इतिहास रचिन उपसभामुखले

एजेन्सी
पौष ५, २०७६
samsad-baithak1_20191220111154

काठमाण्डौ, ५ पुस । प्रतिनिधि सभाको पाँचौ अधिवेशनको शुरुवात गरेर उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेपालको संसदीय इतिहासमा अफ्नो रेकर्ड राख्न सफल भएकी छन् ।

नेपालको संसदीय इतिहासमा उपसभामुखले संसद अधिवेशनको सुरुवात गरेको यो नै पहिलो हो । संविधानमा सभामुखले अधिवेशनको सुरुवात गर्ने, सभामुख नभए संसदका जेष्ठ सदस्यले अध्यक्षता गर्ने अभ्यास हुँदै आएका थिए । सभामुख कृष्णबहादुर महरा जेल परेपछि उपसभामुख तुम्बाहाम्फेले अधिवेशनको सुरुवात गर्ने अवसर पाएकी हुन् ।

प्रतिनिधिसभा नियमावलीलाई देखाएर कतिपयले उपसभामुखले बैठकको अध्यक्षता गर्न नसक्ने तर्क गरेका थिए । तर, शुक्रबारसम्म आइपुग्दा विपक्षी दलसमेत सत्तापक्षसँग सहमत भयो । संविधानको धारा ९१ को ९४० मा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठकको अध्यक्षता गर्ने उल्लेख छ भने प्रतिनिधिसभा नियमावली २०७५ मा भने संसद बैठकको सुरुवात र अन्त्य सभामुखले गर्ने उल्लेख छ ।

शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकले संविधानमै सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठकको अध्यक्षता गर्ने उल्लेख भएको भन्दै उपसभामुखलाई अध्यक्षता गर्न दिने सहमति गरेपछि यो विवादको अन्त्य भयो । तर, संसद अधिवेशनको सुरुवात गरे पनि उपसभामुख तुम्बाहाम्फे अधिवेशन अन्त्य हुँदासम्म कुन जिम्मेवारीमा हुनेछिन् कुनै टुङ्गो छैन । हालसम्म उनले सभामुख बन्ने दाबी गर्दै आएकी छिन तर सार्वजनिकरुपमा चर्चा भएअनुसार सभामुखमा पूर्वसभामुख समेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपसभामुख समाजवादी, राजपा, जनमोर्चा वा नेपाली काँग्रेस मध्य एक पार्टीलाई दिने तयारी गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width