मुस्ताङ्गमा हिउँ चितुवा संरक्षण सचेतना

Avatar आदर्श समाज सम्वाददाता
पौष १, २०७६

पोखरा, १ पुस । अन्तर्राष्ट्रिय पर्वतीय दिवस –२०१९ का अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यलय जोमसोम र प्राकृतिक श्रोत व्यवस्थापन बिज्ञहरु (फोनारेम) को संयुत आयोजनामा जोमसोममा हिउँ चितुवा संरक्षण सचेतना तथा शिक्षा गोष्ठी सम्पन्न भएको छ ।

इलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख तुलसी प्रसाद दाहालबाट सबैलाई स्वागत गर्दै कार्यक्रमको मूल आसय प्रकाश पारे । संरक्षणका विभिन्न पक्षका बारेमा धारणा राख्दै हिउँ चितुवामा बिद्यावारिधि बिद्यार्थी तथा फोनारेममा आबद्धता बिक्रम श्रेष्ठले आफ्नो विद्युतीय प्रस्तुतीकरण गर्दै हिउँ चितुवा, मानव र हिमालको अन्तरसम्बन्ध र यसका संरक्षणका विभिन्न पक्षहरुमा स्पष्ट पारेका थिए।

बिश्वमै दुर्लभ मानिएको सुन्दर हिउँ चितुवा नेपालकै प्रतिमा र उच्च पहाडी भेकको स्वस्थ वातावरण सूचक र हिउँ चितुवाको संरक्षण गरियो भने स्वतह अन्य वन्यजन्तु र सम्पूर्ण जैविक बिबिधाताको संरक्षण हुनुको साथै पर्यटक प्रवद्धनलाई पनि टेवा पुर्याउने हुँदा यसको संरक्षणको धेरै ठुलो महत्व हुने श्रेष्ठले बिश्वास ब्यक्त गरे ।

मुस्ताङ्ग जिल्लाका विभन्न कार्यालयका प्रमुखहरु, ठिनी र लुप्रा गाउँका घरवास व्यवसायमा आबद्ध ब्यक्तिहरु तथा, जोमसोम र स्याङ्ग स्थित विभिन्न बिद्यालयका शिक्षक बिद्यार्थी निक्कै उत्साह पुर्बक आफ्नो उपस्थिति जनाइरहेका थिए । हिउँ चितुवा संरक्षण कार्यमा भोलिका अभिवावक आजका बिद्यार्थी र स्थानीय समुदाय बीच जनचेतना बिस्तार गरियो भने संरक्षण कार्य दिगो रहने विश्वास श्रेष्ठले गरे । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मुस्ताङ्गका घनश्याम गौतमले सबैका पर्ति आफ्नो शुभकामना व्यक्त गरेका थिए ।

“हिउँ चितुवाले केही मात्रामा नोक्सान गरेपनि यसले भाबी सन्ततीको लागि मानवीय जीवनमा र जैविक वातवरणमा दीर्घकालीन फाइदा नै गर्छ आजको यस जनचेतनामूलक कार्यक्रमले हामी बिद्यार्थी लगायत अन्य ब्यक्तिहरु सहभागी गराएर गरिएको कार्यक्रममा प्रस्तुत ज्ञानबर्दक कुराहरु हामीले राम्ररी थाहा पाउन सक्यौ” कक्षा १० का बिद्याथी अभिषेक खडकाथोकीले भने ।

“आजको कार्यक्रमले हामीलाई हिउँ चितुवाको संरक्षणका लागि हामीले गर्न सकिने प्रयासहरुको बारेमा थाहा पायौ यस कार्यक्रमको लक्ष युवा जनशक्तिले अहिले हिउँ चितुवा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरा थाहा पाए” कक्षा १० का बिद्यार्थी प्रियंका खडकाथोकीले आफ्नो भनाइ राखेका थिए ।

“हिउ चितुवाको समस्या निराकरण गर्नको लागि वन बिनास र चरी चरनको दुरुपयोग नगरी दिएमा हिउँ चितुवाको आहार बन्यजन्तु प्रशस्त उत्पादन हुन्छन र हिउँ चितुवाले मानवीय जीवनमा कुनै हानीनोक्सानी गर्दैन । हामी सबै मिलेर बन्यजन्तुको संरक्षणमा लाग्नुपर्छ” कक्षा १० का बिद्यार्थी प्रमिश गुरुङले आफ्नो भनाइ राखे । समुन्द्री सतहको ३ हजार देखि ६ हजार मिटरको चट्टानी पहाडको उचाई हिउँ चितुवाको मुख्य बाँसस्थान केन्द्र मानिएको छ । परिवारको हिउँ चितुवा मांशहारी प्राणी हो ।