उत्पादन र उत्पादकत्वमा वृद्धि आवश्यक –कृषिमन्त्री

आदर्श समाज सम्वाददाता
मंसिर २९, २०७६
lakhbahadur photo

गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिप्रविधिलाई व्यापक बनाउँदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । उनले किसानलाई राज्यको सहयोग आवश्यक पर्ने भन्दै किसान, उत्पादन र उपभोक्ताबीच अन्योन्याश्रित सम्बन्ध हुनुपर्नेमा पनि पनि जोड दिए ।

राष्ट्रिय कृषि समूह महासंघ नेपालको आयोजनामा पोखरामा आइतबार आयोजित जलवायुमैत्री कृषि नमूना सिकाइ कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।

उनले लगानी उत्पादन र प्रतिफलको आधारमा किसानलाई परिचयपत्र दिने व्यवस्था हुनुपर्ने बताए । उनले गण्डकी प्रदेश सरकारले यसका लागि ५ प्रकारका किसानको वर्गीकरण गरेको बताए । उनका अनुसार उद्यमी किसान, ठूला किसान, साना किसान, भूमिहीन र श्रमिक किसान वर्गीकरण गर्दै सो आधारमा अनुदान दिने व्यवस्था गर्न लागेको जानकारी दिए । उनले कृषकका लागि ११ प्रतिशतभन्दा कम व्याज लिनेलाई सरकारले सहयोग गर्ने बताए । उनले विषादीबारे किसानलाई सचेतना दिन पनि सुझाव दिए ।

राष्ट्रिय कृषि समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले कार्यपत्र प्रस्तुत गर्दै कृषि क्षेत्रमा नमूना विकास किन ? बारे चर्चा गरेका थिए । उनले सरकारको अगुवाइमा किसानको पहिचान, वर्गीकरण र परिचयपत्र उपलब्ध गराउनुपर्ने, किसानको परिचय तहगत आधारमा सरकारका नीतिमा स्थापित गरी नीति निर्माण र कार्यान्वयन गराउनुपर्ने, सरकारी अनुदान प्रणाली व्यवस्थित गरी लक्षित समुदायको पहुाच गराउनुपर्ने बताए । उनले भूमिमा पहुँचको अवस्थासहितको किसानको यथार्थ तथ्यांक अभिलेखीकरण गर्नुपर्ने, सरकारको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा किसानको पहँुच स्थापना गर्नुपर्ने बताए ।
सो अवसरमा महासंघका महासचिव रीता वस्ताकोटीले कार्यक्रमबारे जानकारी र संस्थागत परिचय दिएकी थिइन् । महासंघ गण्डकी प्रदेश अध्यक्ष गिरीप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य भगवती बजगाईं र संचालन सचिव टीकाराम पौडेलले गरेका थिए ।

गोष्ठीमा प्रदेशको कृषि मन्त्रालय, कृषि निर्देशनालय, पोखरा महानगरपालिका, स्थानीय निकायका प्रमुख/उपप्रमुख, गण्डकी प्रदेशका कास्की, तनहुँ, गोरखा, नवलपुर, स्याङ्जा, बागलुङ र पर्वत जिल्ला
स्थित महासंघका तहगत प्रतिनिधि, किसान, पत्रकार, सरोकारवाला निकायका प्रतिनिधि लगायत गरी ६० जनाको सहभागिता थियो ।

संघीय संरचनापछि स्थानीय सरकारले किसानको सवालमा गर्नुपर्ने कामबारे जानकारी दिँदै महासंघले यसप्रकारको गोष्ठी प्रदेश २ बाहेक सबै प्रदेशमा सम्पन्न गरिसकेको महासंघका कार्यक्रम अधिकृत प्रतिमा पराजुलीले जानकारी दिइन् । उनका अनुसार प्रदेश २ मा समेत यसै साता गोष्ठी हुँदैछ ।

..

Related News

सम्बन्धित समाचार

hero news full width