साहित्यमा सिमाना, भूगोल र इतिहास खोज्दै जरोटुप्पो

आदर्श समाज सम्वाददाता
पौष ५, २०७६
Jarotuppo Tara

पोखरा

शान घट्यो साहित्यको भाषा मासिँदो छ
संस्कृतिको मौलिकता झनै नाँसिँदो छ
जरोटुप्पो जोगाई राख्न जुट्नु परेको छ
आफ्नो–आफ्नो ठाउँबाट उठ्नु परेको छ
जागौं–जागौं नेपाली दाजुभाइ
जरोटुप्पो जोगाई राख्नलाई ।

प्रस्तुत साहित्यका गानका लेखक डा नारायण अधिकारी हुन् । अधिकारीको सिर्जनामा प्राण भरेका छन् संगीतकार बीबी अनुरागी, सुमन श्रापित र गायिका पूजा विश्वकर्मा । सोही साहित्य गानलाई आदर्श बनाएर आदिकवि भानुभक्तलाई साहित्यको जरो मान्दै जरोटुप्पो संरक्षण साहित्य समाज, नेपाल वाङ्मयिक उन्नयनमा क्रियाशील रहँदै आएको छ ।

कहिले भानु सम्झन्छ, कहिले भानुलाई उजिल्याउने मोतीराम । योे मात्रै होइन, कहिले छिमेकीले सिमाना मिचेको सन्दर्भमा साहित्यमा माटोको माया कति हुन्छ भन्ने विषयमा चर्चा गर्छ । यसै सन्दभमा संस्थाले शुक्रबार पोखरामा एक विचार गोष्ठीको आयोजना गरी साहित्यमा सिमाना, भूगोल र इतिहास खोजी गरेको छ । विचार गोष्ठीका वक्ताले साहित्यको कुनै भूगोल र सिमाना नहुने धारणा राखे ।

संस्थाको साहित्यगान बजाएर कार्यक्रमको उद्घाटन गर्दै प्रा.डा. यामबहादुर पौडेल क्षत्रीले कुण्ड–कुण्ड पानी भए तापनि साहित्यकारमा आपसी एकतालाई बलियो पार्ने बानी बसाल्न अनुरोध गरे ।
क्षत्रीले साहित्यमा राजनीति आए पनि ठाडो हुन नहुनेमा जोड दिँदै भने– ‘साहित्यमा राजनीति घिउको रूपमा होइन, दूधको रूपमा आउनुपर्छ, दूधमा घिउ मिसिएकै हुन्छ ।’

विषयविज्ञ प्रा.डा. भवानी पाण्डे साहित्यमा सिमाना विषयमा बोल्दै पछिल्लो समय मौलाएको ड्रम साहित्यले असली साहित्यलाई निस्तेज पार्दै गएको बताए । पाण्डेले कतिपय साहित्यकार लेखन भन्दा चाकडीमा रमाउँदा स्तरीय लेखन र पठन संस्कार हराएकोमा चिन्ता व्यक्त गरे । उनले सीमानाको दीप, सीमानाको गीत, धम्की न दे भारत काव्य र कविताको चर्चा गर्दै विशिष्ट अर्थमा साहित्यमा सीमाना नभए पनि सामान्य अर्थमा साहित्यलाई सीमाकृत गरिँदा स्थानीय प्रभाव राम्रो हुने धारणा राखे ।

