३८ करोड वर्ष पुरानो रूखको अवशेष फेला

एजेन्सी
पौष ८, २०७६
ppp

न्यूयोर्क, ८ पुस । अमेरिकाको न्यूयोर्कमा संसारकै पुरानो रूखको अवशेष फेला परेको छ । एउटा खाली भागमा ३८ करोड ६० लाख वर्ष पुरानो रूखको अवशेष फेला परेको बताइएको छ । वैज्ञानिकले यो रूखको जंगल व्यापक फैलिएको अनुमान गरेका छन् ।

यसअघि संसारको पुरानो रूखको अवशेष गिलबोआ रूखलाई मानिन्थ्यो, जुन न्यूयोर्कमै फेला परेको थियो। अहिले फेला परेको अवशेष गिलबोआभन्दा २० वा ३० लाख वर्ष पुरानो भएको वैज्ञानिकले अनुमान गरेका छन् । यो खोजले रूखको विकासबारे नयाँ जानकारी हासिल हुने वैज्ञानिकहरूको आशा छ।

दस वर्षअघि बेलायतको कार्डिफ विश्वविद्यालय, अमेरिकाको बिंघामटन विश्वविद्यालय र न्यूयोर्क राज्य संग्रहालयका विज्ञहरू हड्सन उपत्यकाको क्याटस्किल पहाड आसपासका क्षेत्रमा खोज गर्दै थए। त्यही बेला उनीहरूले त्यहाँको जंगलको तीन हजार वर्गमिटर क्षेत्रफल नक्सांकन गरे।

अध्ययन क्रममा उनीहरूले उक्त क्षेत्र कम्तीमा दुई प्रजातिका रूखहरूको मुख्य स्थान भएको पहिचान गरे। तेस्रो प्रकारको रूखबारे भने उनीहरूले निक्र्यौल गर्न सकेका छैनन् । अनुसन्धाताहरूले यो क्षेत्रलाई पुराना रूखहरू फेला पर्ने स्थान पनि भनेका छन् । यो धेरै प्राचीन जंगल हो।

वैज्ञानिकहरूका अनुसार यो जंगल बाढीका कारण नास भएको थियो। उनीहरूले यही ठाउँमा माछाका अवशेष पनि फेला पारेका छन्। यो खोजले पृथ्वीको विगतबारे जान्न धेरै मद्दत पुग्ने वैज्ञानिकहरू बताउँछन्। पृथ्वी जंगलविहीन हुँदा र जंगलले ढाक्दाको समयक्रमको व्याख्या गर्न सघाउ पुग्ने उनीहरूको भनाइ छ। रूखहरू कसरी विकास भए भन्नेबारे पनि जान्न सहज हुन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width