाँच हजार र पद्मराज ढकाल एकल साँझबाट बचत भएको रु एक लाख सातसय सतहत्तर रुपैया रहेको छ । यसैगरी चन्द्रकान्त ढकाल, मधुमाया ढकाल र फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कारका निमित्त रु २ लाख पचास हजार रुपैयाको अक्षयकोष रहेको छ ।

लेखनाथ साहित्य पुरस्कार २०७६ को प्रतिभा छनौट उपसमितिमा अध्यक्ष डा. शुक्रराज अधिकारी, सदस्यहरुमा प्रा.डा. रविलाल अधिकारी, डा. प्रतिभा पाण्डे, रमा शर्मा र प्रतिष्ठानका सचिव कृष्ण प्रसाद पौडेल रहेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width