राष्ट्रको सिमानाका बारेमा थप बोल्दै पाण्डेले राष्ट्रकविका कवितामा न्याउली र प्याउली उल्लेख भए पनि आफ्नै धवलागिरि उपर पुग्न नसकेको कुण्ठा कविले व्यक्त गरेको स्मरण गर्दै साहित्यकारहरू आफ्नो राष्ट्रको सीमाबारे जानकार हुनैपर्नेमा जोड दिए ।प्रा.डा. विश्व श्रेष्ठले साहित्यमा भूगोल विषयमा बोल्दै सिङ्गो ब्रह्माण्ड नै साहित्यको भूगोल हो भने । उनले भूगोलबाट साहित्यकारहरूले जति धेरै बिम्ब र प्रतीक बटुल्न सक्छन् साहित्य उति पठनीय हुने दावी गरे । साहित्यमा भूगोल हुँदैन भन्ने अवधारणा गलत हुने बताउँदै श्रेष्ठले हाम्रो साहित्यमा भूगोल राम्ररी झल्कन नसक्दा देशले परिचय पाउन नसकेको बताए । लिपुलेक र महाकालीको सन्दर्भमा बोल्दै श्रेष्ठले साहित्यकारहरूले टापटिपे जानकारी राखे पनि भ्रमणप्रियता बढाएर धरातलीय यथार्थ बुझ्ने प्रयास कमैमा रहेकोमा चिन्ता व्यक्त गरे ।

अग्रज पत्रकार एवम् साहित्यकार बद्री विनोद प्रतिकले कार्यक्रमप्रतिको दृष्टिकोण राखे । उनले मिडियाबाट संस्थाबारे जानकारी प्राप्त गरे पनि प्रत्यक्ष सहभागी हुन पाएकोमा गौरवबोध गर्दै संस्थालाई चर्को चुनौतीसहित ठूलो जिम्मेवारी र मौका रहेको उनको विश्लेषण थियो ।कृष्णप्रसाद पौडेलले लामो समयदेखि साहित्यिक संघसंस्थामा आवद्ध हुँदै आए पनि जरोटुप्पोमा विशेष उत्साहित हुन पाइएकोमा गौरव अनुभूति भएको बताए ।मुक्तककार अल्पविराम पोखरेलीले साहित्यकारहरू जुँगाको लडाइँमा फाट्ने गरेकोमा चिन्ता व्यक्त गरे ।पोखरामा अधिक साहित्यिक संस्था खुले पनि आफ्नै डम्फु बजाउनमा अल्मलिँदा साहित्यिक सिष्टताको अभाव खड्किएको बेला जरो टुप्पोप्रति विशेष अपेक्षा रहेको उनको जिकीर रहयो ।

गजलकार विष्णु बास्तोलाले प्रायः साहित्यिक संस्थामा व्यानर एकातिर राखेर कार्यक्रम अर्कोतर्फ चलाउँदै प्रवृत्ति देखिएकोमा जरोटुप्पोले व्यानरको नाम र कामसँग तारतम्य मिलाएको टिप्पणी गरे ।
संस्थाका महासचिव मदन भण्डारीले औपचारिक कार्यक्रम अगावै संस्थाले साहित्यिक प्रतिभालाई मौका प्रदान गर्ने ध्येयका साथ शून्य समयको अवधारणा अगाडि सारिएको बताए । शून्य समयको सहजीकरण कवि ढुण्डीराज ज्ञवालीले गरेका थिए । जसमा महाकाव्यकार रामनाथ अधिकारी सँगी, गोविन्दप्रसाद पराजुली, बालकृष्ण शर्मा, वरुण विक्रम राणा, शरद भण्डारीलगायतले रचनावाचन गरेका थिए ।

प्रवक्तामा गुरुङ

संस्थाले संस्थागत गतिविधिको चापलाई मध्येनजर गर्दै उचित प्रचारप्रसार र संघसंस्था समन्वयका लागि प्रवक्ता चयन गरेको छ । सोही समारोहबीच गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङलाई संस्थाले प्रवक्तामा मनोनित गरेको हो ।

प्रवक्ता गुरुङलाई नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मनोनयनपत्र हस्तान्तरण गर्दै जिम्मेवारी बोध गर्न अनुरोध गरे । श्रेष्ठले नयाँ संस्था, नयाँ सम्भावना साथ उदाएकोमा हर्ष व्यक्त गर्दै संस्थाले जीवन्त कार्यक्रम दिँदै संस्थागत सहकार्यमा एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रमप्रति पोखरा–९ की निर्वाचित सदस्य गीता नेपालीले शुभकामना तथा बधाई ज्ञापन गरेकी थिइन् ।

असफल गौतम

Related News

सम्बन्धित समाचार

hero news full width