मानव अधिकार उल्लंघन गर्नेको नाम सार्वजनिक गरिने– शर्मा

आदर्श समाज सम्वाददाता
मंसिर ३०, २०७६
anup

पोखरा, ३० मंसिर । राष्ट्रिय मानव अधिकार आयोग अध्यक्ष अनूपराज शर्माले मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

पोखरामा सोमबार सुरु मानव अधिकार र पत्रकारिता तालिमको उद्घाटन अवसरमा आयोग अध्यक्ष शर्माले मानव अधिकारका घटना उल्लंघन गर्ने २ सय ४१ जनाको नाम सार्वजनिक गर्ने चेतावनी दिएका हुन् ।
उनले आयोग सरकारलाई गरेका सिफारिसको कार्यान्वयन फितलो हुने गरेको भन्दै त्यसप्रति ध्यान दिन आग्रह गरे । नेपालमा सशस्त्र द्वन्द्वको समयमा १७ हजार जनाको ज्यान गएको र ४ हजार बढी मानिस बेपत्ता बनेको तथ्यांक स्मरण गर्दै आयोग अध्यक्ष शर्माले नेपालमा विस्तृत शान्तिसम्झौताको ९ वर्षपछि मात्र आयोग बन्नु पनि आफैमा ढिलाइ हो भने ।

उनले मानव अधिकार उल्लंघनका गम्भीरखालको घटनामा मुद्दा चलाइनुपर्छ, मेलमिलाप गरेर हुँदैन भने । आयोगले सिफारिस गर्ने हो मुद्दा चलाउने अधिकार नभएको भन्दै उनले सरकारले यसप्रति ध्यान दिन उनले जोड दिए ।

नेपालका राजनीतिक दलहरुले इमान्दारिता गुमेको टिप्पणी गर्दै उनले भने, ‘नेपालको राजनीतिक दलमा इमान्दारिता छैन । मानव अधिकारको रक्षककै सरकार हो । तर तर लिडरहरुमै इमान्दारिता देखिँदैन ।’पत्रकारहरुले न्यूनतम पारिश्रमक समेत नपाउनु मानव अधिकार हनन् हो कि हैन भन्ने पत्रकारको जिज्ञासामा उनले यसबारे हालसम्म एउटा पनि उजुरी आयोगमा नपररेको जानकारी दिए ।

कार्यक्रममा आयोग सदस्य गोविन्द शर्मा पौडेलले राजमार्गमा संचालित होटलहरुमा साना साना केटाकेटीलाई मजदुरको रुपमा राखेर गम्भीर मानव अधिकार हनन् भएको भन्दै जिल्ला प्रशासन कार्यालय, कास्कीलाई यस क्षेत्रमा त्यसबारे अनुगमन गर्न आग्रह गरे ।

हुर्जा अध्यक्ष पत्रकार घनश्याम खड्काले पत्रकारले सामाजिक न्यायमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयागका उपनिर्दशक हरिप्रसाद ज्ञवालीले आयोग र मानव अधिकारको परिचयबारे बोलेका थिए भने अधिवक्ता वसन्त अधिकारीले मानव अधिकार कानूनबारे जानकारी दिए । ३ दिनसम्म चल्ने तालिममा गण्डकी प्रदेशबाट विभिन्न संचारमाध्यममा कार्यरत ४० जना पत्रकारको सहभागिता छ ।

Related News

सम्बन्धित समाचार

hero news full width